युनाइटेड फाइनान्सले यस वर्षको ६ महीनामा रू. ४ करोड ११ लाख ८७ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिमा रू. ३ करोड ३३ लाख ४२ हजार थियो । गत वर्षभन्दा यस वर्ष २३ दशमलव ५२ प्रतिशतले नाफा बढेको हो । यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू. २ करोड १९ लाख ८ हजार छ । ३ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले चूक्तापूँजी रू. १ अर्ब ४ करोड ८ लाख ३४ हजार कायम गरेको छ । जगेडा कोष रकम भने स्थिर रही रू. २४ करोड १८ लाख ३३ हजार कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ७ दशमलव ९१ रहेको कम्पनीको सोमवारको कारोबारमा अन्तिम शेयरमूल्य रू. ६ ले घटेर रू. १८४ कायम भएको छ ।
कम्पनीको ५६ दिनको कारोबार अवधिको अन्तिम दिन कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ४९ दशमलव २० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ५६ विन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखाले १४ दिनेलाई रेखालाई माथिदेखि काटेर तल गई २६ दिनेसँग जोडिएको छ । सोमवारको शेयरमूल्य रू. १८४ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १६८ मा टेवा र महँगिएमा रू. १९८ मा प्रतिरोध पाउने देखिन्छ ।