ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

“संस्थानलाई द्रुत गतिमा कुदाउने अभियानमा छौं”

२०७६ फागुन, ११  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
गंगाराम कँडेल अध्यक्ष, राष्ट्रिय बीमा संस्थान
author avatar ममता थापा

राष्ट्रिय बीमा संस्थानमा करीब २ महीनाअघि मात्र प्रवेश गरेका अध्यक्ष गंगाराम कँडेल संस्थानलाई नया“ स्वरूपमा बदल्ने अभियानमा लागेका छन् । ५ दशकभन्दा बढी वसन्त पार गरिसकेको यस संस्थानलाई बूढो हुन नदिई आधुनिक प्रविधि, थप दक्ष जनशक्ति, शाखा विस्तार लगायतमा जोड दिने योजनामा रहेका अध्यक्ष कँडेलसँग आर्थिक अभियानकी ममता थापाले गरेको कुराकानी सार :

राष्ट्रिय बीमा संस्थानले ५२ वर्ष गरी ५३औं वर्षमा प्रवेश गरेको छ । यसबीच कम्पनीको सफलतालाई कसरी मूल्यांकन गर्नु भएको छ ?
नेपालमा बीमाको शुरुआत गर्ने ऐतिहासीक कम्पनीको रूपमा राष्ट्रिय बीमा संस्थान छ । पछिल्लो समय भने धेरै बीमा कम्पनीहरूको उदय भइसकेको छ । देशको राजनीतिक रूपान्तरणको परिवेशमा तथा अस्थिर भएको अवस्थामा बीमा संस्थानको प्रशासनमा त्यसको असर परेको थियो, जसको कारणले केही बेथिति आए । 
यसैले कम्पनीको व्यवसाय अरूको तुलनामा केही पछि परेको हो । यद्यपि, सेवाग्राहीमा संस्थानप्रति विश्वसनीयता र गौरवशाली संस्थानको रूपमा पहिचान बनाउन सकेको छ । तर व्यावसायिक रूपमा बजारमा देखाउने गरी आउन सकेको छैन । तर यो संस्थानप्रतिको विश्वासको छाप आम ग्राहकमा कायम छ ।

तपाईंको कार्यकाल सकिदा बीमा संस्थानलाई कस्तो रूप दिनुहुनेछ ?
धेरै कार्ययोजना छन्, सुधार गर्न बाँकी छ । कतिपय गरिसकेका पनि छौं । संस्थानको लेखापरीक्षणको समस्या थियो, त्यो टुंगिँदै छ । अहिले संस्थानभित्रको संरचनामा धेरै परिवर्तन आइसकेको छ । अहिलेको प्रविधिको युगमा सफ्टवेयर र मोबाइल एप्स प्रयोगमा ल्याएका छौं । यसले गर्दा बजारमा प्रतिस्पर्धी भएर जानका लागि हामी तयारी अवस्थामा छौं ।

संस्थान निकट भविष्यमा निजीक्षेत्रसँग व्यावसायिक रूपमा प्रतिस्पर्धी भएर उभिन सक्छ त ?
अब सफ्टवेयर प्रयोग र शाखाहरू बढाएपछि प्रतिस्पर्धी भएर उभिन लागेका छौं । सेवा विस्तार गर्न दक्ष कर्मचारीको व्यवस्था पनि गर्दै छौं । निकट भविष्यमा केही कर्मचारी तयारी अवस्थामा छन् । यसपछि शाखा बढाउने र आधुनिक प्रविधि प्रयोग गरेर काम शुरू गर्नेछौं । 

समग्रमा व्यवस्थापन समूह र कर्मचारीको काम कारबाहीबाट सञ्चालक समिति कत्तिको सन्तुष्ट छ ?
यहाँ कर्मचारीको अभाव छ । लामो समयसम्म विविध कारणले कर्मचारी नियुक्त नहुँदा दक्ष तथा उच्चस्तरका कर्मचारीको अभाव छ । अभाव पूरा गर्न निकट भविष्यमा प्रबन्धक तहका कर्मचारी नियुक्त गर्न लागिरहेका छौं ।  व्यवस्थापकीय क्षेत्रमा सञ्चालक समिति नियमनकारी हो । प्रत्येक हप्ता भएको बैठकमा समितिले छलफलबाट विभिन्न निर्णय गर्छ । 

व्यवस्थापन र सञ्चालक समूहबीच कस्तो सम्बन्ध छ ? 
व्यवसाय अघि बढाउन बजारमुखी तथा विज्ञापन जरुरी छ । यसलाई अहिलेको डिजिटल बजारमा वैज्ञानिक तरीकाले लैजानु पर्छ । यसबारे निर्देशन दिन्छौं । साथै आवश्यकता अनुसार विज्ञको सल्लाह पनि लिन्छौं । आक्रामक रूपमा कसरी अगाडि बढ्ने भनेर सुझाव दिने गरेका छौं । यसको कार्यान्वयन व्यवस्थापन पक्षले गर्दै आएको छ । 

प्रस्तावित बीमा ऐनले संस्थानलाई पूर्णरूपमा बीमा समितिको नियमनमा ल्याएको छ । यसमा तपाईंको भनाइ के छ ?
अहिलेसम्म सरकारी स्वामित्वमा बीमा संस्थान सञ्चालित छ । यसलाई कम्पनीको रूपमा लैजाने भनिएको छ । यसबारे विधेयक संसद्मा पेश भएको छ र पास हुन बाँकी छ । त्यो पारित भएर लागू भएपछि यो संस्थानको रूपमा नभई कम्पनी ऐनअनुसार हुन्छ । उक्त व्यवस्था आएपछि सर्वसाधारणमा केही  शेयर निष्कासन गरिन्छ । यसको पूँजी कोष अहिले निकै कम देखिन्छ । त्यसपछि वृद्धि गर्नुपर्छ । 

नियामक निकाय बीमा समितिबाट कस्तो खातको नियमन अपेक्षा गर्नु भएको छ ?
हामीले धेरै नयाँ प्रडक्टहरू ल्याउन अध्ययन गरिरहेका छौं । कुनै पनि व्यवस्था बीमा समितिको स्वीकृतिविना लागू गर्न सक्दैनौं । यसकारण यस्ता प्रडक्ट ल्याउँदा स्वीकृतिका लागि समितिबाट ढिलाइ नहोस् भन्ने अपेक्षा गर्दछु । 

संस्थानको व्यावसायिक गतिविधि चुस्त बनाउन के कस्ता योजना बनाउनु भएको छ ? 
बीमा संस्थानलाई ५२ वर्षे पुरानो गाडीको रूपमा हेर्छु । यो पुरानो गाडी बिग्रेर भत्केर बसेको छैन, चलिरहेको छ । यो गुडिरहेको छ, तर दगुर्न सकेको छैन । अब यसलाई मर्मत गर्नुपर्नेछ । यसलाई ग्राहक अनुकूल सहज बनाएर कुदाउने अभियानमा छौं । मर्मत भनेको प्रविधि थप्ने, जनशक्तिको विकास गर्ने, आन्तरिक लेखा व्यवस्थापनमा चुस्तता, पारदर्शिता लगायत कायम भएमा संस्थान द्रुतगतिमा कुद्न सक्छ । आगामी वर्षमै कुद्न सक्ने बनाएर छाड्छौं । यसपछि निजी कम्पनीहरूसँग प्रतिस्पर्धी भएर अघि बढ्ने लक्ष्य लिएका छौं ।

व्यवसाय तथा पहुँच विस्तारका लागि संस्थानलाई कसरी अगाडि बढाउन जरुरी छ ?
मुख्यतः बजारमा ग्राहकको चाहना, अन्य प्रतिस्पर्धीले के के दिएका छन् । सेवाग्राही केमा आकर्षित छन् भनेर विश्लेषण गर्न जरुरी छ ।  यसपछि योअनुुसारको प्रविधि र दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्‍यो । यसका लागि सबै व्यवस्था जुटाउन लागिरहेका छौं । यसपछि बजारमा प्रतिस्पर्धी भएर आउने लक्ष्य लिएका छौं । 

आगामी दिनमा कम्पनीले के कस्तो काम गर्नुपर्छ होला ? 
अब आगामी दिनमा शाखा बढाउने काममा लाग्नेछौं । यो वर्ष १४ ओटा शाखा स्थापना गर्‍यौं । अब १ वर्षभित्र १० ओटा शाखा थप्ने र सक्रिय रूपमा सञ्चालन गर्ने योजना छ । यस्तो शाखा खोल्न अभिकर्तालाई तालीम र प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्‍यो । 

संस्थानको अवस्था एक किसिमले परिवर्तन भएको छ । अब प्रतिस्पर्धी बजारमा बीमा संस्थानको चुनौती के के देख्नु भएको छ ?
यो संस्थाको वित्तीय लेखापरीक्षण र बीमांकीय मूल्यांकनले अल्झाएको छ । यो गाँठो फुकेपछि संस्था आक्रामक रूपमा अघि बढ्छ । बीमा संस्थाले आगामी वर्ष छलाङ मार्ने अवस्था पनि आउन सक्छ । यो सपना हामीले देखेका छौं । यसकारण यसमा केन्द्रित भएर योजना, नीति, व्यवस्थापन र कार्यान्वयन चुस्त बनाउने संयन्त्र तयार पार्नु छ । बजारमा अहिले अस्वस्थ प्रतिस्पर्धा पनि छ । हामीले हाम्रा सेवा बेच्ने हो । द्रुतगतिमा गएर आफूलाई अग्रणी बनाउन अस्वस्थ प्रतिस्पर्धा छ । ग्राहकको मन जित्नुपर्ने चुनौती छ । 

बीमा संस्थानमा लगानी गर्ने सरकार, नेपाल राष्ट्र बैंकले कत्तिको प्रतिफल पाएका छन् ?
हामीसँग आफ्नै पूँजीकोष छ । बीमा संस्थान बजारमा भएका अन्य १८ ओटा कम्पनीभन्दा तलै होला । तर पूँजीकोषको हिसाबमा यो संस्था तेस्रो नम्बरमा छ । यसलाई राष्ट्रिय विकासमा लगानी गरेर प्रतिफल लिने काम गरिरहेका छौं । हामीले नै आफ्नै कोष बनाएकाले अरूको आवश्यकता परेको छैन । २६ अर्ब रुपैयाँ बराबरको कोष हामीसँग छ । नियमनको दायरामा बसेर विभिन्न क्षेत्रमा लगानी गरिरहेका छौं । हामीले प्रतिफलयुक्त लगानी गरिरहेका छौं । 

संस्थानको आफ्नो बलियो कोष छ । बीमा समितिले पनि नयाँ लगानी निर्देशिका ल्याएपछि लगानीको दायरा फराकिलो बनाएको छ । घरजग्गादेखि पूर्वाधारसम्ममा लगानी गर्न पाइने भएको छ । यसअनुसार तपाईंहरूको योजना के छ ?
कुने क्षेत्रमा बढी प्रतिफल भयो भने पनि पूँजीलाई एउटै क्षेत्रमा मात्र लगानी गर्न मिल्दैन । एउटे क्षेत्रमा लगानी गर्दा डुब्ने जोखिम बढी हुन्छ । यसकारण सतर्क भएर लगानीमा विविधीकरण गर्नुपर्छ । लगानीमा सुरक्षा हेर्नुपर्‍यो । कुनै एउटै उद्योग, बैंकमा मात्र लगानी नगरी लगानीको दायराभित्रै रहेर काम गर्छौं । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)