काठमाडौं । लगानीयोग्य पूँजीको मात्रा बढ्दै गएपछि नागरिक लगानी कोष (सीआईटी)को लगानी पनि पनि बढ्दै गएको छ । नयाँ नयाँ बचत योजना ल्याएपछि अहिले कोषमा लगानीयोग्य पूँजीको मात्रा बढेको छ । फलस्वरूप कोषले लगानीको दायरा पनि बढाउन थालेको छ ।
चालू आर्थिक वर्षको ६ महीनामा मात्र कोषको लगानी रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २१ दशमलव ७१ प्रतिशत बढेको छ । हाल विभिन्न बचत योजना तथा कोषमा गरेर उसको पूँजी रू. १ खर्ब ५७ अर्ब १३ करोड छ । त्यसमध्ये कोषले पुससम्म रू. १ खर्ब ३८ अर्ब ५५ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । गत आवको पुस मसान्तसम्ममा कोषको यस्तो लगानी रू. १ खर्ब १३ अर्ब ८३ करोड थियो । कोषको तथ्यांक अनुुसार गत आवको अन्त्यसम्ममा रू. १ खर्ब २४ अर्ब ८७ करोड रकम विभिन्न क्षेत्रमा लगानी भएको छ ।
कोषले बैंकको मुद्दती निक्षेपमा सबैभन्दा बढी लगानी गरेको छ । चालू आवको पुससम्ममा कोषले बैंकको मुद्दती निक्षेपमा रू. ८३ अर्ब २६ करोड लगानी गरेको छ । यस्तै सरकारी ऋणपत्रमा सबैभन्दा कम अर्थात् रू. ६० करोड लगानी गरेको छ ।
पूर्वाधारको क्षेत्रमा भने रू. १७ अर्ब ८५ करोड लगानी गरिएको कोषको तथ्यांकले देखाएको छ । साथै, संगठित संस्थाको शेयरमा रू. ९ अर्ब ७३ करोड लगानी र बचतकर्तालाई रू. २७ अर्ब ९ करोड कर्जा प्रदान गरिएको कोषले बताएको छ ।
कोषले पछिल्लो समय लगानीको दायरा पनि बढाउँदै लगेको छ । नेपालमा सबैभन्दा बढी पूँजी परिचालन गर्ने संस्थामध्ये कोष पनि एक हो । तर, २०४८ देखि कारोबार शुरू गरेको कोषले बैंकहरूको मुद्दती निक्षेपमा बढी लगानी गरेको थियो । राष्ट्रिय गौरवका परियोजनाजस्ता क्षेत्रमा कोषको लगानी अत्यन्त न्यून थियो । अहिले पनि बैंकहरूको निक्षेपमा नै बढी लगानी देखिए तापनि कोषले पूर्वाधारका क्षेत्रमा पनि आफ्नो लगानी बढाएको छ ।
हालसम्म कोषले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, नेपाल वायुसेवा निगमको वाइड बडी जहाज, जनक शिक्षा सामग्री केन्द्र जस्ता क्षेत्रमा आफ्नो लगानी बढाएको छ । उसले निगमको जहाज खरीदमा रू. १२ अर्ब, माथिल्लो तामाकोशीमा रू. २ अर्ब र जनक शिक्षा सामग्री केन्द्रमा रू. २९ करोड लगानी गरेको छ । कोषको कुल लगानीमा पूर्वाधारको क्षेत्रको लगानीले १३ प्रतिशत हिस्सा ओगटेको छ । कोषका कार्यकारी निर्देशक रमण नेपालले पूर्वाधार क्षेत्रमा लगानी बढाउँदै लगिएको बताए । ‘बैंकको निक्षेपबाट एकैपटक पैसा झिकेर अन्य क्षेत्रमा लगानी गर्न गाह्रो हुन्छ । हामी विस्तारै बैंकको मुद्दतीमा रहेको लगानी कम गर्छाैं र राम्रा पूर्वाधार तथा उत्पादनमूलक आयोजना आएमा लगानी गर्छाैं,’ उनले भने, ‘पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्छ भन्दैमा बचतकर्ताको रकम जोखिममा पर्नेगरी लगानी गर्दैनौं । हामीले सुरक्षित र राम्रो मुनाफा दिनेगरी राम्रो आयोजना छनोट गरेर लगानी गर्छाैं ।’
कोषले ‘नागरिक लगानी कोष, २०४७’ को दोस्रो संशोधन गरेर लगानीको क्षेत्र बढाउने प्रस्ताव पनि गरेको छ । हाल उक्त ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा विचाराधीन छ । उक्त विधेयक पारित भएर ऐनको रूपमा लागू भएपछि लगानीको क्षेत्र थप बढाउन सकिने कार्यकारी निर्देशक नेपालले बताए । ‘अहिले हामी पुरानो कानून अनुसार नै सञ्चालनमा छौं । त्यसले गर्दा पनि लगानी विविधीकरण गर्न सकिएको छैन,’ उनले भने, ‘अब नयाँ ऐन लागू भए पछि लगानीको क्षेत्र बढाउने अवस्थामा पुग्छौं ।’
कोषले स्टक डिलर कम्पनी स्थापना गरेर पूँजी बजारमा बजार निर्माताको काम गर्ने तयारी पनि गरेको छ । यसका लागि उसले गत फागुनमा नागरिक स्टक डिलर कम्पनी स्थापना गरिसकेको छ । हाल सो कम्पनीको सञ्चालनका लागि आवश्यक कार्यविधि तथा नीतिहरू बनाउने काम भएको छ । सम्भवतः अबको २ महीनाभित्र कम्पनीले स्टक डिलरको काम शुरू गर्ने कार्यकारी निर्देशक नेपालले जानकारी दिए ।