ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फस्टाउँदै ई–कमर्श व्यवसाय

निर्माणदेखि अटोमोबाइलसम्ममा ई–कमर्शको अभ्यास

२०७७ भदौ, १८  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा author avatar काशीराम बजगाईं

कोरोना भाइरस नियन्त्रण गर्न काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञामा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको अनलाइन डेलिभरी गर्दै आएका ई–कमर्श कम्पनीका सञ्चालकहरूलाई प्रहरीले गत भदौ ११ गते पक्राउ गर्‍यो । त्यसपछि प्रहरीले निषेधाज्ञा अवधिभर यस्तो सेवा सञ्चालन नगर्ने शर्तसहित सोही दिन बेलुकी नै उनीहरूलाई छाडिदियो ।

तर, त्यसको १ साता नहुँदै भदौ १६ गते सरकार उक्त निर्णयबाट पछि हट्यो । अन्ततः काठमाडौं उपत्यकाका स्थानीय प्रशासन निषेधाज्ञामा पनि ई–कमर्श कम्पनीहरूलाई सञ्चालन गर्न दिने निर्णयमा पुगे ।

सरकार पछाडि हट्नुका पछाडि ई–कमर्शको लोकप्रियता नै मुख्य कारण हो । कोरोनाको त्रास बढेसँगै पछिल्लो समय काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा ई–कमर्शमार्फत हुने किनेमल व्यापक रूपमा बढेको छ । उपत्यका स्थानीय प्रशासनहरूले यसलाई रोक लगाएपछि चौतर्फी रूपमा विरोध भयो । यसले नेपालमा ई–कमर्शको सर्वस्वीकार्यता प्रस्टाउँछ, साथै नेपाली समाजमा किनमेलको यो अभिन्न अंग बन्दै गएको पनि बताउँछ ।

कोरोना महामारीको यस समयमा ई–कमर्श व्यवसायको महत्त्व झनै बढेको छ । महामारीको समय ई–कमर्श कम्पनीहरूले दिइरहेको अनलाइन डेलिभरी सेवा सुरक्षित मानिएको छ । यसले गर्दा पनि ई–कमर्श कम्पनीहरूलाई सेवा सुचारुमा रोक नलगाउन सरकार बाध्य भएको हो ।

अहिले नेपालमा ई–कमर्श व्यवसायको ग्राफ बढेको छ । कोरोनाका कारण अन्य व्यवसाय प्रभावित भए पनि ई–कमर्श कम्पनीहरूका लागि भने यो कोसेढुंगा नै सावित हुन लागेको ई–कमर्श व्यवसायीहरू बताउँछन् ।

कोरोनाको त्रासका कारण आम मानिस घरदेखि बाहिर ननिस्कँदा तथा सरकारले नै अत्यावश्यक अवस्थामा बाहेक बाहिर निस्कन रोक लगाउँदा अनलाइनमार्फत नै आवश्यक पर्ने वस्तु किन्नु बाध्यता नै बनेको छ । फलस्वरूप सामान्य अवस्थामा भन्दा ई–कमर्श कम्पनीहरूको व्यवसाय पाँच गुणाले बढेको छ ।

नेपालको ३० वर्षमुनिको ४० प्रतिशत जनसंख्याका युवा अनलाइन सपिङप्रति केही वर्षदेखि नै अभ्यस्त रहँदै आएकोमा कोरोनापछि भने बढी उमेरका व्यक्तिहरू पनि यसप्रति आकर्षित भएका छन् । घरघरमै पुगेर सामान डेलिभरी गर्ने भएकाले संक्रमणको जोखिम कम हुने हुँदा यसप्रति आकर्षण बढेको अनलाइन डेलिभरी सेवा सञ्चालकको साझा फोरमका संयोजक एवम् अनलाइन किनाराका सञ्चालक सागर भट्ट बताउँछन् । ‘अहिले आफ्ना छोराछोरीमार्फत बाआमाले समेत अनलाइनमार्फत सामान अर्डर गर्न थालेका छन्,’ उनले भने । भट्टका अनुसार कोरोनापछि मात्रै ५० प्रतिशत ग्राहक थपिएका छन् ।

नेपालमा अहिले ई–कमर्श कम्पनीहरूले व्यवसायलाई आक्रामक रूपमा विस्तार गर्न थालेका छन् । कोरोना महामारीलाई अवसरका रूपमा उपयोग गरेर कम्पनीहरूले आफ्नो सेवालाई थप गुणस्तरीय बनाउँदै लगेका छन् । नयाँनयाँ प्रडक्ट ल्याउने, लगानी जुटाउने, सेवालाई थप प्रविधिमैत्री बनाउन ई–कमर्श कम्पनीहरूले काम गर्दै आएका छन् ।

यसैबीच गत भदौ ५ गते ई–कमर्श सस्तो डिलले भारतको ई–कमर्श कम्पनी फ्लिपकार्टसँग सीमापार व्यापार शुरू गर्न रणनीतिक समझदारी गरेको छ । सम्झौताअनुुसार अब सस्तो डिलले भारतीय उत्पादनहरू नेपाली ग्राहकलाई विक्री गर्नेछ । सस्तो डिलको आधिकारिक वेबसाइटमै फ्लिपकार्टका निजी ब्रान्ड र अन्य भारतीय सामग्री देखिनेछन् । त्यो सामग्री नेपाली ग्राहकले अडर गरेकै दिन अथवा भोलिपल्ट उपलब्ध गराइने सस्तो डिलले बताएको छ । यस्तै, फ्लिपकार्टको इलेक्ट्रोनिक्स र होम डेकोर, फर्निचरका उत्पादन पनि सस्तो डिलमार्फत नेपाली ग्राहकलाई विक्री गर्न सकिनेछ ।

करीब १ दशकदेखि ई–कमर्श व्यवसायमा सक्रिय अर्बन गर्लले पनि कोराना महामारीकै बीच युजी बजार नामक मोबाइल एप सार्वजनिक गरेको छ । सह-संस्थापकले गत साउन २३ गते उक्त एप सार्वजनिक गरेको थियो । उक्त एपमार्फत आम ग्राहकले खाद्य सामग्रीलगायत वस्तु अडर गर्न सक्नेछन् । २०६८ देखि सञ्चालनमा आएको यस कम्पनीले अनलाइनमार्फत नै केक, टिसर्ट, मेकअपका सामग्रीलगायत वस्तु विक्री गर्दै आएको छ ।

यस्तै, अर्काे ई–कमर्श कम्पनी ग्यापु डटकम कोरोना महामारीकै बीच सञ्चालनमा आयो । केही समयअघि मात्र सञ्चालनमा आएको यस कम्पनीले अहिले व्यापक रूपमा आफ्नो सेवा दिइरहेको छ । अमेरिकी आईटी हब सिलिकन भ्यालीमा रहेर व्यवसाय गर्दै आएका ज्ञानेन्द्र खड्का र नेपालमा आईटी शिक्षामा लगानी गरेका विज्ञान श्रेष्ठले उक्त कम्पनी शुरू गरेका थिए । शुरुआती चरणमा काठमाडौंको थानकोटदेखि काभ्रेपलाञ्चोकको बनेपासम्म होम डेलिभरी गर्ने गरेको उक्त कम्पनीले अहिले भने काठमाडौंसहित बनेपा र पोखराका २३ ओटा आउटलेटमार्फत सेवा दिन शुरू गरेको छ ।

कम्पनीले व्यापार विस्तार गर्ने रणनीतिअनुसार विभिन्न कम्पनीसँग साझेदारी शुरू गर्नुका साथै ग्राहकका लागि थुप्रै सुविधा थपेको छ । कम्पनीले ‘जी–बार’ पनि सञ्चालनमा ल्याएको छ । त्यसअन्तर्गत अल्कोहल र तयारी खाजा चौबीसै घन्टा डेलिभरी गर्न सकिने कम्पनीले बताएको छ । स्न्याक्सको सेवा दिन बाजेको सेकुवा, बीएफसी, श्याम दाइको हाँसको छोइला, हुक्काजसँग साझेदारी गरिएको कम्पनीका निर्देशक ज्ञानेन्द्र खड्काले बताए ।

ग्यापुले काठमाडौंको सिभिल मलका सबै पसलका सामान ग्राहकलाई घरमै निःशुल्क डेलिभरी गर्ने गरी सम्झौता गरेको छ । यो सम्झौतासँगै ग्यापु २ वर्षसम्म सिभिल मलको एक मात्र अनलाइन साझेदारसमेत बनेको छ । यसैगरी सेल्सबेरीका सामान पनि ग्यापुले उपलब्ध गराउँदै आएको छ । सेल्सबेरीमा उपलब्ध १ हजार ४ सयभन्दा धेरै घरायसी सामान ग्राहकले ग्यापुमार्फत घरमै पाउनेछन् ।

भियतनाम र भारतमा समेत सेवा विस्तार गरेको यो कम्पनीले अब दक्षिण एशियाभर नै पहुँच विस्तार गर्ने योजना बनाएको छ ।

कोरोनाको महामारीकै समय अटोमोबाइल क्षेत्र पनि ई–कमर्शमा अग्रसर देखिएको छ । यस अवधिमा अधिकांश सवारीसाधनका शोरूमले आफ्नो सेवा अनलाइनमार्फत दिन थालेका छन् । पहिले अटोमोबाइल व्यवसायीहरूलाई अनलाइनमार्फत मोटरसाइकल, स्कुटरलगायत सवारीसाधन विक्री हुन्छ भन्नेमै विश्वास थिएन । तर, अहिले त्यसको व्यवस्था गरेपछि अनलाइनमार्फत पनि मोटरसाइकल, स्कूटरजस्ता सवारीसाधनको अर्डर आउन थालेको बताउँछन् ।

जगदम्बा मोर्टसले करीब १ वर्षअघि दराज अनलाइन सपिङसँगको सहकार्यमा मोटरसाइकल र स्कूटर विक्री गर्न थालेको थियो । हालसम्म दराजमार्फत उक्त कम्पनीका ४० भन्दा बढी मोटरसाइकल र स्कूटर विक्री भएका छन् । बन्दाबन्दीको अवस्थामा यसप्रति आकर्षण थप बढेको कम्पनीको भनाइ छ ।

जगदम्बाले अहिले आफ्नै वेबसाइटमार्फत मोटरसाइकल किन्न सक्ने प्रणालीको विकास गरिसकेको छ । साथै, अबको केही समयमै भर्चुअल शोरूम बनाउने कम्पनीको योजना छ ।

दराजले पनि अनलाइनमार्फत चारपांग्रे सवारीसाधन किनबेच गर्न मिल्ने व्यवस्था शुरू गर्दै छ ।

सिप्रदी ट्रेडिङ प्रालिको आधिकारिक डिलर शशिला मोटर्स प्रालिले अनलाइनमार्फत टाटाका गाडीहरू विक्री गर्ने व्यवस्था गरेको छ । उक्त कम्पनीले पनि कोरोनाको त्रासलाई दृष्टिगत गर्दै घरमै बसेर गाडी बुकिङ गर्न मिल्ने व्यवस्था गरेको हो । अब आम ग्राहकले उक्त डिलरको आधिकारी वेबसाइटमा गएर गाडी किन्न सक्नेछन् ।

कम्पनीका अनुसार आम ग्राहकले आफूलाई आवश्यक पर्ने जुनसुकै मोडलका नयाँ तथा पूरा गाडी अनलाइनमार्फत अर्डर गर्न सक्नेछन् । साथै, उपभोक्ताले पनि आफूसँग भएका पुरानो गाडी विक्री गर्न चाहे उक्त वेबसाइट अपलोड गरी विक्रीमा राख्न सक्नेछन् । यस्ता अभ्यासले अब अटोमोबाइल क्षेत्र पनि विस्तारै ई–कमर्शमा अगाडि बढेको देखिन्छ ।

ढुवानी क्षेत्रमा काम गर्दै आएको उपाय सिटी कार्गाेले कोरोना महामारीमै मोबाइल एप सार्वजनिक गरेको छ । गत साउन २७ गते कम्पनीले विशेष फिचरसहितको नयाँ एप सार्वजनिक गरेको हो । यस कम्पनीले बन्दाबन्दीको समय खाद्यन्न सामग्री डेलिभरी गर्दै आएको थियो । नयाँ एपमा भने गाडी बुकिङदेखि ट्याकिङसम्मको सुविधा उपभोग गर्न सकिन्छ ।

एपमार्फत कम्पनीका ग्राहकले नजीकको गाडी चालकसँग सम्पर्क गर्न सक्नेछन् । सोही आधारमा ढुवानीका लागि गाडी बुकिङ गर्न सक्नेछन् । त्यसमा लाग्ने शुल्क अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था छ ।

काठमाडौंमा १ वर्षदेखि ढुवानी सेवा दिइरहेको उक्त कम्पनीले आगामी दिनमा विराटनगर, इटहरी, बुटवल, भैरहवा, पोखरा, चितवनलगायत स्थानमा पनि सेवा शुरू गर्ने तयारी थालेको छ ।

यस्तै, कोरोनाको महामारीकै अवधिमा नेपालको प्रिन्टिङ क्षेत्रमा पनि ई–कमर्शको अभ्यास शुरू भएको छ । प्रिन्ट सेवाले नै प्रिन्टिङ क्षेत्रमा पहिलोपल्ट अनलाइन कारोबार शुरू गरेको हो । यसको औपचारिक शुरुआत गत साउनमा भएको हो । कम्पनीले कागज, प्लास्टिक, प्mलेक्स, रेग्जिनलगायत सामग्री अनलाइनमार्फत विक्री गर्ने व्यवस्था गरेको छ ।

आम ग्राहकले उक्त कम्पनीको वेबसाइटमा गएर कुनै पनि प्रकारको छपाइ र डिजाइजनको अर्डर गर्न सक्छन् । त्यसपछि कम्पनीले माग गरिएको सामान तोकिएको ठाउँमा डेलिभरी गर्न सक्ने व्यवस्था गरिएको छ । हाल यो सेवा काठमाडाैं उपत्यकामा मात्र उपलब्ध हुने कम्पनीको भनाइ छ ।

घर निर्माण तथा मर्मत क्षेत्र पनि ई–कमर्शको शुरुआत भएको छ । निर्माण तथा मर्मतसम्बन्धी ई–कमर्श कम्पनी निर्माण साथीले कोरोनाको महामारीबीच पनि आकस्मिक सेवा दिँदै आएको छ । कम्पनीले महामारीको अवस्थामा लम्बिङ, विद्युतीय, एसी, सोलार, रंगरोगन, चुहावट रोकथामलगायत ५० भन्दा बढी सेवा प्रदान गरिरहेको छ ।

मर्मतका लागि आवश्यक सामग्री कम्पनी आफैले प्रबन्ध गर्नेछ । साथै, ग्राहकलाई सहज हुने गरेर आवश्यक रकम अनलाइनमार्पmत भुक्तानी गर्न सकिने व्यवस्था छ । कम्पनीले यसबाहेक इन्जिनीयरिङ परामर्श, डिजाइन, घर निर्माण र घर सजावटको कामसमेत अनलाइनबाटै उपलब्ध गराउने व्यवस्था गरेको छ । यो सेवा पनि हाल काठमाडौंमा मात्र उपलब्ध छ ।

कोरोनाको महामारीलाई अवसरका रूपमा प्रयोग गर्न ई–कमर्श कम्पनीहरूले आफ्नो सेवालाई थप विस्तार गर्दै लगेको देखिन्छ । त्यसको प्रयासले यो महामारी ई–कमर्श व्यवसायका लागि कोसेढुंगा सावित हुने ई–कमर्श कम्पनीहरूको विश्वास छ ।

विश्वमा सामाजिक सञ्जाल शुरू भएसँगै ई–कमर्श कम्पनीहरूको सेवा थालनी भएको मानिन्छ । नेपालमा ई–कमर्श व्यवसाय शुरुआत भएको २० वर्ष भइसकेको छ । सन् २००० मा बालकृष्ण जोशीले ठमेल डटकम नामक ई–कमर्श व्यवसाय शुरू गरेका थिए । सोही कम्पनीलाई नै नेपालको पहिलो ई–कमर्श कम्पनीको रूपमा लिइन्छ । उक्त कम्पनीले विदेशमा रहेका नेपालीले नेपालमा बस्ने जोकोहीलाई पनि पठाएको उपहार डेलिभरीको काम गर्दथ्यो ।

नेपालको ई–कमर्श व्यवसायमा अहिलेसम्म थुपै्र कम्पनी आइसकेका छन् । यद्यपि, ई–कमर्श कम्पनीहरूका विषयमा अझै आधिकारिक तथ्यांक भने छैन । तर, अहिले नेपालमा सयभन्दा बढी ई–कमर्श कम्पनी सञ्चालनमा रहेको मानिन्छ ।

ई–कमर्श व्यवसाय शुरू भएको २० वर्ष भए पनि लामो समय यसको व्यापार फस्टाउन सकेको थिएन । बीचमा दराज, सस्तो डिलजस्ता ठूलाठूला ई–कमर्श कम्पनीहरू आएपछि भने यसको प्रवर्द्धनमा सहयोग पुगेको छ ।

नेपालमा व्यापक रूपमा ई–कमर्श कम्पनी देखिन थालेको सन् २०१० मात्र हो । फोन र सामाजिक सञ्जालको विस्तार भएसँगै शुरू भएको यो व्यवसाय शुरुआती चरणमा चल्न सकेन । फलस्वरूप २०१५ सम्म नेपालमा यस्ता थुप्रै कम्पनी देखापरे र बन्द पनि भए । तर, २०१५ पछि भने विस्तारै चलायमान बन्दै गएको ई–कमर्श व्यवसायमा सन् २०१७ पछि उछाल आयो । विशेषगरी पछिल्लो ३ वर्षयता ई–कमर्श व्यवसाय फस्टाएको पाइन्छ । त्यसमाथि अहिले कारोनाको महामारीका कारण नेपाली ई–कमर्श क्षेत्रले फड्को मार्ने अपेक्षा गरिएको छ । हाल ई–कमर्शमार्फत वार्षिक २० देखि २५ अर्बसम्मको कारोबार हुने गरेको कम्पनीहरू बताउँछन् ।

कोरोनामा अनलाइन डेलिभरी सेवाप्रति आकर्षण बढे पनि सरकार भने यसमा बाधक बनेको उनी बताउँछन् । भदौ दोस्रो साता प्रहरीले निषेधाज्ञामा डेलिभरी सेवा दिइरहेका विभिन्न कम्पनीका ६५ जना चालकलाई पक्राउ गर्नु र सञ्चालकलाई प्रहरी कार्यालयमा बोलाएरै पुनः यो व्यवसाय सञ्चालन नगर्न चेतावनी दिँदा व्यवसायीहरू निरुत्साहित भएको उनको तर्क छ ।

कोरोनाको महामारीमा ई–कमर्श कम्पनीहरूको व्यवसाय ७० प्रतिशतले बढेको बताइन्छ । तर, सरकारले निषेधाज्ञामा बिहान ६ देखि ९ बजेसम्म मात्र सेवा सञ्चालन गर्न दिएको छ ।

‘कोरोनापछि अनलाइन डेलिभरीको माग बढेकामा ७० प्रतिशतसम्म कारोबार अनलाइनमार्फत हुन थालेको थियो । बन्दाबन्दी र निषेधाज्ञाका कारण पसलहरू बन्द हुने तथा छोटो समय खुल्ने भएपछि ई–कमर्श कम्पनीको व्यवसाय बढेको हो,’  युजी बजारकी संस्थापक तथा सीईओ निकिता आचार्य भन्छिन् । सरकारले निषेधाज्ञामा बिहान ६ देखि ९ बजेसम्म टेक एन्ड पिकअपको अवधारणा ल्याई अनलाइन डेलिभरी बन्द गर्न खोजेपछि बजारमा भीड देखिन थालेको र पैसाको कारोबार पनि बढेको आचार्यको भनाइ छ । ‘बन्दाबन्दीमा यस्ता कम्पनीलाई चल्न दिए कोरोना संक्रमणको जोखिम कम हुन्छ । साथै, यो व्यवसायलाई पनि प्रवद्र्धन गर्न सहज हुन्छ,’ उनले भनिन् ।

ग्यापु डटकममा निर्देशक ज्ञानेन्द्र खड्का ई–कमर्शसम्बन्धी मापदण्ड बनाई अब यस्ता कम्पनीलाई नियमन गर्नुपर्ने आवश्यकता औंल्याउँछन् । यस्तै, पछिल्लो समय अनलाइनमा अत्यावश्यक सामानको माग बढेको उनको दाबी छ । तरकारी, खाद्यान्नलगायत कम मूल्य हुने अत्यावश्यक सामानको मात्र माग भएकाले अहिले कारोबार घटेको देखिए पनि माग भने बढेको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)