विराटनगर । विश्व उपभोक्ता अधिकार दिवस मार्च १५ अर्थात् चैत २ गते मनाइँदै छ । तर उपभोक्ताको संरक्षणका लागि कार्यरत संस्था विराटनगरस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले भने बजार अनुगमन गर्न कर्मचारीको अभाव रहेको बताएको छ । शुक्रवार कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बजार अनुगमनका लागि आवश्यक कर्मचारीको अभाव भएको भन्दै कार्यालय प्रमुख हिमालय बरालले गुनासो गरे ।
उपभोक्ता संरक्षण ऐनले कार्यालयलाई बजारमै गएर सीधै दण्ड जरीवाना गर्ने अधिकार दिए पनि अनुगमन अधिकृतहरू पर्याप्त नभएकाले अनुगमनमा कठिनाइ हुने गरेको बरालले बताए । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा गरिएका १८२ ओटा फर्म अनुगमनमा पाँचओटालाई जरीवाना गरिएको जानकारी उनले दिए ।
चालू आर्थिक वर्षको हालसम्म ६८ ओटा फर्मको अनुगमन सम्पन्न गरिसकेको पनि बरालले बताए । कार्यालयमा पर्याप्त कर्मचारीसहित अनुगमन अधिकृत भएमा मात्रै अपेक्षाकृत रूपमा बजार अनुगमन गर्न सकिने उनको भनाइ छ । ‘कानूनमा उपभोक्ताको हित विपरीत कार्य गर्ने फर्महरूलाई निरीक्षक अधिकृतले नै कारबाही गर्ने व्यवस्था छ,’ उनले भने ‘तर हामीस“ग निरीक्षण अधिकृतको अभाव छ ।’
कार्यालयका तर्फबाट उपभोक्ता संरक्षण सम्बन्धी ऐनको प्रभावकारिता बढाउन विराटनगर महानगरपालिकासहित विभिन्न स्थानीय तहमा सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिए ।
कार्यालयमा प्रदेश १ का १४ जिल्लामा हालसम्म ३३ हजार ६० प्राइभेट, ९८० साझेदारी र ४२ ओटा कम्पनीहरू दर्ता छन् । त्यसमध्ये चालू आर्थिक वर्षमा ६२१ प्राइभेट, ४२ साझेदारी र ३० ओटा कम्पनी दर्ता भएको उनले बताए । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा शनिवार बिहान विराटनगरमा प्रभातफेरीको समेत आयोजना गरिएको छ ।