ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घर, अपार्टमेन्ट, हाउजिङमा हुने जोखिम न्यूनीकरण गर्न सम्पत्ति बीमा

२०७७ पौष, २४  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । लाखौं, करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएका घर, अपार्टमेन्ट, हाउजिङ तथा व्यावसायिक भवन सम्भावित जोखिमबाट कसरी बचाउने विषयमा चिन्ता छ ? त्यसो भए ‘घर बीमा’ उपयुक्त हुन सक्छ ।

बीमाले नै विभिन्न जोखिमबाट घर, अपार्टमेन्ट तथा व्यावसायिक भवनमा हुने क्षतिलाई आर्थिक रूपमा कमी गर्न सकिन्छ । घर बीमाले नै सम्भावित जोखिमबाट घर, व्यावसायिक भवन, अपार्टमेन्ट तथा हाउजिङलाई आर्थिक सुरक्षा प्रदान गर्न सक्छ ।

पछिल्लो समय घर बीमालाई नै समावेश गर्ने गरी बीमा समितिले सम्पत्ति बीमा निर्देशिका ल्याएको छ । त्यसअनुसार घर, व्यावसायिक भवन, अपार्टमेन्ट र हाउजिङहरूमा हुने अधिकांश जोखिमको बीमा गर्न सकिन्छ । यस्तै, भूकम्प, बाढीलगायतका कारण हुने क्षतिलाई आर्थिक रूपमा न्यूनीकरण गर्न सकिन्छ । विशेषगरी दैवीप्रकोपका कारण हुने जोखिमलाई बीमाले बहन गर्नेछ ।

उक्त निर्देशिकाअनुसार व्यक्तिगत प्रयोजन अर्थात् निजी आवासका लागि बनाइएका घरको घर बीमालेखअनुसार बीमा गर्न सकिछ । यस्तो बीमामा अग्नि तथा चट्याङ, भूकम्प, बाढी तथा जलमग्न, पहिरो तथा जमिन भासिने, आँधी, हुरी–बतास, हुलदंगा तथा हडताल, आतंकवाद, द्वेषपूर्ण कार्यलगायत जोखिम समावेश गरिएको छ ।

यसमा १ करोड रुपैयाँसम्मका घरको बीमा गर्दा प्रतिहजार ५० पैसा बीमाशुल्क लाग्छ । त्योभन्दा बढी मुल्यको घरको बीमा गर्दा भने प्रतिहजार १ रुपैयाँ ५० पैसा बीमाशुल्क लाग्नेछ ।

यस्तै, व्यावसायिक प्रयोजनका भवन (अपार्टमेन्ट, कोलोनी, व्यनवसायिक मल) को भने सम्पत्ति बीमालेखअनुसार बीमा गर्न सकिन्छ । यसमा पनि घरबीमाकै अनुसार जोखिम बहन हुने गर्छ । तर, यसको बीमाशुल्क दर भने महँगो छ ।

यसमा न्यूनतम प्रतिहजार एक रुपैयाँ ५० पैसा बीमाशुल्क लाग्नेछ ।

साथै, निर्माण चरणमा रहेका घर, अपार्टमेन्ट, व्यावसायिक भवनको पनि बीमा गर्न सक्ने व्यवस्था गरिएको छ । अग्ला अपार्टमेन्ट तथा कमर्सियल कम्प्लेक्स अर्थात् निर्माणका चरणमा रहेका व्यावसायिक भवनको कन्ट्याक्टर्स अल रिक्सबाट बीमा गर्दा अग्नि, भूकम्प, बाढी तथा जलमग्न, पहिरो आदिबाट हुने जोखिम बहन हुन्छ ।

यो चरणमा गरिने बीमाले निर्माण अवधिको मात्र जोखिम बहन गर्छ । निर्माण सकिएपछि भने सम्पत्ति बीमाअनुसार छुट्टै बीमा गर्नुपर्ने हुन्छ ।

हाल नेपालमा सञ्चालन भएका २० निर्जीवन बीमा कम्पनीले यस्तो बीमा सुविधा दिँदै आएका छन् । यी सबै प्रकारको बीमाको अवधि १ वर्षको हुनेछ । त्यसअनुसार सम्बन्धित व्यक्तिले हरेक बर्ष बीमालेख नवीकरण गर्नुपर्छ ।

यस्तो बीमामा आफ्नो आवश्यकताअनुसार जोखिमको मात्र बीमा गर्नु बुद्धिमानी ठहर्छ । किनकि, जोखिमकै आधारमा बीमाशुल्क र त्यसका आधारमा कम्पनीले क्षतिपूर्ति दिने भएकाले यसो गर्नु बुद्धिमानी देखिएको हो ।

बीमा प्रस्ताव फाराममा आफूले बीमा गर्न चाहेको घर वा व्यवसायको यथार्थ विवरण भर्नुपर्छ । यसको अर्थ पसल, गोदाम वा स्टक राख्नुपर्ने सामान आदिबारे स्पष्ट खुलाउनुपर्छ ।

घरको मूल्य घटाएर बीमा गर्दा क्षति भएको अवस्थामा दाबी भुक्तानी थोरै हुने भएकाले वास्तविक विवरण भरेर मात्र सम्पत्तिको बीमा गर्नुपर्ने कम्पनीहरू बताउँछन् ।

स्वतःस्फूर्त हुँदैन घरको बीमा
नेपालमा घरको बीमा गर्ने सुविधा पहिलेदेखि नै छ । तर, आम मानिसले स्वतःस्फूर्त रूपमा यस्तो बीमा नगर्ने गरेको कम्पनीहरू बताउँछन् । विशेषगरी निजी आवासका लागि बनाइएका घरको बीमा नगन्य मात्रामा मात्र हुने गरेको कम्पनीहरूको भनाइ छ ।

व्यावसायिक प्रयोजनका लागि बनाइएका भवन, अपार्टमेन्ट तथा हाउजिङको मात्र स्वतःस्फूर्त बीमा हुने गरेको एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील बल्लभ पन्तले बताए ।

साथै, बैंकबाट कर्जा लिएर बनाएका निजी निवासको पनि बीमा हुने गरेको उनको भनाइ छ । ‘बैंकबाट कर्जा लिएर बनाइएका घरको अनिवार्य बीमा गर्नुपर्ने हुन्छ । यसमा बैंकले पनि आवश्यक सहजीकरण गरेको हुन्छ’, उनले भने, ‘तर, निजी निवासको त्यति बीमा हुने गरेको छैन ।’

०७२ को भुकम्पले पनि घर बीमामा अपेक्षाअनुसारको चेतना नल्याएको उनले सुनाए । ‘उक्त भूकम्पले घर बीमामा जुन किसिमको जनचेतना आउँछ भनेका थियौं, त्योअनुसार आएन’, उनले भने, ‘भूकम्पअघि र भूकम्पपछि हुने हुने घर बीमाको व्यवसायमा त्यति ठूलो मात्रामा परिवर्तन देखिएको छैन ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)