ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उमंगको तिहार जोखिमयुक्त पनि

जोखिम न्यूनीकरण र बीमा अपरिहार्य

Oct 25, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

नेपालीहरूले मनाउँदै आएका धेरै पर्वहरू छन् । तीमध्ये तिहार दोस्रो ठूलो चाड मानिन्छ । नेपालमा मनाइने सबै पर्वको आ–आफ्नै विशेषता छन् । तिहारले पनि आफ्नै विशेषता र महत्व बोकेको छ ।

सयपत्री फूलको माला सहित भाइटीका लगाउने र देउसी भैलो खेल्ने तिहारका मुख्य विशेषता हुन् । यसका अलावा विभिन्न किसिमका बत्ती बालेर घर, टोल झलमल्ल पार्नु पनि तिहारको विशेषता हो । त्यसैगरी तिहारमा पटका पट्काउने, झिरझिरे जलाउने जस्ता मनोरञ्जनात्मक क्रियाकलाप पनि गरिन्छ । यद्यपि तिहारलाई यसरी रमाइलो गरी मनाइरहँदा विभिन्न किसिमका विपद् पनि आइलाग्ने गरेका छन् ।

पटका पट्काउने, विद्युतीय सामानको क्षमताभन्दा बढी प्रयोग गर्नेजस्ता प्रवृत्तिले तिहार रमाइलोसँगै जोखिमयुक्त पनि बन्दै गएको छ । पटका पट्काउने क्रममा बालबालिकाहरूले ज्यान समेत गुमाउनु परेको छ । साथै जडित विद्युत् क्षमताभन्दा बढीको विद्युतीय सामानको प्रयोग गर्दा विद्युत् शर्ट भएर घर, भवन, पसल जस्ता भौतिक सम्पत्तिमा आगलागी पनि हुने गरेको पाइन्छ । 

सामान्य अवस्थामा काठमाडौंमा औसतमा दैनिक एउटा आगलागीको घटना भइरहेको हुन्छ । तर तिहारको समयमा भने दैनिक तीन–चारओटा आगलागीका घटना भएको जुद्ध वारुण यन्त्र कार्यालयको तथ्यांकले देखाउँछ । जुद्ध वारुण यन्त्र कार्यालयका प्रमुख लीलाराज हाथामगरले भने, ‘काठमाडौंमा विगतका तिहारमा एकै दिनमा ६ ओटासम्म आगलागीका घटना भएका छन् ।’ कार्यालयका अनुसार तिहारका समयमा काठमाडौंमा मात्र २५ देखि ३० ओटासम्म आगलागीका घटना हुने गरेका छन् । 

तिहारको समयमा आगो उत्पादन हुने वस्तुहरूको बढी प्रयोग हुन्छ । त्यस अवस्थमा मानिसले होशियारी अपनाउन नसक्दा आगलागीको घटना हुन्छ । त्यसैले तिहारमा यस्ता घटना हुन नदिन स्वयं नागरिकहरू नै सतर्क हुनुपर्ने उनको भनाइ छ । उनले भने, ‘घरलाई झिलीमिली बनाउने नाममा जथाभावी रूपमा दियो, धूप तथा बत्तीहरू नबालौं । र, भवितव्यले रूपमा हुन सक्ने अग्नि विपद्लाई दृष्टिगत गर्दै फायर एक्स्टिङ्ग्विसर पनि प्रयोग गरौं ।’ साथसम्भावित अग्नि विपद्को न्यूनीकरणका लागि विद्युतीय उपकरण प्रयोग गरिसकेपछि बन्द गरेर राख्नुपर्ने उनको सुझाव छ ।

यद्यपि आगलागी भइहाल्यो भने त्यसलाई नियन्त्रण गर्न जुद्ध वारुण यन्त्रको समूह चौबीसै घण्टा तयारीमा हुने उनको भनाइ छ । उनले भने, ‘हाम्रो समूह अरू समयमा पनि तयारी अवस्थामा हुन्छ । तर तिहारमा बढी जोखिम हुने भएकाले हामीले विशेष तयारी गरेका हुन्छौं र कर्मचारीहरूलाई पनि विशेष अवस्थामा बाहेक बिदा दिँदैनौं ।’

बीमा अपरिहार्य
आगलागी कारण मानवीयसँगै ठूलो मात्रामा जनधनको पनि क्षति हुने गरेको छ । आगलागीमा परेर घरभित्र भएका नगद, खाद्य सामग्री, लत्ताकपडा, विद्युतीय उपकरण जस्ता जिन्सीहरू जलेर नष्ट हुने गरेको पाइन्छ । कतिपय आगलागी कारण त घरको संरचना नै जलेर खरानी हुने गरेको छ । त्यस्तै रातिको समयमा हुने आगलागीमा परेर परिवार सदस्यले पनि ज्यान गुमाएको घटनाहरू पनि सर्वविदितछन् । गत मङ्सिर ९ गते झापाका लक्ष्मण खनालको घरमा आगलागी हुँदा उनी सहित परिवारका चार सदस्यले ज्यान गुमाउनु परेको थियो । 

यसरी आगलागीका कारण भौतिक तथा जनधनको क्षति भएपछि घरधनीसँग घरको मर्मतसम्भार तथा पुनः निर्माण गर्न, औषधोपचार गर्न आवश्यक रकम नहुन सक्छ । विभिन्न संघसंस्था तथा सरकारी निकायबाट राहत आउने सम्भावना रहे पनि त्यो पर्याप्त हुँदैन । 

त्यसैले यस्ता विषयलाई दृष्टिगत गर्दै आम नागरिकले जोखिमको न्यूनीकरण गर्ने उपाय र सावधानीसँगै घरको बीमा गर्नेतर्फ पनि ध्यान दिनुपर्ने बीमा विज्ञहरू बताउँछन् । त्यस्ता घटनाबाट हुने नोक्सानीलाई आर्थिक रूपमा न्यूनीकरण गर्न परिवार सदस्यको दुर्घटना बीमा र घरको अग्निबीमा अपरिहार्य रहेको उनीहरूको भनाइ छ । उक्त अवस्थामा बीमा कम्पनीबाट आउने रकमले घरको मर्मत सम्भार र घाइतेको उपचार गर्न सकिने विज्ञहरू बताउँछन् । 

बीमाविज्ञ भोजराज शर्माले आगलागीबाट हुने क्षतिलाई आर्थिक रूपमा न्यूनीकरण गर्न बीमा उपयोगी हुने बताए ।  ‘हुन त यस्ता घटना अघिपछि पनि हुन्छन्, तिहारमा मात्र हुन्छ भनेर यही बेलामा बीमा गर्न भने भएन, बीमा सधैंका लागि हो,’ उनले भने, ‘तर यस बेला आगलागीका घटना बढी हुने हुँदा तिहार नपर्खिकन बीमा गरिहाल्नु बेश हुन्छ ।’

पहिला घरको बीमा गर्न अग्नि बीमा मात्र गरेर पुग्दैनथ्यो । त्यसमार्फत बीमा गर्दा ग्यास, आगो, विद्युत्, विष्फोटबाट हुने आगलागीको रक्षावरण गर्न प्रत्येकका लागि थप बीमाशुल्क तिर्नुपर्ने थियो, जसले गर्दा बीमाशुल्क पनि महँगो पर्ने थियो । 

तर अहिले त्यस्तो अवस्था छैन, बीमा समितिले गत माघदेखि एकीकृत सम्पत्ति बीमा निर्देशिका लागू गरेको छ । त्यस अन्तर्गत घरको बीमा गर्दा सबै प्रकारका जोखिम एउटै बीमालेखले रक्षावरण गर्दछ । साथै बीमाशुल्क पनि पहिले भन्दा ६७ प्रतिशत सस्तो भएको समितिको भनाइ छ । पहिले १ करोड रुपैयाँ बराबरको सम्पत्तिको बीमा गर्दा करीब १३ हजार रुपैयाँ बीमाशुल्क तिर्नुपर्ने थियो । तर अहिले ४ हजार रुपैयाँमा नै बीमा गर्न सकिन्छ ।

बीमा गर्दा घरधनीले बीमालेखमै घरभित्र भएको सम्पत्तिलाई अलग अगल रूपमा उल्लेख गर्नुपर्ने हुन्छ । बीमालेखमा उल्लेख नभएका सम्पत्तिलाई भने बीमाले रक्षावरण गर्दैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)