ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

“पुनर्बीमा सेवा पनि शुरू गर्ने योजनामा छौं”

२०७६ फागुन, ११  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
महेश रिमाल नायव महाप्रबन्धक, राष्ट्रिय बीमा संस्थान
author avatar अभियान संवाददाता

महेश रिमाल विगत १२ वर्षदेखि राष्ट्रिय बीमा संस्थानमा आबद्ध छन् । हाल उनी नायव महाप्रबन्धक भएर आएपछि संस्थानलाई बलियो जीवन बीमा कम्पनी बनाउने यात्रामा अघि बढेका छन् । प्रस्तुत छ, संस्थानको समसामयिक विषयमा आर्थिक अभियानले उनीसँग गरेको कुराकानीको सार  :
५३औं वर्षमा प्रवेश गरिरहँदा संस्थानले गरेका मुख्य उपलब्धिहरू के के हुन् ?
म ६४ सालमा यस संस्थानमा आबद्ध भएको हुँ । त्यतिबेला संस्थानमा आव २०५८/६९ देखिका लेखापरीक्षण लगायत काम थाती थिए । तीसहित आजसम्म आव २०७३/७४ सम्मका लेखापरीक्षणको काम हामीले सकिसकेका छौं । पछिल्ला २ आवको लेखापरीक्षणको काम पनि जारी छ । त्यसबेला चार्टर्ड एकाउन्टेन्टहरू आउने र केही समयमै छाडेर जाने गर्थे । त्यसैले सोचेअनुसार काम सम्पन्न हुन सक्दैन थिए । विगतमा संस्था प्रविधिमैत्री थिएन । ८ वर्षअघिदेखि हामी प्रविधिको विकास गर्नुपर्छ भनेर लागिरहेका छौं । गत साउन १ गते हामीले नयाँ सफ्टवेयर सार्वजनिक गर्‍यौं । साथै, यो आवभित्र २४ ओटा शाखा पुर्‍याउने लक्ष्य 
लिएका छौं ।

लामो समयदेखि लेखा परीक्षण अस्तव्यस्त भयो । यस विषयमा के गर्दै हुनुहुन्छ ? 
आव २०६८/६९ सम्मको वित्तीय विवरण बीमा समितिमा स्वीकृतिका लागि तयार छ । आव २०६९/७० देखि ७३/७४ सालसम्म लेखापरीक्षण भइसकको अवस्था छ । साथै, पछिल्ला २ आवको लेखापरीक्षणको काम पनि भइरहेको छ । बीमा समितिले वित्तीय विवरण चाँडै स्वीकृति गरिदियो भने भने हामी साधारणसभा गर्छाैं । ‘पेन्डिङ’मा रहेका सबै कामहरू चालू आवमै सकाउने लक्ष्य छ । 

लेखापरीक्षणमा ढिलाइ भए पनि संस्थानको वित्तीय परिसूचक चाहिँ कस्तो छ ?
समग्रमा हाम्रो वित्तीय परिसूचक राम्रो छ । लेखाका स्रेस्ताहरूले पहिले समयमै वित्तीय परिसूचक नराखिदिएर, समयमै भौचिङ नगरेर र कागजातहरूको व्यवस्थापन नहुँदा केही समस्या आएको थियो । त्यसलाई अहिले हामीले सुधार गर्दै आएका छौं । अहिलेको त्रैमासिक वित्तीय विवरणअनुसार हाम्रो बीमाशुल्क र नाफा रामो छ । 

संस्थानले हाल कुन कुन क्षेत्रमा लगानी गरिरहेको छ र जोखिम कत्तिको छ ?  
बीमा समितिले तय गरेको लगानीको मोडलअनुसार हामी लगानी गर्दै आएका छौं । त्यो निर्देशिकाभन्दा बाहिर गएर लगानी गर्न मिल्दैन । लगानीलाई विविधीकरण गराएपछि जोखिम कम हुन्छ । त्यसबाहेक सरकारले ल्याएका राष्ट्रिय गौरवका आयोजनाहरूमा पनि लगानी गरेका छौं । जलविद्युत् कम्पनीमा पनि हाम्रो शेयर छ । बैंकको ऋणपत्रमा पनि लगानी गरेका छौं । साथै, विभिन्न क्षेत्रमा लगानी बढाउने विषयमा हाम्रो छलफल भइरहेको छ । जोखिम लिन सक्ने क्षमता हुनुपर्छ । हामी हाम्रो क्षमता वृद्धि गर्ने दीर्घकालीन योजना बनाइरहेका छौं । 

संस्थानमा विभिन्न समयमा उतार चढाव देखिइरह्यो । किन ? 
विगतमा हामीकहाँ ट्रेड युनियन धेरै थिए, अनुभव कम थियो । गणतन्त्र स्थापनापछि ट्रेड युनियनको गतिविधि पनि बढ्यो र कहिलेकाहीँ व्यवस्थापनामा पनि समस्या आइरह्यो । धेरै कामहरू चाहेर पनि कार्यान्वयनमा ल्याउन सकेनौं । ट्रेड युनियन हुनुमा सकारात्मक र नकारात्मक दुवै पक्ष थिए । केही कुरा व्यवस्थापनलाई अवरोध गर्ने खालका हुन्थे । अहिले त्यो स्थिति छैन, लोकसेवा पास गरेर आएका युवा जनशक्ति हामीसँग छ । अहिले कर्पोरेट क्षेत्रको संस्था जसरी नै हामी सक्रिय छौं, अब हामी निजी कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्छौं । 

केही संस्थामा ट्रेड युनियनको राजनीति हुने, व्यवस्थापनसँग असन्तुष्ट हुने गरेको पनि देखिन्छ । बीमा संस्थानको अवस्था कस्तो छ । कर्मचारीको माग के छ ?
अहिले कर्मचारीको त्यस्तो माग छैन । कर्मचारी नियमावलीमा धेरै कुराको व्यवस्था गरिसकेका छौं । माग गरिएका विषयलाई पनि व्यवस्थापन र कर्मचारीबीच छलफल गरेर टुंगोमा पुर्‍याउने गरेका छौं । सबै कुरा नियमावलीमै व्यवस्था गर्छांै । सुविधाहरू पनि राम्रै छ । तलव भने सरकारको हातमा हुन्छ । त्यसबाहेक सुविधा बढाउने विषयमा हामी सकारात्मक छौं । वैदेशिक तालीम दिने, कार्यक्षेत्रमा पठाउने आदि सबै मानव संसाधन व्यवस्थापनअनुसार गरिएको छ । कानूनअनुसार सुविधाहरू दिइरहेका छौं । वर्तमान परिप्रेक्ष्यमा यस संस्थानमा व्यवस्थापन र कर्मचारीबीच राम्रो सम्बन्ध छ । 

निजी कम्पनीसँग प्रतिस्पर्धा गर्न के कस्तो योजना बनाउनु भएको छ ?
हामीसँग ५२ वर्षको अनुभव छ । अहिले आएको नयाँ कम्पनी पनि सक्षम छन । तर, हामीहरूसँग यस्ता कुराको अनुभव छ । हामीमा जोखिम लिन सक्ने क्षमता छ । ६ दशमलव ५ को बोनसदर लामो समयदेखि दिएका छौं । यो अझै कायम गरिरहेका छौं । अब त्यसलाई बढाउने प्रयासमा पनि छौं । तर बजारमा केही अस्वस्थ प्रतिस्पर्धा छ । बीमा योजना नक्कल गर्ने, त्यही दोहोर्‍याउने जस्ता क्रियाकलाप भइरहेका छन् । बजार यसैमा रुमल्लिएको छ । सामान्य मानिस पनि बीमामा आउने गरी दायरा र पहुँच बढाउन आवश्यक छ । शाखा सेवा बढाउने तरीकाले हामी जानुपर्ने थियो । एउटा सीमित बजारमा एक किसिमको प्रतिस्पर्धा गर्दा त्यसका नकारात्मक असर आउँछन् । 

अभिकर्तातर्फ भन्ने हो भने निजी बीमा कम्पनीभन्दा हाम्रो ‘इन्सेन्टिभ’ कम छ । अभिकर्तालाई प्रायःजसो कम्पनीले दिने इन्सेन्टिभ हामीले दिएका छैनौं । व्यवस्थापन खर्च पनि निजी कम्पनीको भन्दा कम छ । आफ्नै भवन छ । तलब सरकारी स्केलको हुन्छ । बीमितको पैसा हामीसँगै सुरक्षित भएको महसूस गर्छाैं । हाम्रो लगानी, खर्च र अनुभव सबैको आधारमा बीमितहरू अझै पनि हामीसँग आकर्षित छन् भन्ने जस्तो लाग्छ । 

निजीक्षेत्रका कम्पनीले गरे जस्तै व्यवसाय बीमा संस्थानले गर्न कति समय लाग्ला ?
हाम्रा बलिया र कमजोर दुवै पक्ष छन् । प्रविधिका कुरा यो वर्ष मात्रै ल्यायौं । बीमा योजना पनि थिएनन् । घातक रोग बीमा योजना ल्याउँदै छौं । हामीले बजारले मागे अनुसारको योजना ल्याउने क्रममा छौं । यो वर्ष दुईओटासम्म नयाँ पोलिसी ल्याऊँ भन्ने हाम्रो योजना हो । बजारअनुसार पोलिसी ल्याउन सक्यौं र अडिटको काम सक्यौं भने हामी निजीक्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्छौं । मानिसहरू बीमा संस्थान खोजेर आउँछन् । अझै पनि हामी प्रतिस्पर्धी नै छौं । लेखापरीक्षण सिध्याएपछि हामी थप बलियो हुन्छौं । 

५ वर्षपछि कम्पनीको स्वरूप कस्तो हुन्छ ? 
अबको ५ वर्षमा हाम्रो लक्ष्य भनेकै पहिलो नम्बरमा हुनु हो । नभए कम्तीमा दोस्रो नम्बरमा त हुन्छौं नै । बीमाको आकार पनि बढ्छ । कम्पनीको चुक्तापूँजी मात्र रू. १० अर्बको हुन्छ । साथै, संस्थानको योजनामा जीवन बीमाको पुनर्बीमा गर्ने योजना छ । शायद ५ वर्षको अवधिमा त्यो पनि पूरा हुनेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)