चालू आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १५ प्रतिशतले घटेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. १ अर्ब ९७ करोड नाफा कमाएकोमा चालू आवको दोस्रो त्रैमासमा रू. १ अर्ब ६६ करोड मात्र रहेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा कम भएकाले नाफा घटेको हो । कम्पनीको चूक्तापूँजी रू. १४अर्ब २२ करोड छ । जगेडा कोषमा रू. १० अर्ब १० करोड छुट्याएको छ । बैंकले यस वर्ष शेयरधनीलाई १० दशमलव ५ प्रतिशत बोनस शेयर र ८ दशमलव ५ प्रतिशत नगद लाभांश दिएको छ । बिहीवार कम्पनीको शेयरमूल्य रू. ४१६ कायम भएको छ ।
कम्पनीको ६५ दिनको कारोबार अवधिको अन्तिम दिन लङ्गलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य अन्योलमा रहेको संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ४९ दशमलव ८९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १७ दशमलव ८९ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखाले १४ दिने औसत मूल्यरेखालाई माथिबाट काटेर तल झरेको छ भने यी दुवै मूल्यरेखाको बीचमा छ । बिहीवारको शेयरमूल्य रू. ४१६ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ३८५ मा टेवा र महँगिएमा रू. ४४८ मा प्रतिरोध पाउने देखिन्छ ।