केही दशकयता नेपालको सामाजिक संरचनामा मात्र होइन, सोचाइको स्तरमा समेत ठूलो परिवर्तन आइसकेको छ । १ दशक अगाडि नेतृत्व तहमा महिलाहरूको उपस्थिति शून्यप्रायः थियो । तर, अहिले केही क्षेत्रमा महिलाको सहभागिता उत्साहजनक छ । नेतृत्व तहमा महिलाहरू पुग्नु भनेको महिला सशक्तीकरणका लागि ठूलै सफलता हो ।
कुनै समय थियो, महिलाहरूलाई उद्यमशील बन्न निकै कठिन थियो, उद्यममा लाग्ने आत्मविश्वास पनि कम थियो । अहिले अवस्था फेरिएको छ । उद्यमी भन्नेबित्तिकै पुरूष मात्र सोच्ने मानसिकता बदलिएको छ । सरकारले विभिन्न कार्यक्रमार्फत महिलालाई उद्यममा लाग्न प्राथमिकताका साथ प्रोत्साहन गरिरहदा महिलाहरूलाई उद्यमी बन्न सहज वातारण बन्दै छ ।
जब म १५/१६ वर्षअघि नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध भएकी थिएँ, त्यतिबेला मलाई लैंगिक विभेदको महसुस भएको थियो । नेतृत्व तहमा नपुग्दासम्म केही डर हुँदो रहेछ, मलाई पनि त्यस्तै डर थियो । तर, अहिले म महासंघको अध्यक्ष बनेकी छु । अब मेरो कार्यकाल समाप्त हुँदै छ । तर, मलाई मेरो कार्यसम्पादनमा महिला भएकै कारणले कुनै समस्या भएको जस्तो लागेन । म समग्र निजीक्षेत्रलाई पर्ने समस्याको समाधानमा लागिरहेँ ।
त्यसकारण नेतृत्वमा जान महिला आफै अग्रसर हुनुपर्छ । आत्मविश्वासका साथ अघि बढ्ने हो भने महिलाले हरेक काम गर्न सक्छन् । यसका लागि सर्वप्रथम महिलामै इच्छाशक्ति चाहिन्छ । आत्मविश्वास, संघर्ष, लगाव र सकारात्मक सोचले अघि बढ्ने हो भने महिला भएकै कारण पछि पर्ने देख्दिनँ ।
म नेपाली महिलाहरू उद्यमशील बन्न सक्ने प्रशस्त सम्भावना देख्छु । सम्भावनालाई यथार्थमा बदल्न महिला आफै उद्यमशीलताको बाटोमा अघि बढ्नुपर्छ । अहिले महिलालाई उद्यमी बन्न पहिलाका दाँजोमा सजिलो पनि छ । म महासंघमा आउँदा कार्यसमितिमा एकजना मात्र महिला हुनुहुन्थ्यो, अहिले हामी पाँचजना छौं । महासंघमा मात्र होइन, जिल्ला संघमा पनि महिला सहभागिता बढ्दो छ । नेतृत्व तहका लागि महिलाहरू संघर्ष गर्दै हुनुहुन्छ । महासंघमै पनि उपाध्यक्षका लागि तयार महिला उद्यमीहरू हुनुहुन्छ । आगामी दिनमा महासंघको नेतृत्व महिलाकै हातमा जानेमा म विश्वस्त छु ।
विगतको तुलनामा निकै परिवर्तन आए पनि महिलाहरू अझै साना र मझौला उद्योगमा मात्र सीमित छन् । अझै पनि महिला उद्यमशीलताका लागि स्रोत र साधन सीमित छन् । थुप्रै महिला साथी हस्तकला उद्योगमा सहभागी छन् ।
तर, नयाँ प्रविधिलाई अँगाल्न सकेका छैनन् । दिनप्रतिदिन प्रविधिले फड्को मारिरहेको सन्दर्भमा नेपाली महिला उद्यमीहरूले आफूलाई त्यसैअनुसार अद्यावधिक गर्न नसक्दा उद्यमशीलता विस्तार हुन गाह्रो देखिन्छ । महिलाहरूले सञ्चालन गरेका उद्योगमा आधुनिक प्रविधिको प्रयोग कमै देखिन्छ । यही कारण अपेक्षाकृत रूपमा महिला उद्यमशीलता फस्टाउन नसकेको हो ।
महिला उद्यमशीलता प्रवर्द्धनका लागि हामीसँग नीति त थुप्रै छन्, तर तिनको कार्यान्वयन पक्ष कमजोर छ । सरकारले लिएका निर्णयको कार्यान्वयन छिटोछरितो छैन, प्रक्रियामै अलमलिने गरेको छ । हामी समृद्ध नेपालको कुरा गर्छौं तर त्यहाँ महिला सहभागिता खै ?
समावेशीकरण खै ? जबसम्म समावेशीकरण हुँदैन, तबसम्म हामी आर्थिक समृद्धि प्राप्त गर्न सक्दैनौं । त्यसैले महिला उद्यमशीलता मार्फत् समावेशीकरण बलियो बनाउँदा मात्रै समृद्ध नेपालको सपना पूरा हुनेछ । (कुराकानीमा आधारित)