सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान आइतवार ५२ वर्ष पूरा गरेर ५३औं वर्षमा प्रवेश गरेको छ । संस्थानले ५२ वर्ष पूरा गर्दासम्म धेरै आरोह अवरोहको सामना गर्नुपर्यो । तर, संस्थानको पछिल्लो व्यावसायिक गतिविधि चुस्त बन्दै गएको देखिन्छ । प्रस्तुत छ, संस्थानको पछिल्लो गविविधि सहित समसामयिक विषयमा संस्थानका प्रशासक (प्रमुख कार्यकारी अधिकृत) कविप्रसाद पाठकसँग आर्थिक अभियानका मिलन विश्वकर्माले गरेको कुराकानीको सार :
राष्ट्रिय बीमा संस्थान ५३औं वर्षमा गर्दै छ । संस्थानको हालसम्मको अवधि कस्तो रह्यो ?
बीमा संस्थानका लागि हालसम्मको अवधि त्यस्तो उत्साहजनक छैन । तर, सन्तोष गर्ने आधार भने धेरै छन् । हालसम्म संस्थानले ६ लाख ८९ हजारभन्दा बढी बीमालेख जारी गरेको छ । साथै, कुल रू. ४७ अर्ब ६ करोड बीमाशुल्क संकलन गर्न सफल भएका छौं । चालू आवको ६ महीनामा मात्र रू. ५ अर्बभन्दा बढी बीमाशुल्क संकलन भएको छ । कुल बीमाशुल्क संकलनलाई नै आधार मान्ने हो भने हामीले बीमा बजारको १२ प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छौं । साथै, संस्थानको बीमा कोषमा रू. २५ अर्ब ९६ करोड पैसा जम्मा भएको छ । बीमा कोषको आधारमा पनि हाम्रो बजार हिस्सा १२ प्रतिशत छ ।
बीमाको साक्षरता, पहुँच बढाउन संस्थानको भूमिका कस्तो रह्यो ?
हामी सरकारी कम्पनी भएको नाताले पनि बीमाको साक्षरता र पहुँच बढाउन जुन खालले भूमिका निर्वाह हुनुपर्दथ्यो, त्योअनुसार हुन सकेन । तर, नेपाली कम्पनीको रूपमा नेपालमा जीवन बीमा सेवा शुरुआत गर्ने बीमा संस्थान नै हो । साथै, शाखा कार्यालय मार्फत बीमालाई विस्तार गर्ने काम गरिरहेका छौं । साथै, ६ हजारभन्दा बढी सक्रिय अभिकर्ता मार्फत बीमा सेवा बढाउने काम पनि भइरहेको छ । चालू आवदेखि ‘विद्यार्थीसँग बीमा’ कार्यक्रम पनि शुरू गरेका छौं । यसले साक्षरता बढाउन ठूलो सहयोग पुग्ने अपेक्षा छ । विशेषगरी काठमाडौं बाहिरका कलेज, क्याम्पसका विद्यार्थीलाई लक्षित गरी यो कार्यक्रम सञ्चालनमा छ ।
बीमा संस्थान सरकारी कम्पनी हो । तर, बीमाका लागि संस्थानले आम मानिसको मन जित्न नसकेको देखिन्छ । यस्तोमा संस्थानमा बीमा गर्नुपर्ने आधार के के छन् ?
संस्थानले आम मानिसको मन जित्न नसकेको भन्ने होइन । सरकारी कम्पनी भएको हुनाले हामीप्रतिको विश्वास र भरोसा छ नै । तर, विगतमा के भयो भन्नेतिर नजाऊँ । पछिल्ला दिनमा ग्राहकमैत्री वातावरण बनाएका छौं । ग्राहकलाई दिइने सेवासुविधा पनि छिटो छरितो बनाउँदै छौं । पहिले केन्द्रीय कार्यालय मार्फत मात्र बीमालेख जारी हुन्थ्यो । तर, साउन १ गतेदेखि सबै शाखाबाट बीमालेख जारी गर्न सकिने व्यवस्था छ । हिजो वेबबेस सफ्टवेयर नहँुदा त्यस्तो समस्या थियो । अहिले वेबबेसमा आधारित सफ्टवेयर ल्याएपछि शाखाबाट बीमालेख जारी गर्न सहज भएको छ । साथै, त्यसबाट ग्राहकले बीमा संस्थान, बीमा पोलिसी, बीमाशुल्क लगायतकबारे सजिलै जानकारी लिन सक्छन् । साथै, मोबाइल एप्स, एसएमएस सेवा पनि दिएका छौं ।
बोनस दर, दाबी भुक्तानीको विषयमा ग्राहकहरू कम्पनीबाट कत्तिको सन्तुष्ट छन् त ?
हामी बोनसदरको विषयमा अन्य कम्पनी भन्दा परक छौं । अरूले बीमांकीय मूल्यांकन मार्फत बोनस दर निर्धारण गरेर बीमितलाई बोनस दिइरहेका छन्, जसअनुसार उनीहरूको हरेक वर्ष फरक फरक बोसन दर हुन्छ । तर, हामीले सबैलाई प्रतिहजार ६५ रुपैयाँ बोनस दिँदै आएका छौं ।
हुन त हामी पनि अन्य कम्पनी जसरी जान आवश्यक छ । तर, त्यो ठाउँमा पुग्न सकेका छैनौं । एउटा निश्चित बोनस दिएका छौं, जुन आफैमा राम्रो हो । आजको दिनमा प्रतिहजार ६५ रुपैयाँ बोनस भनेको नराम्रो होइन ।
संस्थानको लामो समयदेखि लेखापरीक्षण, साधारणसभा हुन सकेको छैन । यस्ता समस्या कसरी समाधान गर्दै हुनुहुन्छ ?
संस्थानको लामो समयदेखि लेखापरीक्षण र वार्षिक साधारणसभा नहुनु आफैमा दुःखद पक्ष हो । यसले कम्पनीलाई ठूलो मात्रामा असर गरेको छ । तर अब यो समस्या धेरै समयसम्म रहँदैन । चालू आवमै बाँकी रहेको लेखापरीक्षणको काम सम्पन्न गर्न सक्छौं ।
आव २०६४/७५ देखि यताको लेखापरीक्षण, बीमांकीय मूल्यांकन र साधारणसभा अझै भएको छैन । त्यसमध्ये आव २०६९÷७० बीमांकीय मूल्यांकन गरेर स्वीकृतिका लागि बीमा समितिमा पठाइसकेका छौं । साथै, आव २०७३/७४ सम्मको लेखापरीक्षण भइसकेको छ । त्यसपछिका बाँकी रहेका २ आवको पनि लेखापरीक्षण गर्ने काम जारी छ । यसमा बीमा समितिले सहजीकरण गरेमा चालू आवमै यो समस्या समाधान गर्छाैं ।
संस्थानको चुक्तापूँजी रू. १८ करोड मात्र छ । यो अवस्थामा रू. २ अर्ब चुक्तापूँजी बढाउन कस्तो योजना बनाउनु भएको छ ?
बीमा समितिले जीवन बीमा कम्पनीलाई रू. २ अर्बको चुक्तापूँजी बनाउन निर्देशन दिएको छ । तर, हामी बीमा संस्थान ऐन, २०२५ मार्फत सञ्चालनमा छौं । ऐनमा संस्थानको अधिकृत पूँजी रू. ५० करोडसम्म हुन सक्ने व्यवस्था छ । हामी चुक्तापूँजी ५० करोडभन्दा बढी बनाएर जान सक्ने अवस्था छैन । ऐन संशोधन गरौं भने पनि बीमा सम्बन्धी नयाँ ऐन आउन लागेकाले त्यो सम्भव देखिएन । अब बीमा ऐन लागू भएको १ वर्षभित्र हामी कम्पनीमा दर्ता हुनुपर्छ । त्यसबेलासम्म बोनस शेयर लगायत माध्यमबाट चुक्तापूँजी बढाउँछौं । सम्भवतः कम्पनीमा दर्ता भएपछि तोकिएको मात्रामा आईपीओ पनि निष्कासन गर्छौं ।
संस्थानमा बीमा अभिकर्ता कम छन् । अभिकर्ता बढाउन के कस्ता योजना बनाउनु भएको छ ?
वास्तवमा बीमा व्यवसायको मूल आधार भनेको नै अभिकर्ता हुन् । तर, ५२ वर्ष पूरा गरेको संस्थानमा अभिकर्ताको संख्या जुन मात्रामा हुनुपर्ने हो, त्यो छैन । तर अहिले अभिकर्ताको संख्या बढाउन शुरू गरिसकेका छौं । वर्षमा कम्तीमा पनि १ हजार ५०० देखि २ हजारसम्म अभिकर्ता बढाउने लक्ष्य छ । त्यसरी काम गर्दा चालू आवमा मात्र १ हजार २०० अभिकर्ता थपिएका छन् । गत आवमा करीब ५ हजार बीमा अभिकर्ता थिए । अहिले त्यो संख्या बढेर ६ हजार २०० पुगेको छ ।
अभिकर्ताका लागि यो वर्ष हामीले धेरै तालीम गरेका छौं । साथै, उनीहरूलाई दिने सेवा सुविधा पनि बढाएका छौं । पहिला छोडेर जाने अभिकर्तालाई पनि बोलाएर आवश्यक परामर्श दिएका छौं । निष्क्रिय अभिकर्तालाई सक्रिय बनाउन लागेका छौं ।
बीमा संस्थान स्थापना भएपछि आएका धेरै कम्पनीले व्यावसायिक गतिविधि चुस्त रूपमा अगाडि बढाएका छन् । तर, संस्थान त्योअनुरूप अगाडि बढ्न सकेको छैन नि । किन होला ?
राष्ट्रिय बीमा संस्थान एउटा पुरानो संस्था हो । यदि, हामीले शुरुआतदेखि नै चुस्त गतिमा काम गरेको भए नयाँ कम्पनीले हामीसँग प्रतिस्पर्धा गर्न सक्ने थिएनन् । हामी केही सुुस्त भएकाले अन्य कम्पनीहरू अगाडि बढ्न सफल भए । हामी काठमाडौं उपत्यका बाहिर जान सकेनौं । अन्य कम्पनीले जस्तै नेटवर्क विस्तार गर्न सकेनौं । फलस्वरूप हामी केही पछि परेका हौं । तर, संस्थानलाई प्रतिस्पर्धी बनाउन योजनाबद्ध रूपमा अघि बढिसकेका छौं । गतवर्ष संस्थानका ८ ओटा मात्र शाखा थिए । अहिले १४ ओटा पुर्याइसकेका छौं । चालू आवमा २४ ओटा पुर्याउने लक्ष्य छ ।
संस्थानमा नयाँ नयाँ बीमा पोलिसी आएनन् भन्ने गुनासो पनि छ । नयाँ बीमा पोलिसी ल्याउने योजना छ कि ?
वास्तवमा नै बीमा संस्थानमा पुरानै बीमा पोलिसीहरू छन् । यद्यपि, बीच बीचमा नयाँ पोलिसी आएका थिए । बजारले खोजेको जस्तो मात्र ल्याउन नसकेको हो । तर, अहिले हामी नयाँ बीमा पोलिसी ल्याउने विषयमा सकारात्मक छौं । यो विषयमा प्रक्रिया अगाडि बढिसकेको छ । सम्भवतः यो आवमा दुईओटा नयाँ बीमा पोलिसी ल्याउँछौं । साथै, प्रचलित बीमा पोलिसीमा रू. ५० लाखसम्मको घातक रोगहरूको औषधोउपचार बीमा योजना जोड्ने योजना पनि छ ।
पछिल्लो समय बीमा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको छ । संस्थानमा प्रविधि भित्र्याउने केही योजना छ कि ?
लामो समयसम्म राष्ट्रिय बीमा परम्परागत रूपमै अगाडि बढ्यो । तर अहिले संस्थानले प्रविधिमा पनि फड्को मार्र्दै गएको छ । पहिलो प्रधान कार्यालयबाट जारी हुने बीमालेख अहिले शाखा कार्यालय मार्फत हुनु आफैमा ठूलो उपलब्धि हो । मोबाइल एप्स, एसएमएस अलर्ट लगायत प्रविधियुक्त सेवा पनि शुरू गरिसकेका छौं । आमागी आवमा अनलाइन मार्फत नै बीमाशुल्क र दाबी भुक्तानी गर्ने व्यवस्था मिलाउँदै छौं । अनलाइन भुक्तानीमा काम गरिरहका सेवाप्रदायक कम्पनीसँग यस विषयमा छलफल भइरहेको छ । सम्भवतः आगमी आवदेखि यो सेवा शुरू हुन्छ ।
अन्य कम्पनीमा सञ्चालक समितिले व्यवस्थापनलाई व्यावसायिक लक्ष्य दिने गरेका छन्, जसले गर्दा सञ्चालक र व्यवस्थापनबीच सम्बन्ध पनि चिसिएको पाइन्छ । राष्ट्रिय बीमा संस्थानको अवस्था के छ ?
निजी कम्पनीमा सञ्चालकले व्यवस्थापनलाई मात्र नभएर व्यक्तिलाई नै व्यावसायिक लक्ष्य दिने गरको सुनिन्छ । व्यावसायिक लक्ष्य दिनु आफैमा राम्रो पक्ष हो । तर, हामीकहाँ त्यस्तो छैन । यद्यपि, शाखा कार्यालयलाई सामान्य रूपमा त्यस्तो लक्ष्य दिँदै आएका छौं । निकट भविष्यमा सम्भव भयो भने प्रधान कार्यालयमा पनि यो प्रणाली लागू हुन सक्छ । सञ्चालक, व्यवस्थापन र कर्मचारीबीचको सम्बन्धको कुरा गर्नुपर्दा, त्यसमा कुनै नराम्रो छैन । केही समयअघि लोकसेवा मार्फत नयाँ कर्मचारी साथीहरू आउनु भएको छ । उहाँहरूले निकै उत्साहका साथ काम गरिरहनु भएको छ । सञ्चालक समिति पनि नयाँ बनेको छ । हामी अहिले नयाँ उत्साहका साथ अगाडि बढेका छौं ।
तपाईंको कार्यकाल सकिन १ वर्षभन्दा बढी छ । तपाईंको कार्यकाल समाप्त हु“दा आम जनताले बीमा संस्थानलाई कस्तो रूपमा हेर्न पाउँछन् ?
नेपाल सरकारबाट संस्थानको प्रशासकमा नियुक्त भएर आउँदा यहाँ धेरै काम पेडिङ थियो । १० वर्षदेखिका लेखापरीक्षण, साधारणसभा लगायत काम हुन सकेका थिएनन् । मेरो मुख्य योजना नै ‘पेन्डिङ’मा रहेका काम पूरा गर्नु हो । बीमा समितिले समयमै वित्तीय विवरणहरू स्वीकृत गरिदियो भने यो वर्षभित्र लेखापरीक्षण, वार्षिक साधारणसभा लगायत काम सकाउँछौं । अहिलेको अवस्थामा त्यो काम गर्न सकियो भने पनि ठूलो उपलब्धि मान्नुपर्छ । त्यो सफल भएपछि संस्थान पनि निजी कम्पनी सरह प्रतिस्पर्धी भएर अगाडि बढ्छ । व्यवसायको हिसाबले बीमा संस्थानलाई सके पहिलो, नभए उत्कृष्ट तीनभित्र पार्ने लक्ष्य लिएका छौं ।