ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भाइमसलामा मुलुक परनिर्भर : आयातित पनि महँगो

Oct 25, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

तिहारको भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई विभिन्न पकवानका साथ दिने भाइमसलामा मुलुक परनिर्भर देखिएको छ । सुकाइएका विभिन्न २१ ओटा फल (ड्राई फ्रुट्स) तथा अन्य सामग्री मिसाएर बनाइने भाइमसलाको व्यापार तिहार आउनु अघिदेखि नै चोक तथा पसलहरूमा हुने गर्दछ । तर अनिवार्य मानिने यी सामग्री हरेक वर्ष लगभग शतप्रतिशत विदेशबाट आयात गर्नुपर्ने अवस्था छ ।

भाइमसलामा काजु, बदाम, मिश्री, पेस्ता, किसमिस, छोकडा, नरिवल, ओखर, खुर्पानी, अंजिर, मखना, सुपारी, ल्वाङ, सुकुमेल, अलैंची र दालचिनी गरी १६ सामग्री अनिवार्य जस्तै राखिन्छ । यीबाहेक चकलेट, काँचो बदाम जस्ता थुप्रै प्रकारका मिठाईहरू मिसाइएको हुन्छ । ती वस्तुहरूको आयात निकै ठूलो परिमाणमा हुने गरेको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षमा त्यस्ता वस्तुहरु ७ करोड किलो बराबर आयात गरिएको छ । ती वस्तु आयात गर्न झन्डै ३ अर्ब ९८ करोड रुपैयाँ मात्रै खर्च भएको छ । यसरी आयातित वस्तुहरूको बजारभाउ छोइसक्नु छैन । खुद्रा व्यापारीका अनुसार गतवर्ष रू. ३ सय ५० मा पाइने मखना अहिले प्रतिकेजी १ हजार पुगेको छ । गतवर्षको तुलनामा यसवर्ष किसमिस, नरिवल लगायतका केही वस्तुको भाउ दोब्बर बढेको छ । यस्तै अलैंचीको भाउ पनि उत्तिकै बढेको व्यापारीहरू बताउँछन् । 

गतवर्ष १ हजारमा पाइने अलैंचीको भाउ यस वर्ष प्रतिकेजी १५ सय, गतवर्ष २ सय ५० मा पाइने नरिवलको खुद्रा भाउ बजारमा अहिले दोब्बर बढेर ५ सय पुगेको छ । 
त्यस्तै गतवर्ष ओखर प्रतिकेजी ३ सय ५० मा विक्री भएकोमा अहिले ७ सय ५० सम्म पुगेको छ । यस्तै सुकमेल गतवर्षको तिहारमा प्रतिकेजी १६ सयमा पाइन्थ्यो । तर यो वर्ष भाउ बढेर २५ सय पुगेको छ ।

होलसेलमा आफूहरू उक्त वस्तुहरू किन्दा खुद्रा व्यापारीले बिलबिजक पाउने गरेका छैनन् । खुद्रा व्यापारी नेत्रकुमार श्रेष्ठले भने, ‘खुद्र व्यापारीले काजू १५ सयमा किन्नुपरे पनि सही रूपमा बिलबिजक पाएका छैनौं । ८–९ सयको बिलबिजक हामीलाई दिइन्छ ।’ यसरी भाइमसलाको बजार भाउ अत्यधिक बढेपछि उपभोक्ता ठूलो मारमा परेका छन् । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले सरकारले चाडपर्वको बेलामा प्रभावकारी रूपमा बजार अनुगमन नगर्दा उपभोक्ताको ढाड सेकिएको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)