विगत ५ वर्षदेखि बहुमूल्य पत्थर निकासी सरकारले बन्द गरेको छ । बहुमूल्य पत्थरको उत्खननपछिको कच्चापदार्थ कारखानामा प्रशोधन गरेर मात्र निकासी गर्दा फाइदा हुने सरकारको बुझाइ छ । तर सरकारले नेपालमा दुई प्रकारका बहुमूल्य पत्थर पाइन्छ भन्ने बुझ्न सकेन । एक प्रकारको पत्थरको बजार प्राकृतिक स्वरूपमै हुन्छ भने अर्को प्रकारको पत्थर प्रशोधनपछि मूल्य बढ्ने गर्छ । तर यी दुई प्रकारका पत्थरलाई सरकारले एउटै नजरले हेर्यो ।
प्राकृतिक स्वरूपमै विक्री हुने पत्थरलाई प्रशोधन गर्दा बजार मूल्य बढ्नुको साटो घट्छ भन्ने सरकारले बुझेन । यसकारण निकासी नै बन्द गर्यो । निकासी बन्द भएपछि उत्खननका लागि स्थापना भएका कम्पनीले उत्खननमा इच्छा देखाएनन् । किनकि, उत्खननको अधिकांश पत्थर विदेश निकासी हुँदै आएको थियो । प्राकृतिक स्वरूपमै विक्री हुने पत्थरको स्वदेशी बजार न्यून छ । दुई प्रकारमध्ये एक प्रकारको पत्थर प्रशोधन गर्ने वस्तु हुँदै होइन । उत्खनन गर्दा बिग्रेका र भाँचिएका छन् भने त्यसलाई प्रशोधन गर्न सकिन्छ । तर अर्को प्रकारको पत्थर प्रशोधन गरेपछि त्यसको मूल्य अभिवृद्धि हुन्छ ।
सरकारले बन्द गरेपछि हामी उत्खनन उद्योगीले पुनः निकासी खोल्न धेरै प्रयास गरे पनि वास्ता गरिएन । अब सरकारले आफ्नो धारणा परिवर्तन गरेर निकासी खुला गरे पनि पहिलेकै अवस्थामा पुग्न १ दशकभन्दा बढी लाग्छ । पहिलाका उत्खनन उद्योगी पलायन भइसकेका छन् भने लगानी फिर्ता भइसकेका छन् । त्यसैकारण निकासी खोल्न ढिला भएको छ ।
विश्वको परिप्रेक्ष्यमा हेर्दा श्रीलंकाले प्राकृतिक स्वरूपमा निकासी गर्न दिँदैन । त्यहाँको श्रीलंकन सफायरलाई खानीबाट काटेर निकाल्नुपर्छ, जसको आफ्नै प्राकृतिक स्वरूप हुँदैन । त्यसलाई प्रशोधन नगरी बजारमा पठाउँदा मूल्य पाउँदैन । त्यसबाहेक कोलम्बिया, ब्राजिल, दक्षिण अमेरिका जस्ता देशले प्राकृतिक स्वरूपमै निकासी गर्न दिन्छन् । विश्वकै सबैभन्दा महँगो पत्थर कोलम्बियाको पन्ना पनि प्राकृतिक स्वरूपमै निकासी गर्न पाइन्छ ।
त्यस्तै प्रकारका पत्थर नेपालमा पनि छन् । नेपालमा पाइने क्वार्जको प्रशोधन गर्न भनी काटियो भने प्रतिक्यारेट रू. १ मा पनि नबिक्ने सम्भावना रहन्छ । तर त्यही क्वार्ज प्राकृतिक स्वरूपमा विक्री गर्दा नसोचिएको मूल्य पनि पाउन सक्छ । दक्षिण एशियामा सबैभन्दा ठूला खानीहरू भारतमा भए पनि नेपालका पत्थर विश्वकै उत्कृष्टहरूको सूचीमा पर्छन् । काइनाइट र क्वार्ज विश्वमा प्रख्यात भइसक्यो । यस्तै टुरमालिन र अक्वामरिनको मूल्य पनि महँगै छ । अफगानिस्तान र पाकिस्तानले टुरमालिन र अक्वामरिन एउटै खानीबाट ट्रकका ट्रक निकाल्छन् । नेपालमा भने त्यस्तो अवस्था नभई एउटा खानीबाट थोरै मात्र पत्थर निक्लिन्छन् ।
पाकिस्तान र अफगानिस्तानमा पाइने भन्दा महँगो मूल्यमा नेपाली टुरमालिन र अक्वामरिन विक्री हुन्छ । तर हामीले प्रशोधनको नाममा त्यसलाई टुक्र्यायौं भने तीनओटै देशको पत्थरको मूल्य उस्तै पर्न जान्छ । किनकि नेपाली पत्थरको मूल्य प्राकृतिक स्वरूपमा रहँदा महँगो पर्छ । हालसम्म नेपालमा क्वार्ज, टुरमालिन, अक्वामरिन, काइनाइट, गार्नेट, सफायर र रुबी पाइएको छ । त्यसमा पनि पेग्माटाइट र माइकासिस्टमा पाइने गरी दुई प्रकारका टुरमालिन पाइन्छ । पेग्माटाइटको टुरमालिन महँगो प्रकारको पत्थर हो । नेपालमा ठूलो परिमाणमा एकै ठाउँमा बहुमूल्य पत्थर पाइने खालका खानी पाइएका छैनन् । सबैतिरको जम्मा गर्दा प्रशस्त मात्रा पुग्ने भए पनि एकै ठाउँमा धेरै परिमाणको पत्थर भेट्टाउने सम्भावना कम छ ।
मध्यपहाडी भागमा पाइने पत्थर सस्तो प्रकारका हुन् भने हिमाली भेग (८ हजार फिटभन्दा माथि)मा पाइने पत्थरहरू महँगा हुन् । क्वार्ज, टुरमालिन, अक्वामरिन र रुबी त्यसका उदाहरण हुन् । त्योभन्दा तल्लो भेगमा पाइने टुरमालिन, क्वार्ज र अक्वामरिनको बजार मूल्य कम छ । काइनाइट र टुरमालिन पाइने जाजरकोटमा सरकारले खानी स्थापना गर्ने योजना बनाएको छ । त्यसलाई केही हदसम्म सकारात्मक रूपमा लिन सकिन्छ । किनकि जाजरकोटमा पाइने उक्त दुई प्रकारका पत्थर प्रशोधन गर्दा मूल्य अभिवृद्धि हुन्छ ।