कम्पनीले चालू आवको ६ महीना (दोस्रो त्रैमास)मा रू. २ करोड १९ लाख ४ हजार खुद नाफा गरेको छ । यो नाफा गत आवको यसै अवधिमा रू. ८७ लाख १७ हजार थियो । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा नाफा १५१ प्रतिशत बढेको हो । चालू आवको दोस्रो त्रैमासमा विद्युत् विक्री आम्दानी १२० प्रतिशतले बढी भएको छ । गत आवको दोस्रो त्रैमासमा रू. १ करोड ३३ लाख २५ हजार आम्दानी गरेको कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. २ करोड ९३ लाख ३१ हजार आम्दानी गरेको छ । चूक्तापूँजी रू. ५३ करोड ११ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ५ करोड १४ लाख छुट्याएको छ । बुधवार कम्पनीको शेयरमूल्य रू. ८६ कायम भएको छ ।
कम्पनीको ६६ दिनको कारोबार अवधिको अन्तिम दिन पुच्छर र टुप्पी भएको सेतो मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन यस अवधिसम्म ४९ दशमलव ८५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ४९ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिन खोजेका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाको बीचमा छ । बुधवारकोे शेयरमूल्य रू. ८६ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ७७ मा टेवा पाउने र महँगिएमा रू. ९८ मा प्रतिरोध पाउने देखिन्छ ।