कम्पनीले फागुन २८ गतेदेखि २ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्दैछ । कम्पनीले १२ प्रतिशत ब्याजदरमा २०८३ सम्मका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । यस वर्ष कम्पनीले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिएको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा ८६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सो अवधिमा रू. ६ करोड १ लाख नाफा कमाएको हो । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. ३ करोड २२ लाख थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । चूक्तापूँजी रू. ८० करोड रहेको कम्पनीले जगेडा कोषमा रू. ३५ करोड १२ लाख छुटयाएको हो । प्रतिशेयर आम्दानी रू. १५ दशमलव ८१ छ । सोमवार कम्पनीको शेयरमूल्य रू. १६६ कायम भएको हो ।
कम्पनीको ६५ दिनको कारोबार अवधिको अन्तिम दिन टुप्पी र पुच्छर भएको कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ६६ दशमलव १६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ४९ विन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । सोमवारको शेयरमूल्य रू. १६६ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १४६ मा टेवा र महँगिएमा रू. १७१ मा प्रतिरोध पाउने देखिन्छ ।