ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भुक्तानी प्रणालीमा बढ्दै मोबाइल वालेटको प्रयोग

कोरोना संक्रमणअघि विद्युतीय भुक्तानीप्रति रुचि नराख्ने सर्वसाधारण पछिल्लो समय प्रविधिमा अभ्यस्त हुन थालेका छन् ।

२०७७ भदौ, १८  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

नेपालको भुक्तानी प्रणालीमा विद्युतीय (डिजिटल) भुक्तानी सेवाप्रदायक संस्था ‘वालेट’ प्रचलनमा आएको १ दशकभन्दा बढी भइसकेको छ । तर लामो समयसम्म यसको प्रयोगले विस्तारित हुने अवसर पाएको थिएन । पछिल्लो समय कोरोना भाइरसको त्रासका कारण भुक्तानी प्रणालीमा वालेटको प्रयोग बढ्न थालेको छ ।

नेपालको भुक्तानी प्रणालीमा वालेटको शुरुआत सन् २००९ देखि भएको हो । हालको ई–सेवा फोन–पे प्राइभेट लिमिटेडको ई–सेवालाई नै नेपालको पहिलो वालेटको रूपमा लिइन्छ । ई–सेवाले सन् २००९ देखि विद्युतीय भुक्तानी सेवा शुरू गरेको थियो । त्यसपछि यस्तो सेवा दिने उद्देश्यसहित थप १३ वालेट कम्पनी स्थापना भए । बजारमा १४ मोबाइल वालेट कम्पनी सञ्चालनमा हुँदा पनि यसको प्रयोग उलेख्य रूपमा विस्तार हुन सकेको थिएन ।

तर, अहिले यसको प्रयोगकर्ता थपिएसँगै प्रयोग पनि बढ्न थालेको छ । कोरोनाको डरले अहिले सर्वसाधारण घरबाट बाहिर निस्कन चाहँदैनन् । प्रविधिको प्रयोग गरेर आवश्यक काम घरबाटै गर्न सक्ने सुविधा पनि छ । आर्थिक कारोबार पनि अनलाइनमार्फत नै गर्न थालेका छन् । यसैकारण अहिले आम मानिसमा प्रविधि प्रयोगसम्बन्धी चेतना बढ्दै गएको छ । फलस्वरूप अहिले वालेटको प्रयोगकर्ता पनि बढ्दै गएको सेवाप्रदायक कम्पनीहरू बताउँछन् ।

विशेषगरी अहिले आम मानिसहरूले वालेटमार्फत मोबाइलमा रिचार्ज गर्ने, टिभी, खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी गर्न थालेका छन् । साथै, अनलाइन शपिङमा पनि यसको प्रयोग बढ्न थालेको छ ।

वालेटबाटै सिनेमाको टिकट, हवाई टिकट लिन पाउने, बीमाशुल्क भुक्तानी गर्न मिल्नेलगायतका सुविधा छन् । पहिला केही प्रयोगकर्ताले सीमित कामका लागि मात्र वालेट प्रयोग गर्दथे । कतिपय प्रयोगकर्ताले व्यावसायिक रूपमा नै हवाई टिकट खरीद गर्ने, सिनेमाको टिकट लिनेलगायत काममा यसको प्रयोग गर्दथे ।

वालेटमार्फत खानेपानी, इन्टरनेट तथा बिजुलीको बिल भुक्तानी गर्ने प्रयोगकर्ताको संख्या न्यून थियो । तर, अहिले वालेटमार्फत मोबाइलमा रिचार्ज गर्नेदेखि बिजुलीको बिल तिर्नेसम्मका प्रयोगकर्ताको संख्या बढ्दै गएको कम्पनीहरू बताउँछन् ।

पहिला विद्युतीय भुक्तानीप्रति आम मानिसको विश्वासको कमी र यससम्बन्धी चेतनाको पनि विकास नहुँदा यसको प्रयोग बढेको थिएन । तर, कोरोनाको त्रासपछि आम मानिसले आफूलाई प्रविधिमा अभ्यस्त राख्न थालेका छन् । फलस्वरूप विद्युतीय कारोबारसम्बन्धी पनि चेतना बढ्दै गएको कम्पनीहरूको दाबी छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि पछिल्लो समय वालेटको प्रयोग बढ्दै गएको देखाउँछ । बन्दाबन्दीअघि यससम्बन्धी तथ्यांक कुनै पनि निकायले राखेका थिएनन् । तर, वन्दाबन्दीपछि राष्ट्र बैंकले नै यससम्बन्धी तथ्यांक राख्न थालेको छ । उक्त तथ्यांकअनुसार गत चैत ११ गतेदेखि लगाइएको बन्दाबन्दीपछि यसको प्रयोग ३० प्रतिशतले बढेको सेवाप्रदायक कम्पनीहरू बताउँछन् ।

गत चैत महीनामा मात्रै विभिन्न वालेटमार्फत ४४ लाख ८० हजार पटक कारोबार भएको छ । गत असारमा भने वालेटमार्फत १ करोड १ लाख ७९ हजार पटक कारोबार भएको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार गत चैतदेखि असारसम्म वालेटमार्फत हुने भुक्तानीको संख्या बढ्दो क्रममा छ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले पछिल्लो समय वालेटको प्रयोग बढ्दै गएको बताए । उनले भने, ‘हामीले चैतयता यससम्बन्धी तथ्यांक संकलन गर्दै आएका छौं । पछिल्लो समय वालेटको प्रयोग बढ्दै गएको छ,’ उनले भने, ‘सम्भवतः लकडाउनभन्दा पहिला यो मात्रामा वालेटको प्रयोग हुने गरेको थिएन ।’

यस्तै, वालेट प्रयोगकर्ता पनि बढ्दै गएको कम्पनीहरू बताउँछन् । स्प्यारो पे प्राइभेट लिमिटेड अर्थात् खल्ती वालेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित अग्रवालले बन्दाबन्दीपछि वालेट प्रयोगकर्ताको संख्या बढ्दै गएको बताए । ‘सामान्य अवस्थाको तुलनामा अहिले प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको छ । यसको मुख्य कारण आम मानिसमा डिजिटल कारोबारसम्बन्धी चेतनाको विकास हुनु हो,’ उनले भने, ‘कोरोनाले समग्रमा अर्थतन्त्रलाई त प्रभाव पारेको छ । तर, डिजिटलाइजेशनमा भने महत्त्वपूर्ण सहयोग पुगेको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’

पहिला आम मानिसले सुविधा हुँदाहुँदै पनि न्यून मात्र वालेटमार्फत बिजुली, खानेपानी, इन्टरनेटको बिल भुक्तानी गर्दथे । तर, अहिले वालेटमार्फत बिजुली, इन्टरनेटको बिल भुक्तानी हुने क्रम बढेको उनी बताउँछन् । ‘पहिला मानिसहरूलाई अनलाइनमार्फत खानेपानी, बिजुलीलगायतका बिल पनि तिर्न मिल्छ र भन्ने भ्रम थियो । तर, अहिले त्यो भ्रम हटेको छ,’ उनले भने, ‘अब विस्तारै आम मानिसहरू डिजिटल भुक्तानीमा अभ्यस्त हुँदै छन् ।’

यस्तै, आईएमई पेका सीईओ विकास नहताले पनि बन्दाबन्दीपछि वालेटको प्रयोग बढेको बताए । ‘पहिला मोबाइल बैंकिङका प्रयोगकर्ता धेरै नै थिए तर वालेटको प्रयोग त्यति विस्तार हुन सकेको थिएन,’ उनले भने, ‘बन्दाबन्दीपछि भने सामान्य अवस्थाको तुलनामा यसको प्रयोग बढ्दै गएको छ ।’

बन्दाबन्दीले आम मानिसमा डिजिटल भुक्तानीसम्बन्धी चेतनाको विकास भएको उनी बताउँछन् । ‘पहिला अनलाइनमार्फत भुक्तानी गर्दा पैसा नै हराउँछ भन्ने भ्रम थियो । तर, अहिले त्यो भ्रम तोडिएको छ,’ उनले भने, ‘बन्दाबन्दीमा आम मानिसहरूले बाध्य भएर अनलाइनबाट विभिन्न भुक्तानी गरे । त्यसअघि पनि उनीहरूले सोचेजस्तो कुनै समस्या थिएन ।’

अब उचित ‘प्रडक्ट’ ल्याउन सक्ने हो भने भुक्तानी सेवा क्षेत्रमा वालेटको  प्रयोग व्यापक विस्तार गर्न सकिने उनी दाबी गर्छन् । ‘वालेटलाई यो स्थितिमा ल्याउन हामीलाई अझै केही वर्ष लाग्थ्यो । तर, कोरोनाले गर्दा वालेटले बजार पाएको छ,’ उनले भने, ‘अब यसको दायरा फराकिलो बनाउनतर्फ लाग्नुपर्छ ।’

अब गाडीको भाडा तिर्ने, सामान्य खुद्रा पसलदेखि लिएर ठूल्ठूला डिमार्टमेन्ट स्टोरसम्ममा हुने भुक्तानीमा वालेट प्रयोगलाई बढावा दिनुपर्ने सुझाव उनको छ  । ‘अहिले कुनै वालेट प्रयोगकर्ताले चाहेर पनि पसलको बिल, सवारी साधनको भाडा वालेटमार्फत भुक्तानी गर्न पाएका छैनन् । अब हरेक ठाउँमा अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘यसको विस्तारमा सरकारले नै सहयोग गर्नुपर्छ ।’

बन्दाबन्दीपछि वालेटको कारोबार रकममा भने कमी आएको छ । हवाई टिकट, सिनेमाको टिकट खरीदमै वालेटको बढी प्रयोग हुन्छ । विभिन्न होटल, रेस्टुराँहरूमा पनि यसको प्रयोग हुने गर्छ । बन्दाबन्दीपछि यी सबै क्षेत्र बन्द छन् । फलस्वरूप वालेटको कारोबारमा भने कमी आएको कम्पनीहरू बताउँछन् ।

खल्तीका सीईओ अग्रवाल बन्दाबन्दी शुरू हुनासाथ चैतमा वालेटको कारोबार ३० प्रतिशतमा झरेको बताउँछन् ।  ‘हवाई क्षेत्र, सिनेमा हल तथा अन्य क्षेत्रहरू बन्दा हुँदा हाम्रो कारोबारमा पनि कमी आयो । बन्दाबन्दी खुकुलो भएपछि भने विस्तारै कारोबार बढ्दै गएको छ,’ उनले भने, ‘तर, सामान्य अवस्थाजस्तो कारोबार अझै हुन सकेको छैन ।

अहिले ई–कमर्श, रिचार्ज तथा इन्टरनेटसम्बन्धी भुक्तानी मात्र हुने गरेको छ, जुन न्यून हो ।’ कारोबारमा कमी आएपछि कम्पनीहरूलाई कर्मचारी तथा सञ्चालन खर्च व्यवस्थापन गर्न पनि गाह्रो भएको उनको भनाइ छ । तथ्यांकअनुसार गत चैतमा वालेटमार्फत १ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । गत असारमा भने १० अर्ब २२ करोड रुपैयाँको यस्तो कारोबार भएको छ । चैतयता वालेटमार्फत हुने कारोबार रकम बढ्दो क्रममा रहेको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार बन्दाबन्दीको अवधि अर्थात् चैतदेखि असारसम्म वालेटमार्फत २३ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)