असोज २७ गते सोमवारदेखि साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पूर्णिमा र भार्गव विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार शुरू गरेको छ । १० जिल्ला कार्यक्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले यी दुई विकास बैंकलाई प्राप्ति गरेपश्चात् राष्ट्रिय स्तरको विकास बैंक बन्न पुगेको छ । पूर्णिमा विकास बैंक र पाँच जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंकलाई एकीकृत कारोबारपश्चात् बैंकको केन्द्रीय कार्यालय रूपन्देहीको बुटवल उप महानगरपालिका ६ मा रहनेछ । एकीकृत भएपश्चात् रू. २ अर्ब ६४ करोड चुक्तापूँजी पुगेको छ भने शाखा कार्यालय ७१ पुगेको छ । एकीकृत कारोबार शुरू गरेकै दिनदेखि लागू हुनेगरी बैंकको सञ्चालक समितिमा ६ जनाको प्रतिनिधित्व रहनेछ । बिहीवारको कारोबारमा बैंकको प्रतिशेयर मूल्य १ अंक घटेर रू. २५३ कायम भएको छ ।
कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य बढ्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ५५ दशमलव ३२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ०३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य रेखा यी दुई रेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रू. २५३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २५८ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २४४ मा टेवा पाउने देखिन्छ ।