कोभिड–१९ को महामारीले निम्त्याएको बन्दाबन्दीको समय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको होम डेलिभरी सेवा निकै फस्टायो ।
महामारीको प्रभावका कारण बजार पुगेरै दैनिक उपभोग्य सामानको खरिद गर्न नसकिरहेका उपभोक्तालाई कम्पनीले सुरु गरेको निःशुल्क होम डेलिभरी सेवाले केही मात्रामा भए पनि राहत महसुस गराएको छ ।
नेपालमा बन्दाबन्दी सुरु भएलगत्तै ०७६ चैत २६ गते देखि यस कम्पनीले काठमाडौं उपत्यकाभित्र उपभोग्य वस्तुको होम डेलिभरी सेवा सुरु गरेको हो । सुरुवाती चरणमा उपत्यकाको चक्रपथभित्र मात्रै चामल, कर्णालीको सिमी र फापरको होम डेलिभरी गरिएको थियो ।
बन्दाबन्दीमा दैनिक उपभोग्य सामानहरुलाई उपभोक्ताका घरघरमै डेलिभरी गर्नका लागि कम्पनीले ७८ लाख ७२ हजार रुपैयाँ खर्चेर ३ वटा गाडी खरिद गरेको छ भने दैनिक रुपमा करिब १० जना कर्मचारी त्यसमा खटिएका छन् ।
सुरुमा चक्रपथभित्र मात्रै सेवा सञ्चालन गरेको कम्पनीले हाल सस्तो डिलसँग सहकार्य गरेर चक्रपथबाहिर करिब ५ किलो मिटर दूरीसम्मका स्थानमा सेवा दिइरहेको छ ।
निजी कम्पनीसँगको सहकार्यसँगै केराउ, घिउ, आँटा, स्टिम राइसलगायत खाद्यान्नका प्रकारसँगै इन्डक्सन चुल्हो र स्यानिटाइजरसमेत डिजिटल माध्यमबाट बिक्री थालिएको छ ।
बन्दाबन्दीको समय उपभोक्तालाई खाद्य संकट हुन नदिनका लागि कम्पनीले काठमाडौं उपत्यकाभित्र शूर्यविनायक, लगनखेल, नख्खु, रामशाहपथ र थापाथली गरी ५ ठाउँमा बिक्री केन्द्रसमेत सञ्चालन गरेको छ ।
बन्दाबन्दीमा निःशुल्क होम डेलिभरीको सेवा दिएर उपभोक्ताहरुको मन जितेको यस कम्पनीले आफ्नो सेवालाई उपत्यकाभित्र मात्रै सीमित नगरी उपत्यकाबाहिरका अन्य जिल्लाहरुमा समेत विस्तार गर्ने लक्ष्य राखेको छ । सोही रणनीतिअनुसार हाल सुर्खेत जिल्लामा यसको सेवा सुरु भइसकेको छ ।
काठमाडौं उपत्यका र सुर्खेतका उपभोक्ताले सामान अर्डर गर्नका लागि कम्पनीको वेवसाइटमा गएर त्यहाँ दिएको निर्देशनअनुसार अर्डर गर्न सक्ने कम्पनीका वरिष्ठ इन्जिनियर रमेश पन्त बताउँछन् ।
उनका अनुसार सामान अर्डर गरेपछि उपभोक्ताले सामानको मूल्य फोनपे, ई सेवा, खल्ती पेमध्ये कुनै एउटा तिर्न सक्छन् । उपत्यकाबाहिरका जिल्लामा सेवा दिने ठाउँ विस्तार गर्दै जाँदा कम्पनीले आफ्नो छुट्टै मोबाइल एपसमेत निमार्ण गर्ने योजना बनाएको छ ।
अर्डर निश्चित गरेको १ दिनभित्रै कम्पनीले होम डेलिभरी गरिरहेको छ,’ उनले भने । एक जना ग्राहकले कम्तीमा २ हजारदेखि बढीमा ५ हजारसम्मको सामान अर्डर गर्न सक्छन् ।
यससँगै आफ्नो डिजिटल व्यापारमा ७ वटै प्रदेशलाई समेटने गरी तयारी थालेको कम्पनीका महानिर्देशक नेत्रप्रसाद सुवेदी बताउँछन् ।
‘त्यसका लागि हाल कम्पनीले अध्ययन थालेको छ । सम्भवतः यसै वर्षभित्र ७ वटै प्रदेशका राजधानीमा डिजिटल माध्ययमबाट व्यापार सुरु गरिसक्नेछ,’ उनले भने । उपत्यकाबाहिरका जिल्लामा सेवा विस्तार गर्न निजी क्षेत्रसँग सहकार्य गर्दै जाने कम्पनीको योजना रहेको उनी सुनाउँछन् ।