ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घर कर्जामा रोजीरोजी ब्याजदर

२०७७ माघ, २  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । अहिले बैंकहरूले घर कर्जामा स्किम दिएरभन्दा बढी फ्लटिङ ब्याजदरको कर्जा प्रवाहमा जोड दिइरहेका छन् । यतिबेला बैंकहरूमा अधिक लगानीयोग्य पुँजी भएकाले पनि कर्जा प्रवाहमा जोड बढी देखिएको हो ।

बजार प्रतिस्पर्धी पनि उस्तै छ । निक्षेपको ब्याजदरदेखि कर्जाको ब्याजदरमा बैंकहरू प्रतिस्पर्धी बन्नु स्वाभाविक हो । अहिले बैंकिङ प्रणालीमा तरलता अधिक हुँदा बैंकहरूले निक्षेपको ब्याजदर गत पुसको भन्दा घटाउने घोषणा गरे पनि कर्जाको ब्याजलाई भने तत्कालै घटाएका छैनन् ।

तर, सामान्यतया निक्षेपको ब्याजदर घटाएको करिब १ महिनापछि निर्धारण भएको आधार दर पनि परिवर्तन हुने भएकाले बैंकहरूले आधार दरमा प्रिमियम थपेर ब्याजदर निर्धारण गर्ने गर्छन् । यद्यपि अधिकांश बैंकहरूले त्रैमासिक वित्तीय विवरणको आधारमा रहेको आधार दरमा प्रिमियम थपेर कर्जा प्रवाह गर्ने गरेको बैंकरहरू बताउँछन् ।

यसअनुसार प्रायः गत असोजसम्मको आधार दरमा प्रिमियम थपेर कर्जा प्रवाह गरिरहेका छन् । अपवादमा केही बैंकले भने कात्तिक तथा मंसिरको आधार दरमा पनि कर्जाको ब्याजदर निर्धारण गरेको देखिन्छ ।

विशेषगरी कर्जाको ब्याजदर कम वा बढी हुनुमा उक्त बैंकको आधार दरमा भर पर्दछ । साथै, निक्षेप र कर्जा ब्याजदर अन्तर (स्प्रेड दर) पनि ४ दशमलव ४ प्रतिशतको अनुपातमा राख्नुपर्ने नीतिगत व्यवस्था छ । यसै आधारलाई दृष्टिगत गरेर पछिल्लो समय सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूले घर कर्जाको अवधिअनुसारको ब्याजदर निर्धारण गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको ब्याजदरका कारण रोजीरोजी ग्राहकले बैंकबाट घर कर्जा लिन सक्छन् ।

पछिल्लो समय बैंकहरूले निक्षेपको ब्याजदर घटेपछि निर्धारित आधार दरले गर्दा कर्जाको ब्याजदर पनि घटेको छ । कुनै समय न्यूनतम १४ प्रतिशतदेखि अधिकतम १६ प्रतिशतसम्म पुगेको ब्याजदर अहिले घटेर न्यूनतम ८ प्रतिशत हाराहारी झरेको छ भने बैंकहरूले अधिकतम करिब १४ प्रतिशतसम्म घर कर्जाको ब्याजदर तोकेको पाइन्छ ।
गत पुसमा सार्वजनिक गरेको सूचनामा बैंकहरूको आधार दर सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको ५ दशमलव ७४ प्रतिशत रहेको छ । यस्तै, सबैभन्दा बढी आधार दर सिभिल बैंकको ८ दशमलव ८८ प्रतिशत रहेको छ ।

सोही आधार दरमा बैंकले प्रिमियम थपेर घर कर्जाको ब्याजदर राष्ट्रिय वाणिज्य बैंकले ७ दशमलव २४ प्रतिशतदेखि ८ दशमलव ७४ प्रतिशतसम्म निर्धारण गरेको छ । यसैगरी अधिक आधार दर भएको सिभिल बैंकको भने घर कर्जाको ब्याजदर अवधिअनुसार न्यूनतम ९ दशमलव ३८ प्रतिशतदेखि अधिकतम १३ दशमलव ८८ प्रतिशत रहेको छ ।  
यसैगरी नेपाल बैंकको ६ दशमलव ८१ प्रतिशत आधार दर रहेकामा घर कर्जाको ब्याजदर अवधिअनुसार न्यूनतम ८ दशमलव ३६ प्रतिशतदेखि १० दशमलव ४७ प्रतिशतसम्म निर्धारण गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको ६ दशमलव ७३ प्रतिशत आधार दर रहेकामा घर कर्जाको ब्याजदर अवधिअनुसार न्यूनतम ७ दशमलव ७३ प्रतिशतदेखि ११ दशमलव ७३ प्रतिशतसम्म निर्धारण गरेको छ ।

यसअघि स्किममा घर कर्जाको ब्याजदर ७ दशमलव ७५ प्रतिशतमा दिए पनि अहिले सकिएको र फ्लोटिङ ब्याजदरमै दिन थालेको नबिल बैंकका डेपुटी महाप्रबन्धक मनोज ज्ञवालीले बताए । स्किम अहिले स्थगित गरेपछि ६ दश्मलव ६४ प्रतिशत आधार दर भएको नबिल बैंकले घर कर्जाको अवधिअनुसार न्यूनतम ८ दशमलव ४९ प्रतिशतदेखि अधिकतम ११ दशमलव १३ प्रतिशतसम्मको ब्याजदर निर्धारण गरेको छ ।

डेपुटी महाप्रबन्धक ज्ञवालीका अनुसार स्किम सीमित समयका लागि मात्र राखिएकाले अहिले नभएको र फ्लोटिङ ब्याजदरमै कर्जा प्रवाहमा जोड दिइएको हो । ‘डकुमेन्ट पु¥याएर आएका र मूल्यांकन राम्रो भएको धितो छ भने बैंकबाट कर्जा सहजै पाइन्छ । यस्तो कर्जामा राष्ट्र बैंकले तोकेको नियमनअनुसार ऋणीको आयस्रोत ईएमआई, किस्ता तथा ब्याज तिर्न सक्ने क्षमताको छ भने सोहीअनुसार छिट्टै कर्जा प्राप्त गर्न पाउनेछन्,’ उनले भने ।
 
यसैगरी सरकारी स्वामित्वको कृषि विकास बैंकको आधार दर ८ दशमलव ५३ प्रतिशत रहेको छ । उक्त आधार दरमा सो बैंकले गत मंसिरदेखि ५ प्रतिशत प्रिमियम थपेर घर कर्जाको ब्याजदर १३ दशमलव ५३ प्रतिशत निर्धारण गरेको छ ।

यसैगरी ८ दशमलव ६७ प्रतिशत आधार दर भएको सिटिजन्स इन्टरनेसनल बैंकले घर कर्जा न्यूनतम ८ दशमलव ९२ प्रतिशतदेखि अधिकतम १३ दशमलव ६७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसै क्रममा सिटिजन्स इन्टरनेसनल बैंकका प्रवक्ता तथा डेपुटी सीईओ बोधराज देवकोटा समयअनुसार बैंकले निर्धारण गरेको ब्याजदरमा ऋणी इच्छुक भएर तोकिएका सीमा पूरा गरेपछि कम्तीमा ३ दिनभित्र घर कर्जा प्रदान गर्ने गरेको बताउँछन् ।

फ्लोटिङ ब्याजदरमा ब्याज थपघट हुने गर्छ । यसै क्रममा बर्सेनि एउटै ब्याजदरमा कर्जा लिन पनि अहिले स्थिर ब्याजदर लागू भएको छ । सधंै एउटै ब्याजदर भए ढुक्क हुनका लागि राष्ट्र बैंकले यस वर्षदेखि व्यक्तिगत प्रकृतिका आवधिक कर्जामा स्थिर ब्याजदरको नीति लागू गरको छ ।

यो नीतिपछि बैंकहरूले पनि यसलाई अपनाएका छन् । तर, अहिले सस्तो ब्याजमा कर्जा पाउने अवस्थामा महँगो स्थिर ब्याजदरको कर्जामा ग्राहक आकर्षण भने खासै नभएको बैंकरहरू बताउँछन् ।

नबिल बैंकका डेपुटी महाप्रबन्धक ज्ञवाली घर कर्जामा ऋणीहरूको आकर्षण स्थिर ब्याजदरभन्दा फ्लोटिङमै भएको बताउँछन् । स्थिर ब्याजदरबारे राष्ट्र बैंकले भर्खरै संशोधित गरेर परिपत्र जारी गरेकाले अझै समय लाग्ने बताउँदै सिटिजन्स इन्टरनेसनल बैंकका प्रवक्ता तथा डेपुटी सीईओ बोधराज देवकोटाले भने, ‘अधिकांशको आकर्षण फ्लोटिङ ब्याजदरतर्फ नै छ । स्थिर ब्याजदरबारे केन्द्रीय बैंकले भर्खरै व्यवस्थित गरेको छ । स्थिर ब्याजदर अरूभन्दा महँगो हुन्छ । सबै व्यक्तिको आम्दानी एकैनास नहुने भएकाले पनि स्थिर ब्याजदरतर्फ आकर्षित नभएको हुन सक्छ ।’ तर स्थिर ब्याजदरले ग्राहकलाई छनोट गर्ने आधार बनेको बैंकरहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)