बहुमूल्य पत्थरको कच्चापदार्थ कौडीको भाउमा विदेशिएको भन्दै सरकारले ५ वर्षअघि त्यसको निकासीमा प्रतिबन्ध लगायो । त्यस्तो प्रतिबन्धले समस्याको समाधान त थिएन, तर यसलाई खुलै छोडिराख्न पनि नसकिने अवस्था थियो । त्यो निर्णय अध्ययन समितिले दिएको सुझावमा आधारित थियो । अहिले उत्खनन भएको कच्चापदार्थ आवश्यक प्रशोधनपछि मूल्य अभिवृद्धि गराएर निकासी गर्दा राज्यलाई फाइदा हुने देखियो ।
प्रतिबन्ध लगाउने सुझाव व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको नेतृत्वमा गठित समितिले सरकारलाई दिएको थियो । तर त्यसमा बहुमूल्य पत्थर सम्बन्धी आवश्यक थप अध्ययन तथा प्रशोधन गर्न पनि सुझाव दिएको थियो । तर यसमा प्रगति दखिएन ।
अब नेपालका बहुमूल्य पत्थरको प्रवद्र्धन गर्न सरकारले आगामी २ वर्षका लागि भए पनि यस क्षेत्रलाई खुला बजारका रूपमा स्वीकार गर्नुपर्छ । त्यसो गरिएमा प्रशासनिक कडाइ कम हुन्छ र एक ठाउँबाट अर्को ठाउँसम्म पत्थर ओसार प्रसार गर्न सहज हुन्छ, जसबाट दुर्गम ठाउँमा रहेका विभिन्न प्रकारका पत्थर विज्ञहरू भएका शहरमा ल्याउन सकिन्छ । त्यसबाट देशमा पाइने पत्थरहरूको जानकारी मिल्छ । नेपालको परिप्रेक्ष्यमा विज्ञहरू शहरमा हुने तथा बहुमूल्य पत्थर गाउँमा रहेको अवस्था छ । गाउँबाट बहुमूल्य पत्थर बोकेर राजधानीतर्फ आउँदा प्रहरीले समात्ने परिस्थिति पनि छ ।
अहिलेसम्म हामीले नेपालमा भएका बहुमूल्य पत्थर सम्बन्धी जानकारीको वास्तविक अवस्था बाहिर ल्याउन सकेका छैनौं । बहुमूल्य पत्थरको जानकारी निकाल्न हामीसँग नयाँ प्रविधि र दक्ष जनशक्ति छैनन् । यस्तै निकासी बन्द गरेपछिको पछिल्लो ५ वर्ष हामीले यत्तिकै खेर फाल्यौं । तर अब यस क्षेत्रको प्रवद्र्धन गर्ने समय आएको छ । सोहीकारण सुनचाँदी रत्न तथा आभूषण महासंघले खानी तथा भूगर्भ विभागलाई एउटा ‘ज्वेलरी हब’ बनाउन सुझाव दिएको छ ।
उक्त जोनलाई उत्खनन गर्दाका कच्चापदार्थ र प्रशोधित वस्तु पनि पाइने एकै थलोका रूपमा विकास गर्नुपर्छ । सरकारी योजना अनुसार सुर्खेतमा प्रशोधन केन्द्र स्थापना तथा काठमाडौंमा ज्वेलरी जोनको निर्माण गर्दा उपयुक्त हुन्छ । त्यसो गर्दा स्वदेशी खानी उद्योग तथा ज्वेलरी उद्योग पनि स्थापित हुनेछन् । त्यसका लागि आवश्यक सहकार्य गर्न निजीक्षेत्र तयार छ । किनकि बजारको जानकारी निजीक्षेत्रसँग छ र नीति निर्माणको क्षमता सरकारसँग छ ।
साथै गतवर्ष मात्र हामीले आयोजना गरेको ‘नेपाल अन्तरराष्ट्रिय जेम एन्ड ज्वेलरी एक्स्पो’बाट नेपालमा पाइने पत्थरबारे जान्ने मौका मिल्यो । उक्त मेलामा बहुमूल्य पत्थरसम्बन्धी जानकारी राख्ने विज्ञहरू, खरीदकर्ता र विक्रेता तथा विदेशीहरूको पनि सहभागिता थियो । यस्तै नेपालमा उत्खनन भएका सबै प्रकारका पत्थरको कच्चापदार्थ पनि सोही एक्स्पोमा उपलब्ध थिए । यसबाट नेपालको बहुमूल्य पत्थर कम मूल्यमा निर्यात हुन नहुने र निकासी रोकिन पनि नहुने जानकारी मिल्यो ।
हिमाली तथा उच्च पहाडी भेगमा पाइने भएकाले नेपाली पत्थरको गुणस्तर विश्व बजारमा प्रख्यात छ । तर उत्खनन र प्रवद्र्धन गर्न नसक्दा हामी यस क्षेत्रमा धेरै पछि छौं । धेरै वर्ष अघिदेखि नै निजीक्षेत्रले सरकारलाई यसबारे सल्लाह सुझाव दिँदै आएकोमा अहिले सरकार यस क्षेत्रको उत्खनन उत्खनन तथा प्रवद्र्धन गर्न गम्भीर बनेको छ ।
निकासी बन्द भइरहेको अवस्थामा खानी उत्खनन गर्ने कम्पनीहरू बन्द भएका छन् । सोहीकारण त्यस्ता कम्पनीहरूले निकासी खोल्नुपर्ने भन्दै यसको विरोध गरिरहेका छन् । तर उत्खनन कम्पनीहरूले प्रशोधनपछि निर्यात गर्दा त्यसमा मूल्यवृद्धि हुने र रोजगारी सृजना हुने कुरा उत्खनन उद्योगीले भुल्नु हुँदैन ।
यस्तै नेपालमा रत्न तथा आभूषण प्रवद्र्धन परिषद्को पनि आवश्यकता देखिएको छ, जसको नेतृत्वमा सरकारी निकाय तथा काम गर्ने स्थानमा निजीक्षेत्र हुनुपर्छ । यस क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्ति निर्माणमा पनि सहकार्य गरेर जान सकिन्छ । कालिगढलाई तालीम तथा पत्थर, उत्खनन र प्रशोधन गर्न चाहिने जनशक्तिलाई तालीम दिन सरकारसँग सहकार्य गर्न सकिन्छ ।
साथै नेपाली पत्थरबाट बनेका मौलिक गरगहनाको प्रवद्र्धन गर्न हामीले गैरआवासीय नेपाली साथीहरूलाई पनि प्रयोग गर्न सक्छौं । नेपालभन्दा बाहिर रहेका ८० लाख गैरआवासीय नेपालीहरू नेपाली मौलिक गहनाको ठूलो सम्भावित बजार हो, जसबाट हामी वार्षिक २ अर्ब डलर बराबरको आम्दानी गर्न सक्छौं ।