नेपाली समाजमा प्रविधिमाथि विस्तारै छलफल हुन थालेको छ । तर, अझै पनि प्रविधिले देशको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा पार्ने प्रभावको बहस शुरू भइसकेको छैन । २१औं शताब्दीको सबभन्दा ठूलो विकास भनेकै प्रविधि हो । अन्य विकसित मुलुकहरूले डिजिटाइजेशनको बाटो भएर त्योभन्दा माथि आर्टिफिसियल इन्टेलिजेन्ससम्मको पहुँच बनाइसकेका छन् । हामी भर्खरै डिजिटाइजेशनको सँघारमा छौं ।
२० वर्ष अगाडिको समाज र अहिलेको समाज हेर्ने हो भने हाम्रो चेतनामा निकै परिवर्तन आएको छ । सामाजिक सञ्जालजस्ता प्रविधिको पहुँचका कारण विश्वलाई नजीकबाट हेर्न र हरेक विषयमा आफ्नो मत जाहेर गर्न सक्ने क्षमता हामीमा विकास भएको छ । यद्यपि, सामाजिक सञ्जालको दुरुपयोग गरेर बर्बादीको बाटोमा लम्किएकाहरूको जमात पनि सानो छैन । तर, यसको सही प्रयोग गर्नेहरूले यसबाट धेरै फाइदा लिएका छन् । प्रविधिको गलत प्रयोग बढेको नेपालमा मात्र होइन, हरेक देशमा छ । यसको कारण नीतिगत बाधा नै हो । नवीनताको शुरुआती चरणमा यस्ता केही कठिनाइ आउँछन् । अन्य देश आर्टिफिसियल इन्टेलिजेन्समार्फत काम गर्न लाग्दा हामीले प्रविधिमाथि पनि किन काम गर्न सकेनौं ? यसको एक मात्र कारण हामीले प्रविधिलाई बुझेर स्वीकार्न नसक्नु नै हो । सामाजिक सञ्जालको बढ्दो प्रयोग र केही नवीनतम प्रविधिमुखी व्यवसायमा हामीले ठूलो सफलता प्राप्त गरिसकेजस्तो लाग्न सक्छ । वास्तवमा हामी प्रविधिको कुरा गर्नुपर्दा कम्प्युटर युगमा टाइप राइटर चलाएजस्तो अवस्थामा छौं ।
संसार एउटै भविष्यतर्फ गइरहेको छ, संसारलाई डोहो¥याइरहेको छ, प्रविधिले । प्रविधिले भूगोल, वर्ग र सामाजिक संरचनालाई छुटाउँदैन । सबैतिर यो समान हुन्छ । त्यसैले विश्व नै यसैलाई भविष्य मानेर हिँडिरहेका बेला ढिलोचाँडो हामीले प्रविधिलाई स्वीकार्नैपर्छ, स्वीकार्नु नै छ ।
यही क्रममा नेपालमा पनि प्रविधिको विकास भइरहेको छ । अन्य क्षेत्रमा प्रविधिको प्रयोग भएको लामै समय भए पनि यातायात क्षेत्रमा भर्खरै शुरू भएको छ । हामीले राइड शेयरिङमार्फत खेर गइरहेको स्रोत प्रयोग गरेर यस्तो सेवा शुरू गर्यौं । यो नयाँ भने होइन, विश्वमा भइरहेकै अभ्यास थियो । तर, विश्वमा छोटो समयमा यसले आप्mनो दरिलो प्रभुत्व जमाए पनि नेपालमा अझैसम्म नीतिगत कठिनाइसम्म सुल्झिन सकेको छैन ।
यद्यपि, छोटो समयमा लोकप्रियता बढेबाटै यसको महत्त्व कति रहेछ भन्ने थाहा हुन्छ । कानूनमा यसलाई नसमेटिएकाले यसलाई गैरकानूनी भन्नेको जमात पनि ठूलो रह्यो । तर, कानूनको अभाव हुनु बेग्लै कुरा थियो । राइड शेयरिङ गैरकानूनी नभईकन कानूनको अभाव भएको क्षेत्र थियो । अहिले काठमाडौंमा करीब ५० लाख मानिस घरभाडामा बस्छन् । यो काठमाडौंमा भएको सीमित स्रोतलाई बाँडिएको हो । यदि राइड शेयरिङ गैरकानूनी हो भने होम शेयरिङ कानूनी कसरी हुन्छ ? त्यसो त घरभाडामा लगाउनु पनि गैरकानूनी हुनुपर्थ्यो । यदि, यस्तो हुने हो भने काठमाडौंको अवस्था के हुन्छ ? त्यसैगरी हामी आफ्नो गाडी पछाडिको सीट खाली राखेर प्रयोग गरिरहेका थियौं । त्यही गाडी त्यही समय त्यही बाटो भएर हिँड्दा कसैलाई यातायातको सेवा पनि दिने र यसबाट रोजगारी पनि सृजना गर्ने नवीनतम सोचका कारण राइड शेयरिङ कम्पनीको स्थापना भएको हो । यसले सबभन्दा महत्त्वपूर्ण देशमै ठूलो मात्रामा रोजगारी सृजना गरेको छ । टुटलको मात्र नभएर पठाओ, सारथिजस्ता अन्य कम्पनीको पनि हिसाब गर्ने हो भने झन्डै ३० हजार बढी मान्छेले यस क्षेत्रमा दैनिक रोजगारी पाएका छन् । ठूलो संख्यामा रोजगारी सृजना हुँदा मान्छेहरू विदेशिनबाट रोकिए, उपभोक्ताले सस्तो र सजिलो सुविधा पाए । सबभन्दा महत्त्वपूर्ण अहिले शारीरिक अशक्तता भएका व्यक्तिहरू यसको प्रयोग गरिरहेका छन् । यसले सेवा मात्र नभएर मानवतामूलक व्यवसायमा आफूलाई स्थापित गर्यो, एउटा छुट्टै उद्योगको विकास भयो । अब यस्ता नवीनतम सोचलाई राज्यले प्रवद्र्धन गर्ने कि नगर्ने भन्ने अहं प्रश्न हो ।
पछिल्लो समय कोभिड–१९ महामारीका कारण विश्वमैै नयाँ तौरतरीकाको जीवनशैली विकास भएको छ । हाम्रा यसअघिका मूल्यमान्यता परिष्कार हुँदै छन् र सम्भवतः यो महामारीपछि हाम्रो जीवनशैलीमा व्यापक परिवर्तन आउनेछ । तर, राइड शेयरिङको महत्त्व अहिलेभन्दा बढ्ने पक्का छ । किनभने जब हामी कुनै सार्वजनिक बसमा चढ्छौं, तब हामी आफ्नो गन्तव्यसम्म पुगुन्जेल सयौं मान्छेसँग सम्पर्कमा आउँछौं— त्यो पनि एउटा बन्द वातावरणमा । तर, राइड शेयरिङको कुरा अलग छ । यात्रु चालकको पछाडि बस्ने हुँदा उसको श्वासप्रश्वाससँग सोझै सम्पर्कमा आउँदैन र यसमा सार्वजनिक बसमा भन्दा संक्रमण फैलिने सम्भावना सयौं गुणा कम हुन्छ । किनभने यसमा एक त संक्रमणका लागि भीड हुँदैन, एउटा व्यक्तिको मात्र सम्पर्कमा आइन्छ । दोस्रो, खुला वातावरण हुन्छ । त्यसैले पनि यसका प्रयोगकर्ता निश्चिततः यो संक्रमणपछि बढ्छन् नै । जहाँसम्म सार्वजनिक यातायातको रोजगारी खोसियो भन्ने आरोप हामीलाई लाग्छ, त्यो गलत हो । हामीले कसैको रोजगारी खोसेका होइनौं, बरु हामी रोजगारी सृजना गर्न आएका हौं । कुनै पनि व्यवसाय व्यवस्थित र चुस्त नभएपछि विकल्पमा त्यसको प्रतिस्पर्धी जन्मिन्छ, उपभोक्ताको बढ्दो आकर्षणले नै राइड शेयरिङ पनि त्यही भएको प्रमाणित हुन्छ । राइड शेयरिङमा व्यवसायीकरण र सुव्यवस्था त छ नै, सेवाग्राहीले आफ्नो रुचिअनुसार प्रयोग गर्न सक्ने विकल्प पनि छ ।
अब छिट्टै नै विश्व प्रविधिको युगमा जाँदै छ । प्रविधिलाई नकार्नु भनेको पतनको बाटोतर्फ अग्रसर हुनु हो । खासमा यो त शुरुआत मात्र हो । प्रविधिमाथि भएको विकासलाई हरेक व्यक्तिसामु पुर्याउनु सरकारको दायित्व हो । नवीनतम सोचलाई प्रवर्द्धन नगरी विकास सम्भव छैन । यसमा परिष्कार गर्नुपर्ने हुन सक्छ । त्यसमा जोड दिनुपर्छ । ४ वर्षअगाडि नेपाली बजारमा आएको मोबाइलले आज व्यापक परिवर्तन भइसक्यो । तर, सोही समय आएका यस्ता प्रविधिमा कुनै परिवर्तन हुन सकेको छैन । कारण हो– नीतिगत समस्या । यो लामो समय हो । यति लामो समयसम्म नीतिगत स्पष्टता हुन नसक्नु सरकारको कमजोरी हो । किनभने यो टुटल, पठाओको मात्र कुरा होइन, समग्र नवीनतम सोचमाथिको निषेध हो । प्रविधिको विकास नहुँदा घाटा कुनै एकाध कम्पनीलाई होइन, देशलाई लाग्छ । यसमा स्पष्ट हुनैपर्छ । राइड शेयरिङमा सधैं नरहन सक्छ तर यो एउटा बाटो हो । यो त्यति ठूलो कुरा पनि होइन । यति सानो कुरामा नीति निर्माणमा लामो समय लाग्नु भनेको पक्कै पनि हाम्रा लागि दूरगामी असर हो । संसारसँगै यात्रा गर्ने हो भने नवीनतम प्रविधिलाई निषेध होइन, संसार कसरी, कुन बाटोमा अघि बढिरहेको छ, त्यसलाई नियाल्न जरुरी छ ।
भट्ट राईडशेयरिङ कम्पनी टुटलका संस्थापक हुन् ।