धितोपत्र दोस्रो बजारमा भदौ ९ गते सूचीकृत भएको यस कम्पनीको शेयर मूल्य सोमवार रु. ४०० कायम भएको छ । भदौ १० गतेदेखि सुरु भएको यस कम्पनीको शेयर कारोबार प्रतिकित्ता रु. ३०६ देखि सुरु भएको थियो । यस कम्पनीले साउन १६ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री गरी साउन २७ गते बाँडफाँट गरेको थियो । नेप्सेमा यस कम्पनीको कुल १ करोड १३ लाख २६ हजार ८२१ कित्ता शेयर सूचीकृत रहेको छ ।
जलविद्युत् क्षेत्रका विभिन्न आयोजनाहरूमा लगानी रहेको यस कम्पनीले चालू आवको पहिलो त्रैमाससम्म रु.३४ लाख ९४ हजार खुद नाफा गरेको छ । गत वर्ष यस अवधिमा कम्पनीको नाफा रु. २१ लाख २९ हजार थियो ।
पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रु. १ दशमलव २३ र प्रतिशेयर नेटवर्थ रु. १०२ दशमलव ९९ छ ।
निष्कर्ष
कम्पनीको ५७ दिनको कारोबार अवधिको अन्तिम दिनमा छोटो टुप्पी भएको कालो शरीरको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य आगामी दिनमा घट्ने संकेत गर्छ ।
आरएसआई न्युट्रल जोन ६५ दशमलव ७० बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन २० दशमलव १० बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ ।
यस्तो अवस्थामा जोखिम पनि मध्यम र प्रतिफल पनि मध्यम प्राप्त हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखाले १४ दिने औसत मूल्यरेखाले तलबाट काटेर माथि गएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।
सोमवारको शेयर मूल्य रु. ४०० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३७४ मा टेवा पाउने र महँगिए रु. ४२७ मा प्रतिरोध पाउने देखिन्छ ।