ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५७ वर्षको यात्रा : नेपालीको जनजीवन सहज बनाउँदै साल्ट ट्रेडिङ कर्पाेरेशन

२०७७ भदौ, २६  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । दशकौंदेखि नेपालमा सहज र सुपथ मूल्यमा खाद्य तथा उपभोग्य वस्तु विक्री गरेर मुलुकको आपूर्ति प्रणालीमा उल्लेख्य सहयोग पुर्‍याइरहेको संस्था हो, साल्ट ट्रेडिङ कर्पोरेशन ।

अहिले कोरोना भाइरस महामारीमा पनि यसले सहज रूपमा उपभोक्ताको घरघरमा खाद्य तथा उपभोग्य सामग्रीहरू पुर्‍याइरहेको छ । कोरोना भाइरस नियन्त्रण गर्न गत चैत ११ गतेदेखि बन्दाबन्दी लगाउँदा शुरूको समयमा ग्यासको चरम अभाव सृजना भयो । अधिकांश व्यापारीले भएका ग्यास लुकाउने काम समेत गरे । त्यही बेला बजारमा हस्तक्षेप गर्दै साल्ट ट्रेडिङले आफूसँग उपलब्ध ग्यास उपभोक्तालाई दिन पछाडि परेन ।

बन्दाबन्दी र निषेधाज्ञाको अहिलेको अवस्थामा साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा ६ ओटा विक्री कक्ष र चारओटा मोबाइल भ्यानमार्फत खाद्य तथा उपभोग्य सामग्रीको विक्री गर्दै आएको छ । उपत्यकाको सतुंगल, कालीमाटी, कोटेश्वर, भक्तपुर र कंलकीमा विक्री कक्ष राखेर यसले सेवा प्रदान गर्दै आएको छ ।

त्यस्तै, चारओटा मोबाइल भ्यानबाट काठमाडौं उपत्यका भर आमउपभोक्ताको घर घरमै सेवा प्रवाह गर्दै आएको छ । उपत्यका बाहिरको शहरमा पनि कम्पनीले आवश्यक सेवा प्रदान गर्दै आएको छ ।

अहिले कृषकले सहज रूपमा युरिया मल पाउन सकेका छैनन् । जिम्मेवारी पाएका अन्य निकायले मल आयात गर्न नसकेको अवस्थामा साल्ट ट्रेडिङ कर्पाेरेशनले मल आपूर्तिलाई प्राथमिकतामा राखेको छ । महामारीकै समयमा ३२ हजार मेट्रिक टन रासायनिक मल आयात गरेको कम्पनी थप मल आयातको तयारीमा छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको स्थापना २०२० भदौ २७ गते भएको हो । तत्कालीन समयमा नेपालमा नून आपूर्तिको विश्वसनीय संयन्त्र थिएन । निजीक्षेत्रले नून आयात गरी विक्री गर्दै आएका थिए । तर त्यसरी विक्री गरीएको नून गुणस्तरीय थिएन । त्यसमाथि यातायात लगायत समस्याका कारण आमनेपालीलाई सहज र पर्याप्त मात्रामा नून पु¥याउन सकिने अवस्था थिएन । त्यसलाई ध्यानमा राख्दै गर्दै तत्कालीन सरकारले यो कम्पनीको स्थापना गरेको थियो ।

शुरूमा नून आपूर्तिका लागि स्थापना गरेको यस कम्पनीले पछिल्ला वर्षहरूमा आफ्नो व्यवसाय र सेवामा ठूलो विविधीकरण गरेको छ ।  

आफ्नो व्यवसायको दायरा फराकिलो पार्दै साल्ट ट्रेडिङ अहिले अत्यावश्यक खाद्यान्न, चिनी, रासायनिक मल, कागज तथा खाना पकाउने ग्यासको कारोबारमा संलग्न छ ।

अहिले यस कम्पनीको चुक्तापूँजी १५ करोड ३५ लाख रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीमा सर्वसाधारणको २१ प्रतिशत शेयर छ भने बाकी सरकार र संस्थागत लगानीकर्ताको छ । सरकारको करीब २२ प्रतिशत शेयर स्वामित्व यस कम्पनीमा छ ।

कम्पनीले नून, चिनी, मैदा, पिठो, सुजी, खानेतेल, दाल, चामल, गेडागुडी, मसला, अखवारी कागज, रासायनिक मल, अनुदानको मल (युरिया, पोटास, डीएपी) र एलपी ग्यासको कारोबार गर्दै आएको छ । त्यसैले हालसम्मका आइपुग्दा कम्पनीले नेपालीको दैनिक जीवनमा आफ्नो पहुँच प्रत्यक्ष पुर्‍याएको देखिन्छ । दुर्गम स्थानमा कम्पनीले अनुदान दिई नून प्रतिकेजी ९ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । हाल कम्पनीको वार्षिक कारोबार १० अर्ब रुपैयाँभन्दा बढीको छ ।

पछिल्ला ५० वर्षयता नेपालले सामना गरेको विषम परिस्थितिमा समेत साल्ट ट्रेडिङले आपूर्ति व्यवस्था चुस्त राख्दै सहज रूपमा दैनिक आवश्यक सामग्री उपलब्ध गराउँदै आएको यसका विभागीय प्रबन्धक व्रजेश कुमार झा बताउँछन् ।

झाका अनुसार नेपालीको जनस्वास्थ्यमा साल्ट ट्रेडिङले ठूलो योगदान दिएको छ । वि.सं. २०२० भन्दाअघि नेपालीले आयोडिनयुक्त नून उपभोग गर्न पाउँदैन थिए । आयोडिनयुक्त नूनको कमीका कारण तत्कालीन समयमा बालबालिकामा गलगाँडको समस्या हुने गथ्र्यो । तर, साल्ट ट्रेडिङले शुरुआती चरणदेखि नै आयोडिनयुक्त नून विक्री गर्न थाल्यो, जसले यो समस्या न्यूनीकरणमा ठूलो सहयोग गर्‍यो । ‘यसमा मुख्य योगदान साल्ट ट्रेडिङ कर्पाेरेशनको नै रहेको छ,’ झाले बताए ।

त्यस्तै, औद्योगिकीकरण तथा वित्तीय क्षेत्र विस्तारमा पनि साल्ट ट्रेडिङले उल्लेख्य योगदान गरेको छ । गोरखकाली रबर उद्योग, नेपाल वनस्पति घ्यू उद्योग, हिमालय खाद्य एवं प्याकिङ उद्योग, नेशनल फाइनान्स, सगरमाथा इन्स्योरेन्स जस्ता संस्थाहरूको स्थापनामा यस कम्पनीको योगदान महत्त्वपूर्ण छ । साल्ट ट्रेडिङले औद्योगिकीकरण र वित्तीय क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको अध्यक्ष लक्ष्मीदास मानन्धर बताउँछन् ।

साल्ट ट्रेडिङले शनिवार आफ्नो ५८औं वार्षिकोत्सव मनाउँदै छ । ५८ वर्षको लामो यात्रा उपलब्धिमूलक भएको अध्यक्ष मानन्धरको भनाइ छ । ‘यो बीचमा धेरै उतावचढावको सामना यस संस्थाले गर्‍यो । तर, पनि यो यात्रा उपलब्धिमूलक नै छ,’ उनले बताए ।

आउँदा दिनमा नयाँ वस्तु र सेवा ल्याउने भन्दा पनि भएका सेवा र वस्तुलाई थप गुणस्तरीय बनाउने योजनामा साल्ट ट्रेडिङ छ । यद्यपि, सरकारबाट सहयोग प्राप्त भएमा थप वस्तुको व्यापार गर्ने योजना पनि रहेको छ । सरकारबाट आवश्यक सहयोग प्राप्त भएमा कृषिक्षेत्रमा आफ्नो सेवा विस्तार गर्ने कम्पनीको भनाइ छ ।

विभागीय प्रबन्धक झाले अबका दिनमा सेवालाई गुणस्तरीय बनाउने विषयलाई नै प्राथमिकतामा राखिने बताए । ‘हामी गुणस्तरमा कुनै पनि कमीकमजोरी हुन दिँदैनौं । गुणस्तरीय सामान किनौं, गुणस्तरीय सामान विक्री गरौं भन्ने मूल मर्मलाई आत्मसात् गरेर संस्थालाई अगाडि बढाउँछौं,’ उनले बताए, ‘साथै सरकारले थप व्यवसाय दिएमा त्यसलाई स्वीकारेर प्रभावकारी रूपमा सञ्चालन गर्न पछि हट्दैनौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)