धितोपत्र दोस्रो बजारमा सबैभन्दा बढी पुँजीकरण भएको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रु. १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार खुद नाफा गरेको छ । यस वर्ष गत वर्षभन्दा कम्पनीको नाफामा ४० प्रतिशतले कमी आएको हो । गत वर्ष यस अवधिमा कम्पनीले रु. २ अर्ब ५४ करोड ६७ लाख ७९ हजार खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको आम्दानीमा कमी आएकाले नाफा घटेको हो ।
गत वर्ष पहिलो त्रैमाससम्म रु. १ अर्ब ५६ करोड ३० लाख ७७ हजार कुल आम्दानी गरेको यो कम्पनीले यस वर्ष सोही अवधिमा रु. १ अर्ब ४६ करोड ९१ लाख ३५ हजार यो आम्दानी गरेको हो ।
यस कम्पनीको चुक्ता पुँजी रु. १५ अर्ब रहेको छ भने जगेडा कोष रकम रु. ७९ अर्ब ६५ करोड ६० लाख २२ हजार रहेको छ । प्रतिशेयर आम्दानी यस वर्ष रु. ४० दशमलव ४७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ यस वर्ष रु. ६३१ दशमलव शून्य ४ रहेको छ । सोमवार यस कम्पनीको अन्तिम शेयर मूल्य रु. ९३५ कायम भएको छ ।
निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजू आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ । आरएसआई ओभर बौज्टजोन ७८ दशमलव २८ बिन्दुमा छ । यसले शेयर खरिद चाप बढी रहेको देखाउँछ ।
कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ११ दशमलव ८५ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम र प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएका छन् ।
हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । सोमवारको शेयर मूल्य रु. ९३५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ७५५ मा टेवा पाउने र महँगिए रु. ९६५ मा प्रतिरोध पाउने देखिन्छ ।