गत पुस २० गते लाभांश प्रस्ताव गरको वोमी लघुवित्तले हालसम्म साधारणसभाको मिति तय गर्न सकेको छैन । यस वर्ष कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल कम्पनीको चूक्तापूँजी रू. २५ करोड २५ लाख ७६ हजार छ । यहि पूँजीको आधारमा कम्पनीले लाभांश प्रस्ताव गरेको हो । नागरिक लघुवित्तसँग गाभिएर मंसिर ३० गतेदेखि एकीकृत कारोबार शुरू गरेको यस कम्पनीको पुस मसान्तसम्मको नाफा रू. ४ करोड १६ लाख रहेको छ । गत वर्ष यसै अवधिमा रू. २ करोड ६२ लाख नाफा गरेको थियो । प्रतिशेयर आम्दानी रू. २७ दशमलव ४६ रहेको यो कम्पनीको सोमवार अन्तिम शेयरमूल्य रू. १ हजार १८२ कायम भएको छ ।
कम्पनीको ३७ दिनको कारोबार अवधिको अन्तिम दिन पुच्छर भएको कालो मैनबत्ती आकृति बनेको छ । यो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्दछ । आरएसआई ओभरबोट जोन यस अवधिसम्म ८२ दशमलव ६४ विन्दुमा छ । यसले शेयर खरीद चाप बढिरहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३६ दशमलव शून्य २ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिन खोजेका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा माथि छ । सोमवारको शेयरमूल्य रू. १ हजार १८२ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ९८० मा टेवा पाउने देखिन्छ ।