धनकी देवी लक्ष्मीको पूजा व्यापारी समुदायको विशेष चाड हो । लक्ष्मी पूजाको तयारी स्वरूप त्रयोदशीका दिन घर, चोक, कार्यालय तथा व्यावसायिक भवनहरूको सरसफाइ गर्ने प्रचलन छ । यस दिनमा नयाँ कुचो किनेर सरसफाइ गर्ने चलन नेवारी समुदायका व्यापारीमा रहिआएको छ भने पूजाभाँडा तथा असर्फी किन्ने प्रचलन मारवाडी समुदायका व्यवसायीमा छ ।
मारवाडी समुदायमा यो दिनलाई धनतेरसका नामले चिनिन्छ । तिथिका आधारमा तेह्रौं दिन (त्रयोदशी) तथा धन्वन्तरी जयन्ती पनि परेकाले यस्तो नम रहेको हो । हिन्दू धर्मअनुसार देवता र दानवबीच चलेको समुद्र मन्थनका बेला निस्किएका नवरत्नमध्ये एक धन्वन्तरी (देवताहरूका चिकित्सक) यही दिन अमृतको कलश हातमा लिएर प्रकट भएका थिए । बहुमूल्य धातुबाट निर्मित उक्त कलश लिएर धन्वन्तरी प्रकट भएको उक्त दिनलाई धनको दिवसका रूपमा विभिन्न समुदायमा आ–आप्mनै ढंगले मनाउने गरिएको हो ।
मारवाडी समुदायमा लक्ष्मी पूजाका लागि आवश्यक काँसका पूजा सामग्रीहरू तथा लक्ष्मीको प्रतीक स्वरूप सुनचाँदीका सिक्का किन्ने र पूजा गर्ने परम्परा छ । भारतबाट यो समुदायसँगै नेपाल भित्रिएको यो प्रचलन नेपालका अन्य समुदायमा पनि फैलिसकेको छ । त्यति मात्रै नभई किनिने सामानमा पनि विविधता आइसकेको छ ।
बजारीकरणको व्यापकता रहेको अहिलेको समयमा काँसका पूजा सामग्री किन्ने प्रचलन विस्तार हुँदै घरका लागि आवश्यक महँगा सामानहरू, टीभी, फ्रिज, वासिङ मेशिन, सुन, चाँदी, हीरा तथा विभिन्न रत्नका गर गहना समेत खरीद गर्ने क्रम बढ्दो छ । धनतेरसकादिन उपहार किनेर आप्mना प्रियजनलाई दिने चलन भारतीय टीभी च्यानल हुँदै नेपालमा पनि फैलिँदै गएको छ ।
संस्कृतिविद् डा. गोविन्द टण्डन संस्कृति परिवर्तनशील कुरा भएकाले यसले ल्याएको नयाँपनलाई स्वीकार्दै नेपालीकरण गर्नुपर्ने सुझाव दिन्छन् । ‘प्रचलन यसै पनि शुरू भइसक्यो भने धनतेरसमा खासगरी बहुमूल्य धातुका भाँडाकुँडा खरीदविक्रीमै जोड दिँदा राम्रो हुन्छ,’ उनी भन्छन्, ‘त्यसमा पनि नेपाली कला, संस्कृति झल्किने कालिगढी भएका हस्तकलाका भाँडाकुँडा किन्ने चलन बसाउने हो भने यसबाट नेपालको पहिचान प्रसारमा पनि मद्दत मिल्दछ ।’ अन्य समयमा किन्न नसकिने सामान यो दिन किन्ने हुँदा कहिले नबिग्रिने र घरको शोभा बढाउने खालका सामान जोड्नुपर्ने उनको सुझाव छ ।
डा. टण्डनको विचारसँग मारवाडी समुदायका उद्योगी पशुपति मुरारका पनि सहमत छन् । खासगरी आफ्नो समुदायमा धनतेरसका दिन काँसका पूजाभाँडा किन्ने चलनमा व्यवसायीकरणको प्रवेशले विविधता पाएको उनी बताउँछन् । यस दिन किनिएका सामान छिट्टै नबिग्रिने मान्यता रहेकाले पनि खरीद गर्ने क्रम बढेको उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहिसकेका मुरारका यस्तो दिनमा किन्ने सामान चाहिँ नेपाली उद्योगीहरूबाट उत्पादन भएका नेपाली पहिचान झल्किने भए नेपाली उद्योगीका साथै नेपालको अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने धारणा राख्छन् । यसका लागि भारतीय उद्योगहरूले झैं नेपाली उद्योगहरूले पनि धनतेरस लक्षित गरी आफ्ना उत्पादनको प्रचार प्रसारमा जोड दिनुपर्ने उनको सुझाव छ ।
मारवाडी समुदायमै पनि धनतेरसका दिन खरीद गर्ने सामग्री फरक फरक रहेको पाइन्छ । विराटनगर हुँदै नेपालको व्यावसायिक क्षेत्रमा प्रवेश गरेको गोल्छा परिवारमा धनतेरसका दिन एउटा चाँदीको सिक्का मात्रै किन्ने चलन छ । गोल्छा अर्गनाइजेशनका निर्देशक शेखर गोल्छा बाल्यकालमा विराटनगरमा हुँदाको धनतेरसको सम्झना गर्छन् ।
‘हाम्रोमा धनतेरसलाई किनमेलसँग भन्दा पनि पूजासँग जोडिन्थ्यो,’ उनी भन्छन्, ‘धनतेरसको दिनदेखि लक्ष्मी पूजासम्म हाम्रो घरदेखि बजारसम्म र विराटनगर बजार पूरै केराको बोटले सजाएर दियो बाल्ने गरिन्थ्यो ।’ त्यसैगरी लक्ष्मी पूजा सकिएपछि आफन्तकोमा भेटभाट गरी मान्यजनको आशिर्वाद लिएपछि तिहार सकिने गरेको उनी बताउँछन् । लामो समयदेखि काठमाडौंमै रहेर व्यवसाय अघि बढाइरहेको गोल्छा परिवारमा अहिले धनतेरसका दिन चाँदीको सिक्का किनेर सामान्य पूजा गर्ने प्रचलन मात्रै बाँकी छ । धनतेरसको व्यापार व्यवसायसँग सम्बन्ध गाँसिएको भए पनि यही दिन नै सामानहरू किन्नुपर्छ भन्ने मान्यता आफ्नोमा नरहेको गोल्छा बताउँछन् ।
सुनको भाउ आकासिएका कारण व्यापार घट्दा निराश बनेका सुनचाँदी व्यवसायीहरू यो वर्षको धनतेरस कुरेर बसेका छन् । सुनको भाउ आम मानिसको क्रयशक्तिभन्दा निकै माथि पुगेका कारण व्यापार त्यति धेरै हुने आशा गर्न सकिने अवस्था छैन । तर पनि छूट तथा विभिन्न अफरका साथ धनतेरसको व्यापारका लागि व्यवसायीहरू तयार रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जन बताउँछन् । धनतेरसका दिन पूजा भाँडा किन्ने पुरानो चलन परिवर्तन हुँदै गहनासम्म पुगेको उनको अनुभव छ । ‘यो दिन खासगरी चाँदीका भाँडाकुँडा बिक्छन् भने चाँदी तथा सुनका असर्फीको पनि राम्रो व्यापार हुन्छ,’ महर्जन भन्छन्, ‘त्यसबाहेक पछिल्ला वर्षहरूमा सुनचाँदीका गहना जोड्ने चलन पनि बढ्दै गएको छ ।’
म्हः पूजा
नेवार समुदाय मात्र नेपालको एक मात्र यस्तो समुदाय हो, जसमा आफैले आफ्नो पूजा गर्ने प्रचलन छ । म्हः अर्थात् शरीरलाई गरिने यो पूजा खासमा शरीरभित्र रहेको आत्मा अर्थात् चेतनालाई पूज्ने धारणामा आधारित छ । नेवारी समुदायले मनाउने पर्वहरूमध्ये यो महत्वपूर्ण र विशिष्ट रहेको छ । पूरा ब्रम्हाण्ड बन्ने पञ्चत्वले नै शरीर बन्ने हुँदा ब्रम्हाण्ड रचनाको सम्पूर्ण ऊर्जा एवं देवता नै शरीर रहेको मान्यता राखी आफूलाई चिनेर आफ्नो उद्धार आफै गर्न लागिपर्नुपर्ने धारणा सहित यो पर्व मनाइन्छ ।
एक समयमा ठूलो दैवी प्रकोपबाट धेरै मानिसको क्षति भएपछि बाँकी रहेका मानिसले आत्मसुरक्षाका लागि आफैले आफ्नो पूजा गरेको र त्यहीँबाट म्हः पूजाको प्रचलन चलेको किम्वदन्ती छ । प्रत्येक वर्ष नेपाल संवत् अनुसार कात्तिक शुक्ल प्रतिपदाका दिन म्हः पूजा गर्ने गरिन्छ । उक्त दिन म्हः पूजा गर्नाले वर्षभरि चोटपटक नलाग्ने र मन शान्त भइरहने मान्यता छ । म्हः पूजा गरेको भोलिपल्ट मात्रै भाइटीका लगाउने चलन यो जातिमा छ । त्यसैले विक्रम संवत् अनुसार प्रतिपदा र द्वितीया एकै दिन परेकाले यो वर्ष नेवारी समुदायले अन्य जातिले भाइटीका मनाउने दिन म्हः पूजा गर्नुपर्ने भएकाले भोलिपल्ट मात्रै भाइटीका लगाउने निर्णय नेपाल भाषा मंकाः खलःले गरेको छ ।