बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको थियो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । बैंकले चालू आवको पहिलो त्रैमासमा रु. ८५ करोड नाफा कमाएको छ ।
गत आवको सोही अवधिमा बैंकले रु. ८२ करोड ८४ लाख नाफा कमाएको थियो । हाल बैंकको चुक्ता पुँजी रु. १० अर्ब ३१ करोड ५५ लाख रहेको छ ।
१० प्रतिशत बोनस शेयर वितरणपछि पुँजी रु. ११ अर्ब ३४ करोड ७० लाख पुग्नेछ । बिहीवार कम्पनीको शेयर मूल्य रु. ३२८ कायम भएको छ ।
निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा स्पिनिङ टप बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको दिशा अन्योलमा रहेको संकेत गर्छ ।
आरएसआई न्युट्रलजोन ५५ दशमलव ५२ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ८ दशमलव ३१ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ ।
यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाको बीचमा छ ।
बिहीवारको शेयर मूल्य रु. ३२८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३१५ मा टेवा पाउने र महँगिए रु. ३४५ मा प्रतिरोध पाउने देखिन्छ ।