परिवर्तनको विषयमा सोच्ने, बोल्ने र लेख्ने क्रम जारी थियो । जीवनयात्रामा सकारात्मक परिवर्तन अँगाल्न सकेकाले नै अघि बढ्न सफल भएँ भन्ने लाग्छ । परिवर्तन स्वाभाविक भए पनि पछिल्लो समय यसको गति तीव्र छ, त्रिकोणीय रूपमा । परिवर्तनकै कुरा लिएर कसरी पुस्तक निकाल्ने भनी सोचियो । ‘अर्थात परिवर्तन’ को कुरा ‘अर्थात् अर्थतन्त्र’ निस्कनेबित्तिकै भए पनि यसलाई टारिरहेको थिएँ । अब यति ठूलो परिवर्तन भइरहँदा आफूले पनि त्यसको नयाँ आयाम किन अघि नसार्ने भन्ने लाग्यो । नेपालयका किरणकृष्ण श्रेष्ठ, सैजन मास्के र भूषिता वशिष्ठसित छलफल शुरू भयो । लकडाउनमा लेखिएर लकडाउनमै किताब निस्कने देखियो । नेटफ्लिक्सको भाषामा भन्ने हो भने लकडाउनको सिजन वनमा लेखिएको किताब, लकडाउनको सिजन टुमा रिलिज गरियो । मलाई दीपेश आचार्यले थुपै एपबाट किताबको विक्री तीव्र हुन थालेको सुनाए । अर्थात् अर्थतन्त्रको अडियो बुकका निम्ति कुराकानी शुरू भयो । लकडाउनमा रेकर्ड गर्ने निधो भयो र गरियो पनि । तर लकडाउन बढ्दै जाँदा, पुराना किताबभन्दा नयाँ किताबलाई अडियो बुकको रूपमा निकाल्ने सोच आयो । हार्वर्ड बिस्नेज रिभ्युका लेखहरू सुन्ने वा पढ्ने विकल्प हुन्छ, यो किन नेपाली किताबमा पनि नहोस् भन्ने लाग्यो । त्यसैले ई–बुकका रूपमा निकाल्ने प्रक्रिया शुरू भयो । बजारमा नयाँ रूपले जाओस् भनेरै चार सातासम्म हरेक साता एक अध्याय रिलिज गर्ने र त्यसपछि मात्र पूरै किताब ल्याउने कुरा भयो । मेरै अफिसमा पनि नेपालबाहिर पढेर आएका धेरैलाई नेपालीलाई पढ्नभन्दा सुन्न सजिलो लाग्ने हुनाले अडियो पनि सँगै राखियो । यो नयाँ फम्र्याटलाई नयाँ नाम पनि दिइयो– अडियो ई–बुक । सुनौं वा पढांै भनेर प्रोमोहरू अग्रसर भए । यसमा ठूलो संख्यामा किन्ने प्रावधान पनि छ । कुपनहरू हजारौं किनेर ग्राहकलाई बाँड्ने वा उपहारको रूपमा पनि दिन सकिन्छ ।
यो किताबले नेपालको पाठन जगत्मा एउटा नयाँ विकल्प खोलिदिएको छ । करको मारमा किताब ल्याउन गाह्रो भइरहेका बेला लकडाउनले मानिसलाई फोन, ट्याब्लेट र कम्प्युटरमा पढ्ने बानी बसाल्न थाल्यो । पोडकास्ट सुन्ने नयाँ ट्रेन्डले नेपालमा संसारभरि छरिएर बसेका नेपालीभाषीले किताब लेख्न प्रोत्साहन गर्नेछन् । नेपालमा केही स्वघोषित भाषाका विज्ञहरूले लेख्नेहरूलाई विशेषगरी युवा जमातलाई दुरुत्साहित हुनेगरी भाषा केलाउने काम गर्छन् । यो किताबले एउटा नयाँ भाषा पनि ल्याएको छ– ग्लोबल नेपाली । जसरी कम्प्युटरमा भाषा चयन गर्दा नेपालको नेपाली वा इन्डिया भनेर रोज्न सकिन्छ, जुन अब एउटा नयाँ सेग्मेन्ट पनि हुनेछ । अमेरिकाको नेवाडा बस्ने भुटानी मूलका नेपालीभाषी होऊन्, पश्चिम हिमालका नेपालले हारेका भाग होस्, सिक्किम वा भारतका उत्तर पूर्वी राज्यहरू होऊन् वा थाइल्यान्डमा बस्ने बर्मेली मूलका नेपाली भाषी वा हङकङबाट ब्रिटिश नागरिकता लिएर बेलायत बस्ने नेपाली मूलका मानिस नै किन नहोऊन्, उनीहरूलाई अब जोड्ने नेपाली भाषाले अन्तरराष्ट्रिय स्वरूप प्रदान गर्नुपर्नेछ । विश्वमा धेरै बोलिने सय भाषामध्ये नेपाली, सन्तानब्बेऔंमा पर्छ । नेपालीले संसारमा आफ्नो पहिचान दिन भाषाबाटै सक्नेछन् । नेपाली कृतिहरू संसारका अरू भाषामा अनुवाद गरेर होस् वा संसारका विभिन्न भाषामा लेखिएका पढ्नुपर्ने किताब होस्, नेपाली भाषालाई फराकिलो पारिदिनेछ । स्वयंले प्रकाशन गर्ने क्रम नेपालमा धेरै पहिलेदेखि छ । अब पुराना यात्रा संस्मरणदेखि विभिन्न कृतिहरू पनि सुन्न र पढ्न पाउने प्लेटफर्म सृजना भएको छ ।
अर्थात् परिवर्तनमा यिनै प्रकारका परिवर्तनहरूको यात्रा तय गर्ने बाटो देखाउन प्रयास गरेको छु । व्यक्तिगत रूपमा यो यात्रा कहिल्यै थामिनेछैन ।
सुजीव शाक्य नेपाल इकोनोमिक फोरमका अध्यक्ष हुन् ।