ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रविधिमा फड्को मार्दै शेयरबजार

६४ हजारभन्दा बढी अनलाइन प्रयोगकर्ता, २४ प्रतिशतभन्दा बढी अनलाइन कारोबारमा सक्रिय

२०७७ भदौ, १८  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

विसं १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले पहिलोपटक सर्वसाधारणलाई धितोपत्र निष्कासन गरेपछि अनौपचारिक रूपमा शुरू भएको शेयरबजार पछिल्लो समय प्रविधिमैत्री बन्दै गएको छ ।

संस्थागत रूपमा विकास भएको ४४ वर्ष पूरा गरिसकेको नेपालको शेयरबजारको प्राथमिक बजार पूर्ण प्रविधिमैत्री बनिसकेको छ भने दोस्रो बजार पनि प्रविधिमैत्री बन्ने क्रममा छ । प्राथमिक बजारमा शेयर खरीदका लागि अनौपचारिक शुरुआतको करीब ४ दशकको अन्योलपछि विसं २०३३ मा सेक्युरिटी खरीद विक्री केन्द्रको स्थापना भएपछि मात्र शेयरबजारको संस्थागत विकासको थालनी भएको मानिन्छ । प्रारम्भिक अवस्थामा शेयरबजारको व्यवस्थापनका निम्ति तत्कालीन सरकारले नियमन निकायका रूपमा नेपाल धितोपत्र बोर्ड र धितोपत्र कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज स्थापना गरेको थियो । विसं २०५० जेठ २५ गते नेपाल धितोपत्र बोर्डको स्थापना भएको हो भने नेपाल स्टक एक्सचेन्जले विसं २०५० पुस २९ गतेदेखि दोस्रो बजारमा कारोबार थालेको हो ।

नियामक निकायको प्रभावकारी नियमन र बजार सञ्चालकको अन्तरराष्ट्रिय अभ्याससहितको प्रणाली विकासका कारण पछिल्लो समय नेपालको शेयरबजारमा घरमै बसेर पनि कारोबार गर्न सकिने वातावरण बनेको छ । २०७५ साल कात्तिक २० गतेदेखि बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज नेप्सेले विकास गरी सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीलाई लगानीकर्ताले प्रयोगमा ल्याउन थालेका छन् । प्रणाली सञ्चालनको १ वर्ष पूरा हुँदासम्म लगानीकर्ता आकर्षित नभएको उक्त प्रणालीमा पछिल्लो समय भने ५७ हजारभन्दा बढी लगानीकर्ता आबद्ध भइसकेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद अन्तरराष्ट्रिय स्तरको अनलाइन कारोबार प्रणालीमा पछिल्लो समय लगानीकर्ता आबद्ध हुने क्रम बढिरहेको बताउँछन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण सबै क्षेत्र अस्तव्यस्त भइरहेको अवस्थामा नेपालको शेयरबजार भने अनलाइन कारोबार प्रणालीकै कारण सुचारु गर्न सम्भव भएको साउदको तर्क छ ।

हाल दोस्रो बजारमा २ लाख ८७ हजार ८५४ लगानीकर्ता आबद्ध भएको जानकारी दिँदै यीमध्ये २४ प्रतिशत लगानीकर्ता मात्र अनलाइन कारोबारमा आबद्ध भएको उनले जानकारी दिए । अबको परिस्थितिमा सहज तथा स्वस्थ कारोबारका लागि अनलाइनको विकल्प नभएको साउदको भनाइ छ । सबै लगानीकर्ताले घरबाटै अनलाइन कारोबारका लागि युजर नेम र पासवर्ड लिन सकिने वातावरण तयार भइसकेकाले ढुक्क भएर लगानी गर्न सकिने नेप्से प्रमुख साउदको दाबी छ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्ड पनि प्राथमिक बजार पूर्ण प्रविधिमैत्री भइसकेको अवस्थामा दोस्रो बजारमा अनलाइन कारोबार प्रणाली अनिवार्य गराउने तयारीमा छ । बोर्ड अध्यक्ष भीष्मराज ढुंगाना बजार सञ्चालकले प्रणालीमा सुधार गरी सेवा दिइरहेकाले सबै लगानीकर्तालाई उक्त प्रणालीमा आबद्ध हुन आग्रह गर्छन् । प्राथमिक बजारमा जसरी सहज रूपमा शेयर खरीद गरिएको छ, दोस्रो बजारमा पनि अनलाइनमार्पmत सहज तरीकाले शेयर किनबेच गर्न सकिने भएकाले प्रणालीमा आबद्ध हुन सहज भएको ढुंगानाले बताए । अहिलेको परिस्थितिमा अनलाइन प्रणालीका कारण मात्र बजार निरन्तर सञ्चालन गर्न सम्भव भएको उनको भनाइ छ । असहज अवस्थामा अनलाइन कारोबारलाई नै प्राथमिकतामा राख्न बोर्डले निर्देशन दिएकाले सबै लगानीकर्ताले त्यसलाई पछ्याउनुपर्नेमा उनको जोड छ ।

हाल सीमित कर्मचारीमार्फत शेयरबजार सम्बद्ध संस्थाहरूले सेवा दिइरहेका छन् । शेयर कारोबारमा प्रत्यक्ष लगानीकर्ताको सम्पर्कमा रहने ब्रोकर कम्पनीहरूले पनि घरबाटै कारोबार गर्न अपील गरेका छन् । स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष भरत रानाभाट अनलाइन कारोबारका लागि युजर नेम र पासवर्ड लिएका लगानीकर्ता अब सक्रिय हुने अवस्था आएको बताउँछन् । कोरोनाका कारण दिनप्रतिदिन घरबाहिर निस्कन नसक्ने अवस्था सृजना हुँदै गएकाले अनलाइनमार्फत नै कारोबारमा जोड दिनुपर्ने रानाभाटको भनाइ छ ।

प्रविधिमैत्री बन्दै गएको दोस्रो बजारमा भएको कारोबारको राफसाफ पनि ९० प्रतिशत अनलाइनमार्फत हुने गरेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । हाल सीडीएससीमा राफसाफका लागि ५० बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन् । हालको व्यवस्थाअनुसार ३ कार्यदिनभित्र शेयर कारोबारको राफसाफ हुँदै आएको छ । अनलाइनमार्फत शतप्रतिशत कारोबार राफसाफ हुने अवस्था आए त्यसको अवधि घटाउने तयारीमा बोर्ड छ । बोर्डले कारोबारको राफसाफ २ दिनभित्र गर्ने तयारी थालेको छ ।

शेयर कारोबारका लागि प्रविधिमा भएको विकास
शेयरबजारको विकासका लागि पछिल्लो समय प्रविधिलाई नै जोड दिइएको छ । २ वर्ष हुन लागेको अनलाइन कारोबार प्रणालीलाई पूर्ण बनाउनेतर्फ सम्बद्ध पक्षहरू लागिपरेका छन् । यस प्रणालीसँगै मेरो शेयर खाता र हितग्राही खाता आबद्ध गरिसकिएको छ । त्यस्तै अनलाइनमार्फत भएको कारोबारका राफसाफका लागि पनि बैंक खाता इन्टिग्रेटको कार्य भइरहेको छ । हालको अवस्थामा विद्युतीय माध्यमबाट कारोबार भई सोही प्रक्रियाबाटै राफसाफ हुने वातावरण बनेको छ । यसअघि ब्रोकर कार्यालयमै गएर राफसाफका लागि प्रक्रिया पूरा गर्नुपर्ने अवस्था थियो । हाल शेयर कारोबारमा कागजी प्रणालीको पूर्णरूपमा अन्त्य भएको छ ।

सीडीएस एन्ड क्लियरिङले हितग्राही खातालाई व्यवस्थापन गरी सोही खातामार्फत शेयर कारोबार अनिवार्य गरेसँगै कागजी प्रणालीको अन्त्य भएको हो । शेयर कारोबारमा हितग्राही खाता अनिवार्य भएसँगै हाल १८ लाख ४८ हजार ३५९ जनाले त्यस्तो खाता खोलेका छन् । शेयरबजारलाई प्रविधिमैत्री बनाउन सर्वप्रथम प्राथमिक बजारमा विगत २ वर्षअघिदेखि आस्बा प्रणाली लागू गरियो । सीडीएससीले आस्बासम्बन्धी केन्द्रीकृत प्रणाली सी–आस्बा प्रणालीको विकास गरी विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत देशव्यापी रूपमा लागू गरेको छ । यसले गर्दा बैंकिङ पहुँच पुगेका नेपालका अधिकांश ठाउँबाट लगानीकर्ताले प्राथमिक बजारमा धितोपत्र किन्न सक्ने प्रविधिको विकास भएको छ । सी–आस्बा प्रणाली लागू भएसँगै धितोपत्र बाँडफाँट प्रक्रियाको अवधि पनि छोट्टिएको छ । पछिल्लो समय विक्री बन्द भएको १ साताभित्रै आईपीओ बाँडफाँट हुँदै आएको छ । यस प्रणालीको विकाससँगै मेरो शेयर एपको माध्यमबाट लगानीकर्ताले प्राथमिक तथा दोस्रो बजारमा निष्कासन भएका शेयर घरमै बसेर किन्न सक्छन् । यस प्रविधिको विकासबाट शेयर किन्न लामो समय लाइन बस्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ ।

अनलाइनमार्फत प्राथमिक बजारमा निष्कासनमा आएका शेयरमा आवेदन दिनका लागि मेरो शेयर खाता खोल्नेको संख्या ७ लाख १८ हजार रहेको सीडीएससीले जानकारी दिएको छ । दोहोरो हितग्राही खाताका कारण संख्या बढी भए पनि हाल प्राथमिक बजारमा १८ लाखभन्दा बढी हितग्राही खाता र मेरो शेयर खाता खोल्ने ७ लाखभन्दा बढी लगानीकर्तामध्ये करीब ६ लाख मात्र सक्रिय रहेको सीडीएससीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)