ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अब डिजिटल बैंकिङ

२०७७ भदौ, १८  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

मुलुकको अग्रणी वाणिज्य बैंक नबिल बैंकले साउन १३ देखि आफ्नो डिजिटल बैंकिङलाई विस्तार गर्‍यो । ‘स्क्यान एन्ड विड्र’ नामको नयाँ सुविधा सञ्चालनमा ल्याउँदै चेकविनै आफ्नो खाताबाट पैसा निकाल्ने प्रविधि नबिलले शुरू गर्‍यो ।

नबिल बैंकको एपमा लगइन भएर त्यहाँ भएको स्क्यानरमार्फत बैंकको काउन्टरमा राखिएको कोडमा स्क्यान गरी खाताबाट पैसा झिक्न सहज बनायो नबिलले । स्क्यान गरेपछि मोबाइल बैंकिङको पासवर्ड तथा झिक्न चाहेको रकम हालेर बुझाएपछि पैसा पाइने व्यवस्था ‘स्क्यान एण्ड विड्र’ले दिएको छ । कोरोना महामारीका कारण भौतिक दूरी कायम गर्नुपर्ने तथा सुरक्षित बैंकिङका लागि ल्याइएको यो सेवा डिजिटल बैंकिङकै एउटा पाटो हो । कोरोना संक्रमण नियन्त्रण गर्न शुरूको ४ महीना लामो बन्दाबन्दी तथा पछिल्लो निषेधाज्ञाका कारण अधिकांश व्यवसाय ठप्प रहे पनि डिजिटल बैंकिङले भने फस्टाउने राम्रो मौका पायो ।

भौतिक दूरी कायम गर्नुपर्ने बाध्यताका कारण यसअघि डिजिटल माध्यमको प्रयोग नगर्ने सर्वसाधारण यसको प्रयोग गर्न बाध्य बने । नतीजा, बिजुलीको बिल, खानेपानी, मोबाइल रिचार्ज, इन्टरनेट, बीमा, किनमेललगायत सबै कारोबारमा डिजिटल बैंकिङ नै सबैको सहयोगी बन्न पुग्यो महामारीको यो समयमा कारोबार डिजिटल बैंकिङ मार्फत गर्नुपर्ने बाध्यता भए पनि अब यसलाई व्यावसायिक भुक्तानीको मुख्य माध्यम नै बनाउनुपर्ने समय आएको सरोकारवालाहरू बताउँछन् ।

यसअघि पनि एयरलाइन्स र बसको टिकट, ट्राभल्स एन्ड टुर्स, शेयर, किस्ता भुक्तानीलगायत काम डिजिटल माध्यमबाट नभएका होइनन् । तर सो अवधिमा भन्दा कोरोना कहरले डिजिटल कारोबार गर्न सहज भएको छ । अब बैंकिङ प्रणालीलाई पूर्ण डिजिटाइजेशनतर्फ लैजानु समग्र बैंकिङ प्रणालीका लागि सुनौलो अवसर पनि हो ।

कोरोना महामारीकै अवधिमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आरटीजीएस (रियल टाइम ग्रस सेटलमेन्ट–तत्कालै भुक्तानी), ईसीसी (इलेक्ट्रोनिक चेक क्लियरिङ), आईपीएस (इन्टरनेट पेमेन्ट सिस्टम), कनेक्ट आईपीएस ई–पेमेन्ट, ई–कमर्श, पीओएस, क्यूआर कोड, वालेटलगायत प्रविधिबाट कारोबार गर्नेको संख्या बढेको छ ।

गत चैतयताको ३ महीनामा मात्र यस्ता प्रविधिबाट ३ करोड ८२ लाख ४९ हजार संख्यामा कारोबार भएको नेपाल राष्ट्र बैंकले तथ्यांक सार्वजनिक गरेको छ । सो माध्यमबाट चैत, वैशाख जेठमा उक्त संख्याका ग्राहकले बैंक तथा वित्तीय संस्थाहरूबाट ४२ खर्ब ४४ अर्ब ५४ करोडको कारोबार गरेको राष्ट्र बैंकले बताएको छ ।

उक्त कारोबारमध्ये मोबाइल बैंकिङबाट मात्रै सर्वसाधारणले ३ महीनामा २७ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार गरेका छन् । यद्यपि बचत खातावाला सबैले भने यो प्रविधि प्रयोग गरेका छैनन् ।

राष्ट्र बैंकका अनुसार गत वैशाखसम्म वाणिज्य, विकास बैंक र वित्त कम्पनीबाट ३ करोड १८ लाख ८५ हजार ७ सय ७९ ओटा निक्षेप खाता खोलिएको छ । तर कोरोना महामारीका कारण चैत ११ देखि बन्दाबन्दी शुरू भएपछि बैंक तथा वित्तीय संस्थाहरूले अनलाइन खाता खोल्ने सुविधा पनि ल्याएकाले यस्तो संख्या बढ्न गएको राष्ट्र बैंकको भनाइ छ ।

बन्दाबन्दी अवधिमा पहिलो पटक मोबाइल बैंकिङ कारोबार गर्ने ग्राहकलाई प्रोत्साहनस्वरूप मनी ब्याक अफर दिएको एनएमबी बैंकका अनलाइन गुनासो शाखाका मन्दीप भट्टराईले बताए । बन्दाबन्दी अवधिमा करीब १७ हजार ग्राहकले मोबाइल बैंकिङ कारोबार गरेको उनले जानकारी दिए ।

यसैगरी कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौड्याल बन्दाबन्दीको ३ महीना अवधिमा मोबाइल बैंकिङबाट मात्रै ३ लाख ५ हजार १ सय ९१ जनाले रू. १ अर्ब ३८ करोड ५१ हजारको कारोबार गरेको बताए । प्रवक्ता पौड्याल कोरोना अवधिमा डिजिटाइजेशनबाट खर्बौंको कारोबार भएको र यसलाई सबैले निरन्तरता दिनुपर्नेमा जोड दिन्छन् । ‘कोरोनाले अब सबैले सम्भव भएसम्म डिजिटाइजेशनलाई प्राथमिकता दिनुपर्छ भन्ने सिकायो । बैंकहरूले खाता खोल्नेदेखि अधिकांश कारोबारलाई अनलाइनमार्फत हुने व्यवस्था गरेका छन्,’ उनले भने, ‘सम्भव भएसम्म बैंकहरूले डिजिटाइजेशन सहज गर्ने संयन्त्रको विकास गर्दै जानुपर्छ र ग्राहकले यसमा आफूलाई बानी पार्नुपर्छ । यसले बैंकमा भीड हुन दिँदैन र ग्राहकलाई कारोबारमा छिटो, सहज र सुरक्षित पनि बनाउँछ ।’

बन्दाबन्दीमा अधिकांश व्यवसाय ठप्प रहँदा वित्तीय कारोबार हुन नसकेको भन्दै राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट यस समयमा डिजिटाइजेशन नभएको भए झन् वित्तीय अभाव सृजना हुने बताउँछन् । डिजिटल कारोबारले जनजीवन सहज बनाएकाले यो अबको मुख्य छनोट भएको उनको तर्क छ । बैंकहरूले अनलाइन खाता खोल्नु र सर्वसाधारणले डिजिटल कारोबार सुरक्षित भएको ठान्नुले यस्तो माध्यम प्रभावकारी हुने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको बुझाइ छ ।

उनका अनुसार पछिल्लो पुस्ता प्रविधिसँग परिचित हुने भएकाले पनि यसको प्रयोग बढाउँदै जानुपर्छ । ‘ग्राहकलाई अनलाइन कारोबारमा बानी पार्न बैंंकहरूले सहजीकरण गर्नुपर्छ । तर, अनलाइनलाई अनिवार्य गरेर अहिल्यै कागजरहित बैंकिङ बनाइहाल्न सकिँदैन,’ शिवाकोटी भन्छन् ।

बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल अब बैंकहरूले क्रमशः कागजरहित कारोबारमा फड्को मार्नुपर्ने बेला आएको बताउँछन् । नेपालमा सबै कारोबार डिजिटाइजेशन गरेर कागजरहित बैंकिङको थालनी गर्ने यो अवसर भएको अध्यक्ष दाहालको ठहर छ । ‘अबको युग डिजिटाइजेशनकै हो । नगद कारोबार जोखिम बनेको छ,’ उनले भने ।

कोरोना र कनेक्ट आईपीएस
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले २ वर्षदेखि शुरू गरेको विद्युतीय माध्यमबाट सम्बन्धित व्यक्तिको खातामा अधिकतम १० लाख रुपैयाँसम्म तत्कालै भुक्तानी हुने ‘कनेक्ट आईपीएस’ बाट कोभिड अवधिमा बढी कारोबार गरेको छ ।

एनसीएचएलका अनुसार यो प्रणालीमार्फत दैनिक कारोबार पहिलो पटक जेठ २६ गतेदेखि रू.२ अर्ब नाघेको छ । विसं २०७५ वैशाखदेखि सञ्चालनमा आएदेखि उक्त रियल–टाइम रिटेल भुक्तानी प्रणालीमा हालसम्मको सबभन्दा बढी कारोबार भएको कम्पनीको दाबी छ ।

कोरोनाका कारण पछिल्लो समय डिजिटल भुक्तानी गर्ने प्रवृत्ति पहिलेभन्दा धेरै बढेको एनसीएचएलका सीईओ निलेशमान सिंह प्रधानले बताए । ‘चैत ११ देखि मुलुककै अर्थतन्त्र चलायमान बन्न नसके पनि जे–जति कारोबार भए, ती अधिकांश अनलाइनमार्फत भुक्तानी भए । चैतमा ईसीसी अर्थात् इलेक्ट्रोनिक चेक क्लियरिङ पनि ह्वात्तै घट्यो । तर आईपीएस तथा कनेक्ट आईपीएसबाट दोब्बर कारोबार भएकाले यसबाट गर्ने प्रचलन बढेको देखियो,’ उनले भने ।

प्रधानका अनुसार कनेक्ट आईपीएस प्रणालीमा हालसम्म ५८ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू आबद्ध छन् । यसमा बैंकका ग्राहकले प्रयोगकर्ताको बैंक खातामा मोबाइल नम्बरका आधारमा तथा अन्य लाभग्राहीको बैंक खाता विवरणको आधारमा सीधै रकम ट्रान्सफर गर्न सक्छन् ।

त्यसका लागि कनेक्ट आईपीएसको छुट्टै लग–इन आवश्यक पर्दैन । यस प्लेटर्फममा उपलब्ध अन्य भुक्तानीमा नेपाल सरकारको राजस्व भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोषसम्बन्धी भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाइल वालेटमा टप अप, शेयर बजारसँग सम्बन्धित भुक्तानी, ई–कमर्श भुक्तानी, स्कुल÷कलेज, इन्स्योरेन्स भुक्तानीलगायत कारोबार गर्न सकिने व्यवस्था छ ।

मोबाइल, वेब, गेटवे र एपीआईजस्ता बहुउद्देश्यीय च्यानलमार्फत सदस्य बैंक तथा वित्तीय संस्थाहरू, भुक्तानी सेवाप्रदायक, भुक्तानी प्रणाली सञ्चालक तथा अन्य संस्थाहरूले उक्त प्रणालीमा भुक्तानी कारोबार गर्न सक्ने व्यवस्था छ । यस प्रणालीमा सम्पूर्ण कारोबार सीधै बैंक खाताबाट हुने गर्छ ।

राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपाल क्लियरिङ हाउसले हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणाली एनसीएचएल ईसीसी, अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (आईपीएस) र अनलाइनमार्फत सर्वसाधारणले सजिलैसँग विद्युतीय भुक्तानी गर्न सक्ने कनेक्ट आईपीएस प्रणाली सञ्चालन गर्दै आएको छ ।

कनेक्ट आईपीएसमार्फत अधिकतम रू. १० लाखसम्म भुक्तानी गर्न सकिन्छ, जुन तत्कालै खातामा जम्मा हुन्छ । तर अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (आईपीएस)मा धेरै रकम अर्थात् अधिकतम रू. २० करोडसम्म ट्रान्सफर गर्न सकिन्छ । यो विशेषगरी सरकारी भुक्तानीका लागि प्रयोग हुन्छ ।

साथै, आईपीएसमार्फत खातामा जम्मा हुन केही समय लाग्छ । आईपीएसमार्फत रेमिट्यान्स पनि अधिकतम रू. १ करोडसम्म ट्रान्सफर गर्न मिल्छ । एनसीएचएलले हाल आप्mना सम्पूर्ण प्रणालीहरूबाट रू. १ लाखभन्दा बढीको दैनिक औसत कारोबार गर्दै आएको छ, जसको दैनिक राफसाफ मूल्य रू. ४० अर्बभन्दा बढी रहेको छ । यद्यपि अन्य भुक्तानी प्रणालीजस्तै कनेक्ट आईपीएस पूर्ण डिजिटल भुक्तानी प्लाटफर्म हो ।

यसले बैंक वित्तीय संस्थाका ग्राहकहरूलाई वैकल्पिक च्यानलमार्फत कारोबार गर्ने व्यवस्था मिलाएको छ । कोभिड–१९ को लकडाउन अवस्थामा अन्य प्रणालीहरूमा कारोबार संख्या कम हुँदासमेत कनेक्ट आईपीएसको कारोबारमा भएको वृद्धिले डिजिटल भुक्तानीको स्वीकार्यता बढेको संकेत गर्दछ ।

विप्रेषण कारोबारमा डिजिटाइजेशन
रेमिट्यान्स कारोबार सीधै लाभग्राहीको बैंक खातामा जम्मा हुनेगरी सुविधा दिन प्रत्यक्ष वा अप्रत्यक्ष सदस्यको रूपमा कनेक्ट आईपीएसको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) मार्फत कारोबार गर्न नेपाल क्लियरिङ हाउसमा विभिन्न रेमिट कम्पनीहरू आबद्ध छन् । यस्ता कम्पनीले प्रणालीमा गत चैत, वैशाख र जेठ महीनाको कुल मासिक कारोबार क्रमशः रू. १३ अर्ब ८ करोड, रू. २४ अर्ब र रू. ३९ अर्ब ५ करोड गरेका छन् ।

यसमध्ये ६४ प्रतिशत कारोबार एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेसमार्फत पेश भएको बताएका छन् ।

धितो कर्जासमेत सोझै खातामा
कर्मचारी सञ्चय कोषले धितो कर्जा विद्युतीय माध्यमबाट सोझै लाभग्राहीको बैंक खातामा जम्मा हुने व्यवस्था शुरू गरेको छ । त्यसका लागि कोषले नेपाल क्लियरिङ हाउसको आईपीएस तथ कनेक्ट आईपीएस विद्युतीय भुक्तानी प्रणालीसँग पूर्ण बैंकिङ रूपमा आबद्ध गराएको छ । सम्पूर्ण भुक्तानी तथा संकलनहरू सोझै बैंक खातामार्फत गर्ने क्रममा कोषले आफ्नो धितो कर्जा स्किम अन्तर्गत स्वीकृत आवास कर्जाको भुक्तानी हालका लागि हिमालयन बैंक तथा एनएमबि बैंक मार्फत गरेको हो ।

लाभग्राहीले कोषमा आफ्नो बैंक खाता अद्यावधिक गराएको अवस्थामा स्वीकृत कर्जा, नेपाल क्लियरिङ हाउसमा आबद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरूमा रहेकोे लाभग्राहीको जुनसुकै बैंकिङ खातामा पनि सो रकम सोझै जम्मा गरिनेछ भने सेवाग्राहीले रकम प्राप्त गर्न बैंक वा कोषको कार्यालय धाउनु पर्दैन ।

यसरी जम्मा हुने रकममध्ये रू. १० लाखसम्मको रकम कनेक्ट आईपीएसमार्फत रियल टाइममा जम्मा हुनेछ तथा सोभन्दा माथिको रकम आईपीएसमार्फत सोही दिन वा अर्को दिन भुक्तानी गरिने व्यवस्था छ ।

अनलाइन खाता खोल्ने प्रचलन बढ्दै
बैंक तथा वित्तीय संस्थाहरूमा उपस्थित नभई पनि बचत तथा मुद्दती खाता अनलाइनमार्फत खोल्न जोड दिएपछि हजारौं ग्राहक लाभान्वित भएका छन् । यसअघि सामान्य ग्राहकले मात्र सीमित बैंकले दिएको अनलाइन सुविधाबाट खाता खोल्न पाउँदा खासै प्रभावकारी नभएको तर बन्दाबन्दीमा भने हजारौं ग्राहकले अनलाइनबाट खाता खोलेर लाभ लिएका छन् । नेपाल बैंकर्स संघले गत फागुनयता वाणिज्य बैंकमा मात्र ९ लाख ४८ हजार ३५० जना निक्षेपकर्ता थपिएको जानकारी दिएको छ ।

यद्यपि, पछिल्लो समय कोरोना कहर तथा बन्दाबन्दीले गर्दा भौतिक दूरी कायम राख्नुपर्ने भएकाले अधिकांश बैंकले वेबसाइटमार्फत अनलाइन खाता खोल्न जोड दिएका थिए । अनलाइन खातालाई लक्षित गरी बैंकहरूले थप प्रचार गर्दै आएका थिए ।

अनलाइनमार्फत खाता खोल्ने शुरुआत नबिल बैंकले ८ वर्षअघि पहिलोपटक गरेको थियो । तर पहिलादेखि शुरू गरे पनि अहिले लकडाउनमा अनलाइन खातालाई बढी चलायमान बनाउन केन्द्रित भई प्रचार थालेकाले प्रभावकारी देखिएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)