यस वर्ष एनएमबि बैंकले वाणिज्य बैंकमध्ये सबैभन्दा बढी ३५ प्रतिशत लाभांश दिएको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा बैंकले रू. १ अर्ब ६३ करोड नाफा कमाएको छ । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ११ करोड रहेको छ । हाल बैंकको चुक्तापूँजी रू. ११ अर्ब ५२ करोड ९७ लाख छ भने जगेडा कोषमा रू. ५ अर्ब २१ करोड १५ लाख रहेको छ । यस अवधिमा बैंकले रू. १ खर्ब २६ अर्बभन्दा बढी निक्षेप संकलन भएको छ भने रू. १ खर्ब १३ अर्बभन्दा बढी कर्जा प्रवाह गरेको छ । प्रतिशेयर आम्दानी रू. २३ दशमलव २२ रहेको यस बैंकको अन्तिम शेयरमूल्य बिहीवार रू. ३८६ कायम भएको छ ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको ओपनिङ सेतो मारोबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिन बढ्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ३९ दशमलव ६१ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १२ दशमलव २७ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिक भएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ३८६ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ३८० मा टेवा र महँगिएमा रू. ४४८ मा प्रतिरोध पाउने देखिन्छ ।