ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२ % ले कारोबार घट्दा ३६ मिनेट अघिनै नेप्से बन्द, १० करोडभन्दा बढीको कारोबार

२०७७ बैशाख, ३०  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

वैशाख ३०,  काठमाडौं । कारोबार बन्द भएको ५० दिनमा खुलेको नेपालको शेयर बजार मंगलवार २ दशमलव शून्य २ प्रतिशतले घटेपछि निर्धारित अवधिभन्दा ३६ मिनेट अघिनै बन्द भएको छ । 

लकडाउनका विच विशेष परिस्थितिमा २ घण्टाका लागि खोलिएको बजार मंगलवार २५ दशमलव ३० अंकले घटेर १ हजार २२६ दशमलव १५ विन्दुमा बन्द भएको हो । 

यस दिन १ घण्टा २४ मिनेट खुलेको बजारमा रू. १० करोड ४४ लाख ९९ हजार बराबरको कारोबार भएको छ । यस दिन २९२ कम्पनीको १ लाख ६ हजार ४१२ कित्ता शेयर कारोबार भएको हो । 

यस दिन कारोबारमा आएका ११ समूहकै परिसूचक घटेको छ । यस दिन नागरिक लगानीकोषको सबैभन्दा बढी रू. ८ करोड ८८ लाख ५७ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीले उक्त रकम बराबरको नागरिक लगानीकोषको शेयर खरीद गरेको नेप्सेले जानकारी दिएको छ ।

एकै दिन २५ प्रतिशत नेटवर्थ गुमाएको भन्दै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बजार खोल्नुको अर्थ नभएको बताए । अनलाईन कारोबार प्रणााली परिक्षण कालमै रहेको भन्दै यसलाई माध्यम बताएर बजार खोल्नाले लगानीकर्ताहरुले एकै दिन २५ प्रतिशत नेटवर्थ गुमाउनु परेको रौनियारको भनाइ छ ।

कारोबारमा २५ प्रतिशत मार्जिन अनिवार्य गरेकाले पनि समस्या भएको रौनियारको आरोप छ । उनले यसरीनै बजार घट्दै जाने हो भने आम लगानीकर्ताहरु मार्जिन कलको समस्यामा पर्ने हुदाँ समयमै समाधानको उपाय खोज्न बोर्डलाई आग्रह गरेका छन् ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले एक दिनको कारोबारलाई हेरेर आत्ति हाल्नुपर्ने अवस्था नभएको बताए । बजार घट्यो भन्दैमा बन्द गर्न नहुने बताउंदै उनले पछिल्लो केहि दिनको कारोबारलाई हेरेर आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

 उनले भने, ‘यो विषम परिस्थितिमा बजार खोल्नुको अर्थ हामीसँग भएको अनलाईन कारोबार प्रणालीमा बढीभन्दा बढी लगानीकर्ताहरुलाई जोड्र्ने मुख्य उदेश्य हो ।’
 यद्यपि जानी–जानी बजार बढाउन र घटाउन लागेको अवस्था भए निर्ममतापूर्वक कारवाही गर्ने उनले प्रष्ट पारे । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख चन्द्र सिंह साउदले अहिलेको बजार यहि क्षेत्रमा निर्भर भएका लगानीकर्ताहरुले शेयर कारोबार गर्ने गरी खोलिएको जानकारी दिएका छन् । 
उनले सामान्य अवस्थामा नभई विशेष परिस्थितिमा खोलिएकाले अत्यावश्यक अवस्थाका लगानीकर्ताहरु मात्र कारोबारमा सहभागि भएको बताए । 

अनलाईन कारोबार प्रणालीमा कुनै समस्या नभएको बताउंदै साउदले धेरैजसो लगानीकर्ता अफलाईन कारोबारमै रमाएकाले समस्या भएको बताए । बजार घट्दा सबैभन्दा बढी क्षति लगानीकर्तालाई हुने हुँदा अनलाईन प्रणालीसँग जोडिन उनले अनुरोध गरेका छन् ।

गत चैत १० गतेदेखि बन्द रहेको शेयर कारोबार हालको अवस्थालाई ध्यान दिएर केहि नयाँ व्यवस्था लागू गर्दै खोलिएको हो । 

यस अघि दैनिक ५ घण्टा कारोबार हुँदै आएकोमा हाललाई दैनिक २ घण्टा (विहान ११ देखि १ बजे ) सम्म खुल्ला गरिएको हो । नेप्से परिसूचक २ प्रतिशतले घटे वा बढेमा सो दिनको कारोबार बन्द हुने नयाँ व्यवस्था अनुसार मंगलवार १२ बजेर २४ मिनेटमा कारोबार बन्द गरिएको हो । 

अघिल्लो कारोबार दिन चैत ९ गते रू. १६ खर्ब १९ करोडभन्दा बढी रहेको बजार पूँजीकरण मंगलवार रू. १५ खर्ब ६७ अर्बमा झरेको छ । लगानीकर्ताहरुले एकै दिन रू. ३२ अर्ब ३४ करोडभन्दा बढी रकम गुमाएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)