ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘कृत्रिम अभावले उपभोक्ता मारमा’

२०७६ चैत, २  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको प्रभावले नेपाली बजारमा अत्यावश्यक सामग्रीको कृत्रिम अभाव सृजना हुँदा उपभोक्ता मारमा परेको उपभोक्ता अधिकारकर्मीले बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवस (मार्च १५) को अवसरमा उपभोक्ता हित संरक्षण मञ्चद्वारा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा उपभोक्ता अधिकारकर्मीले बजारमा कृत्रिम अभावका साथै कालाबजारी हुन थालेको औंल्याए ।

सरकारले अत्यावश्यक सामग्रीको अभाव नभएको बताइरहे पनि बजारमा अभाव देखिन थालिसकेको निष्कर्ष मञ्चको थियो । उपभोक्ता अधिकारकर्मीले नियामक निकायले नियमनको केही प्रयास गरे पनि प्रभावकारी बन्न नसक्दा बजारमा कालोबजारी बढ्दै गएकोे र हरेक सामानको मूल्य बढेर अभाव सृजना हुन थालेको बताए ।
उनीहरूका अनुसार बजारमा खाना पकाउने ग्यास, नून, तेल, औषधि, मास्क, स्यानिटाइजर लगायत अत्यावश्यक सामग्रीको कृत्रिम अभाव देखिन थालिसकेको छ ।

मञ्चका अध्यक्ष ज्योति बानियाँले उपभोक्ता हितका लागि गुणस्तरीय सामान र अत्यावश्यक सामग्रीको सहज पहुँच हुनुपर्ने भए पनि नियामक निकायको अनुगमन र नियमन कार्य संवेदनशील हुन नसक्दा कालोबजारी, मूल्यवृद्धि र वस्तुको कृत्रिम अभाव भएको बताए । ‘संकटको बेला सरकार, उपभोक्ता अधिकारकर्मी, व्यवसायी र उपभोक्ता सबै मिलेर संकटसँग जुझ्नुपर्नेमा कृत्रिम अभाव सृजना गरिएको छ । यसलाई रोक्न सरकार संवेदनशील हुनुपर्छ,’ उनले भने । सरकारले निरन्तर बजार अनुगमन गरिरहेको र सहज आपूर्ति भइरहेको बताए पनि बजारमा अभाव सृजना हुँदा उपभोक्ता मारमा परेको गुनासो उनको थियो ।

मञ्चले विभिन्न समयमा विभिन्न बजार अनुगमन गरेर त्यसको अध्ययन प्रतिवेदन सरकारलाई बुझाए पनि सरकारी निकायले त्यसमा कुनै पनि काम नगरेको आरोप उपभोक्ता अधिकारकर्मीको थियो । कृषि, सार्वजनिक यातायात लगायतमा मञ्चले अनुगमन गर्दा गुणस्तरहीन सामग्री, ठगी, कालाबजारी लगायत समस्या भेटेपछि तिनको अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर त्यसमा सरकारले दण्ड सजायको कुनै काम नगरेको मञ्चका सचिव हरि मैनालीको आरोप छ ।

बजारलाई व्यवस्थित गर्न विगतदेखि नै सरकारी निकाय संवेदनशील नभएको र अझै पनि केही सुधार नभएको उपभोक्ता अधिकारकर्मीहरूले औंल्याए । उनीहरूका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधि व्यवस्था विभाग, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग लगायत बजार अनुगमनको जिम्मेवारी पाएका सरकारी निकायले राजधानी केन्द्रित केही अनुगमन गरे पनि प्रभावकारी रूपमा काम गर्न सकेका छैनन् । 

मञ्चका उपाध्यक्ष सूर्यबहादुर थापाले बजारमा ग्यास पाउन छाडेको र हरेक सामानको मूल्य बढेको भन्दै निगरानी बढाउन सरकारलाई सुझाव दिए । ‘गुणस्तरहीन सामान देखिएका छन्, उपभोक्ताले नाकाबन्दीको बेलामा जस्तै दुःख भोग्नुपर्ने गरी अभाव सृजना गरिँदै छ, यसलाई रोक्न नियामक निकायले आवश्यक पहल गर्नुपर्छ,’ उनले भने ।

सरोकारवाला निकायले भने निरन्तर बजार अनुगमन र कारबाही भइरहेको र आपूर्ति पनि सहज भइरहेकाले बजारमा अभाव सृजना नहुने दाबी गरेका छन् । उपभोक्ता अधिकारकर्मीले सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाए पनि सरोकारवाला निकायले निरन्तर बजार अनुगमन गरी कारबाही समेत गरिरहेको बताएका छन् । उपभोक्ताले नै अभाव हुने हल्लाको पछि लागेर आवश्यकताभन्दा सामान थुपार्न थालेपछि त्यसले बजारमा अभाव सृजना भएको उनीहरूले बताए । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार निगरानी गरिरहेको दाबी गर्दै बजारमा समस्या देखिए ११३६ मा फोन गरी गुनासो गर्न सकिने बताएको छ । तर आफ्नो क्षेत्रभन्दा बाहिरबाट फोन आउन थालेको भन्दै विभागका अनुगमन शाखाका प्रमुख सागर विष्टले जुन उद्देश्यले हटलाइन सेवा शुरू गरिएको हो, त्यसअनुसार काम गर्न नसकिएको बताए ।

उनका अनुसार बजारमा नून, ग्यास, तेल, औषधि लगायत कुनै पनि सामानको अभाव छैन र निरन्तर आपूर्ति भइरहेको छ । तर उपभोक्ताले आवश्यकताभन्दा बढी वस्तु मौज्दात राख्न थालेपछि बजारमा अभाव सृजना भएको उनले बताए । ‘एक परिवारले एक बोरा नून, १४ सिलिन्डर ग्यास र ६ महीनाका लागि औषधि किन्न थाल्यो यसले बजारमा आतंक मच्चियो,’ उनले भने । आफूले निरन्तर अनुगमन गरिरहेको र आपूर्ति गर्ने निकायले पनि आवश्यकता अनुसार आपूर्ति गरिरहेकाले आवश्यकताभन्दा बढी सामान स्टकमा नराख्न उनले अनुरोध गरे ।

यस्तै औषधि जस्तो चीज पनि मानिसले ६ महीनासम्मका लागि किन्दा अभाव हुन थालेको व्यवस्था विभागका महानिर्देशक नारायणबहादुर ढकालले बताए । यसले चाहिएको अवस्थामा औषधि पाउन नसकिने भन्दै उनले अनावश्यक सञ्चिति नगर्न आग्रह गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)