महिला उद्यमीका समस्या समाधान गर्न सरकारसँग पहल गर्नेछु
विद्यादेवी भण्डारी
राष्ट्रपति
न्यू बिजनेश एजले देशभरका महिला उद्यमीहरू खोजेर ‘न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्ड’ बाट सम्मान गरेकामा धेरै खुशी लागेको छ । महिला उद्यमशील बन्न त्यति सहज छैन । महिलालाई उद्यमशील बन्न धेरै चुनौती छन् । यो कुरा मैले पनि बुझेकी छु । तर, महिलाहरूले हिम्मत हारेका छैनन् र हार्नु पनि हुँदैन । चुनौती सामना गर्दै अघि बढ्दै जानुपर्छ । महिला उद्यमीहरूलाई सहयोग गर्न सरकारले विभिन्न प्रकारको कार्यक्रम तथा नीतिहरू ल्याएर सहयोग गर्दै आएको जानकारी पाएकी छु । अरू समस्या के–के छन्, जानकारी गराउनु होला । महिला उद्यमीका समस्या समाधान गर्न म सरकारसँग पहल गर्नेछु ।
महिलालाई उद्यमशील बनाउन विनाधितो १५ लाखसम्म ऋण
विष्णु पौडेल
अर्थमन्त्री
महिला र पुरुषबीचको विभेदलाई संविधानले अन्त्य गरे पनि व्यावहारिक रूपमा अझै अन्त्य हुन सकेको छैन ।
न्यू बिजनेश एजले गरेको यो प्रयासले महिला र पुरुषबीचको विभेदलाई समाप्त गर्ने सिलसिलामा महिलाको सम्मान र स्वाभिमान अभिवृद्धि गर्न, महिलामा अन्तरनिहित शीप, क्षमता अभिवृद्धि गर्न धेरै नै उपयोगी छ । अब महिलालाई आर्थिक र सामाजिक रूपमा थप बलियो बनाउन जरुरी छ ।
जबसम्म आधाभन्दा धेरै जनसंख्यामा रहेका महिलाको उत्थान हुन सक्दैन, तबसम्म राष्ट्रको उत्थान हुन सक्दैन । महिलालाई समान हैसियतमा उठाउनैपर्छ ।
संविधानले व्यवस्था गरेको समानतालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने चुनौती राज्य र निजी क्षेत्रसामु रहेको छ । यसलाई सबैको समन्वयमा पूरा गर्नुपर्छ । हामीले राजनीतिक परिवर्तन सम्पन्न गरिसक्यौं, व्यवस्था बदल्यौंं, संविधान निर्माण गर्यौं । अब व्यवस्था परिवर्तनका लागि अर्को कुनै आन्दोलन गर्नु पर्दैन ।
अब राष्ट्रलाई आर्थिक रूपमा समृद्ध बनाउन सबैको ध्यान केन्द्रित हुनुपर्छ । राष्ट्रको आर्थिक समृद्धि अब हाम्रो प्रमुख कार्यसूचीमा हुनुपर्छ । त्यसका लागि हाम्रा प्रयासलाई केन्द्रित गराउनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध राष्ट्र सुखी नेपालीको राष्ट्रिय आकांक्षा अघि सार्नुभएको छ । यो प्रधानमन्त्री, दल विशेषको राष्ट्रिय आकांक्षा होइन । यो साझा राष्ट्रको नै आकांक्षा हो । दल, समूहभन्दा माथि उठेर राष्ट्रको साझा आकांक्षालाई पूरा गर्नुपर्छ ।
यस सन्दर्भमा महिलालाई उद्यमशील बनाउन र उनीहरूलाई आर्थिक रूपमा संलग्न गराउन सरकारले महत्त्वपूर्ण प्रयास गरेको छ । महिलालाई उद्यमशील बनाउन विनाधितो १५ लाखसम्म ऋण दिने गरी सहुलियतपूर्ण कर्जाको प्रबन्ध गरेको छ । महिला उद्यमीका लागि ६ प्रतिशतको ब्याज अनुदानको समेत प्रबन्ध गरेको छ ।
महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने हिसाबले सरकारले यस्ता खाले कर्जा प्रभावकारी रूपमा लागू गर्दै जानेछ । सरकारले गरेका प्रयास भरपूर सदुपयोग गर्न महिलाहरूलाई आग्रह गर्दछु । महिला उद्यमशीलता अभिवृद्धि गर्न सरकारले के गर्नुपर्छ, अहिलेसम्म गरेका प्रयासमा कहाँ कमी–कमजोरी भयो ? अझ सशक्त बनाउन के गर्नुपर्छ, सबैले रचनात्मक सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्छु । जायज सुझावलाई ग्रहण गर्दै सरकार अघि बढ्नेछ । ती सुझावलाई नीति निर्माणमा समेट्दै जाने प्रतिबद्धता जाहेर गर्दछु ।
हामी कोभिड महामारीको चपेटामा एक वर्षदेखि परिरह्यौं । हिजोका दिनमा सरकारले कोभिड उपचारको सम्पूर्ण जिम्मा सुरुमा लियो । आज आइपुग्दा सरकारले भनेको छ, हामी कोभिडविरुद्धको भ्याक्सिन खोजी भइरहेको छ । हामीले विश्वसनीय भ्याक्सिन ल्याएर सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउँछौं । खोप सेवा अभियानलाई बीचमा स्थगित नगरीकनै अघि बढाउने प्रयासमा सरकार छ । खोपको प्रभावकारी प्रयोगसँगै हामीले आर्थिक, सामाजिक क्रियाकलापलाई सुचारु गर्न सक्नेछौं । यसैगरी नै हाम्रो अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन सक्नेछौं र आर्थिक समृद्धिको दिशामा मुलुकलाई अघि बढाउन सक्नेछौं ।
हाम्रो दिमागमा रहेको ‘ग्लास सिलिङ’ तोड्नुपर्छ
जरिन दारुवाला,
अध्यक्ष, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल
नेपाली पर्वतारोहीको एउटा टोलीले असम्भवजस्तै मानिएको जाडोयाममा माउन्ट केटु चढ्ने कठिन चुनौती मोल्यो । ती सबै पुरुष थिए । तर, विदेशी पर्वतारोहीलाई सहयोग गर्ने भूमिकाबाट आफ्नै सफल पर्वतारोहण गर्नु नेपाली पर्वतारोहीको त्यो एउटा फड्को थियो ।
म विश्वस्त छु, कुनै दिन नेपाली महिलाले पनि यो अविश्वसनीय उपलब्धि प्राप्त गरेको हामीले पढनेछौं । मैले साहसिक क्षेत्रको पुरुष वर्चस्व तोड्न र संयुक्त राष्ट्रसंघबाट पनि पहिचान पाएको थ्री सिस्टर्स कम्पनीका बारेमा पनि पढेको छु । यी केही उदाहरणले पनि नेपालले प्राप्त गरिसकेका गर्व गर्नलायक उल्लेखनीय सफलताहरू झल्काउँछ ।
महामारीको असर कम हुँदै जाँदा र काम, साझेदारी र नेटवर्किङ गर्ने नयाँ तरीकाहरू सतहमा आउँदै जाँदा यस्ता परिवर्तनका थप उदाहरण पनि देखिँदै जानेछ भन्ने कुरामा म विश्वस्त छु । भर्चुअल मिटिङ र घरबाटै काम गर्ने प्रवृत्तिले महिलाले लामो समय गर्नुपर्ने यात्राजस्ता अड्चनलाई सहज बनाउने मात्र नभई घरायसी व्यवसायहरूलाई पहिलेभन्दा झनै सम्भव बनाउनेछ । मलाई थाहा छ, नेपालमा पर्यटन, खाना, कृषि र उत्पादनमूलक क्षेत्रमा महिलाको स्वामित्व रहेका थुप्रै व्यवसाय छन् । ५ लाखजति महिला स्वरोजगारमूलक व्यवसायमा छन् । यो राम्रो संख्या हो । तर, सहज वित्तीय पहुँच, प्रविधि, राम्रो वितरण र बजारीकरणले यसलाई अझ बढाउनेछ ।
पूर्वी एशियामा ६० लाख महिलाको स्वामित्वमा रहेका साना व्यवसायमार्फत महिलाहरूले यो क्षेत्रको दिगो विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्न थालिसकेका छन् । महिलाले आफ्नो आर्थिक क्षमता पूर्ण प्राप्त गर्न सकेमा एशिया प्यासिफिकको अर्थतन्त्र वार्षिक ८९ अर्ब अमेरिकी डलरले बढ्ने संयुक्त राष्ट्रसंघको अनुमान छ ।
राष्ट्र बैंकको विनाधितो कर्जामा महिलालाई ६ प्रतिशतसम्म ब्याज अनुदानको नीति प्रोत्साहनमूलक छ । स्ट्यान्डर्ड चार्टर्ड लैंगिक समानताप्रति प्रतिबद्ध छ । नेपालको बोर्डमा ४० प्रतिशत, कुल कर्मचारीमा ४५ प्रतिशत र व्यवस्थापन तहमा २५ प्रतिशत महिला रहेका छन् । महिलाका लागि यी प्रयास राम्रा अवसर भए तापनि हामीले हाम्रो दिमागमा रहेको ‘ग्लास सिलिङ’ तोड्नुपर्छ । कतिपय अवस्थामा हामी आत्मशंका र डरले गर्दा रोकिन्छौं । त्यसविपरीत मल्टिटास्क (धेरै काम सँगसँगै गर्न सक्ने) हाम्रो क्षमता वरिष्ठ तहको भूमिकाका लागि चाहिने महत्त्वपूर्ण योग्यता हो र त्यसले हामीलाई हाम्रो आकांक्षा प्राप्त गर्न आत्मविश्वास दिन्छ ।
महिला सशक्तीकरण बढ्दै छ
शेखर गोल्छा
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
देशभरि पुगेर महिला उद्यमीलाई विभिन्न विधामा अवार्ड दिने कार्य गरेकामा न्यू बिजनेश एजलाई नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट धेरै धन्यवाद व्यक्त गर्दछु । ७ प्रदेशबाट २ हजारभन्दा बढी उद्यमी अवार्डका क्रममा सहभागी हुनुभयो । देशभरमा महिला उद्यमीको संख्या धेरै नहुँदा पनि यो पुरस्कृत संख्यालाई सानो मान्न सकिँदैन । यति धेरै संख्यामा महिला उद्यमीहरू जुट्नु सुखद पक्ष हो । व्यक्तिगत रूपमा भन्नुपर्दा यस्ता कार्यक्रम मेरा लागि महत्त्वपूर्ण छन् । मेरी श्रीमती पनि उद्यमी हुन्, जसले घरमा आम्दानी भिœयाउँछिन् र मजस्ता व्यक्तिलाई यस्ता कार्यक्रममा सहभागी हुने मौका प्रदान गर्छिन् ।
हामीले के स्वीकार गर्नैपर्छ भने पछिल्ला वर्षहरूमा हासिल गरिएका उपलब्धिका बाबजुद महिला उद्यमीको अनुपात पुरुष उद्यमीको तुलनामा कमै रहेको छ । उद्यमी÷व्यवसायीका संघ–संस्थामा प्रतिनिधित्वको स्थितिले पनि यो कुरा दर्शाउँछ । नेपाल उद्योग वाणिज्य महासंघको पछिल्लो निर्वाचनमा पनि एक जना मात्र महिला प्रतिनिधि विजयी हुनुभएको थियो । हामीले थप दुई महिला केन्द्रीय कार्यसमितिमा मनोनीत गरी महिला प्रतिनिधिको संख्या तीन पुर्याएका छौं ।
लैंगिक समानता महिलाको मात्रै नभई व्यावसायिक सवाल पनि हो
अनिर्भन घोष दस्तिदार
सीईओ, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल
दिगो विकास लक्ष्य (एसडीजी) अन्तर्गत रहेको लैंगिक समानता र सबै महिला तथा किशोरीहरूको सशक्तीकरण गर्ने लक्ष्य प्राप्त गर्न अर्थतन्त्रमा महिलाको सशक्तीकरण र लैंगिक विभेदको अन्त्य महत्त्वपूर्ण हुन्छ । महिलाको सशक्तीकरण र लैंगिक सन्तुलनलाई प्रोत्साहन गर्दा पूरै समाजले लाभ लिन सक्छ भन्ने कुरा विभिन्न अध्ययनहरूले पनि पुष्टि गर्छन् । विशेषगरी महिलाका लागि नेतृत्व र रोजगारीका अवसर बढाउन सक्दा कम्पनीहरू लाभान्वित हुन्छन् । त्यसले संस्थागत वृद्धि र प्रभावकारितामा समेत बढ्छ । उच्च व्यवस्थापनको काममा महिलाको राम्रो प्रतिनिधित्व हुने कम्पनीहरूले संस्थागत प्रदर्शनका सबै आयाममा धेरै स्कोर ल्याउने अनुमान गरिन्छ ।
अहिलेको तथ्य के हो भने, कर्पोरेट संसारमा करिअर अगाडि बढ्दै जाँदा विभिन्न कारणले महिलाको प्रतिनिधित्व घट्दो अवस्थामा देखिन्छ । वल्र्ड इकोनोमिक फोरम ग्लोबल जेन्डर ग्याप रिपोर्टका अनुसार वित्तीय सेवाका आधा कर्मचारी महिला छन् । तर, कार्यकारी तहमा महिलाको प्रतिनिधित्व १५ प्रतिशत मात्रै छ । महिला प्रतिभाको सदुपयोग एकदमै कम भएको छ ।
काममा लैंगिक समानता, विविधता र समावेशीकरणमा स्ट्यान्डर्ड चार्टर्डको प्रमुख सहयोग निरन्तर प्रयास हो । हामी के विश्वास गर्छौं भने, लैंगिक समानता महिलाको मात्रै नभई व्यावसायिक प्रश्न पनि हो । अर्थतन्त्र र समुदाय फस्टाउन लैंगिक समानता अत्यावश्यक छ ।
स्ट्यान्डर्ड चार्टर्ड बाह्य कार्यक्रमहरूमा मात्रै होइन, आन्तरिक रूपमा पनि माथिल्लो तहमा लैंगिक समानतालाई प्रश्रय दिन प्रतिबद्ध छ र लैंगिक प्रगतिमा अवरोध बन्नु हँुदैन भन्ने विश्वास राख्छ । हामी हाम्रा कर्मचारीलाई समान अवसर प्रदान गर्ने र उनीहरूको महŒवाकांक्षा प्राप्तिमा सँगै काम गर्ने कुरामा विश्वास गर्छाैं । हामी आपैm उदाहरण बनेर नेतृत्व देखाउनुमा विश्वास गर्छाैं । त्यसैले स्ट्यान्डर्ड चार्टर्डको इतिहासमा यसको बोर्डको नेतृत्व पहिलोपटक महिलाले गर्नुभएको छ । नेपालको उच्च व्यवस्थापन टीममा महिला सदस्यता २५ प्रतिशत पुगेको छ ।
महिला नेतृत्वले विस्तारै भए पनि संसारभर नै पंखा फैलाइरहेको देखिन्छ । महिला उद्यमशीलता र अन्य धेरै क्षेत्रमा नेतृत्वले गर्दा नेपाल पनि त्यसको अपवाद छैन । नेपालमा पनि धेरै महिलाले लैंगिक विभेदसहितका अवरोधहरू भत्काउन र युवा पुस्तालाई प्रोत्साहित गर्न थालेका छन् ।
२०२० मा सबै क्षेत्रले अभूतपूर्व चुनौतीहरू र विश्वभरका अर्थतन्त्रहरूले झट्काको सामना गरे । अहिले पनि भाइरससँगको हाम्रो लडाइँ निरन्तर जारी छ । तर, आर्थिक पुनरुत्थानका लागि उत्साहका साथ अगाडि बढ्दै गर्दा हामीले महिला नेतृहरूको नेपालको आर्थिक प्रगतिमा बराबरी वा अझ महŒवपूर्ण भूमिकाका लागि सहयोग र सुनिश्चित गर्नुपर्छ ।
कोभिड १९ लैंगिक रूपमा पक्षपाती प्रमाणित भइसकेको छ
नोना डिप्रे
नेपालका लागि यूरोपेली संघकी राजदूत
लैंगिक समानता यूरोपेली संघको आधारभूत मान्यतामध्येको एक हो । तसर्थ महिला र किशोरीहरू हामीले गर्ने कार्यहरूको केन्द्रमा सधैं रहने गर्छन् । महिला आर्थिक सशक्तीकरणको क्षेत्रमा यूरोपेली संघको कार्यले महिलाहरूलाई अन्वेषण, समृद्धि र रोजगारीका प्रमुख संवाहकका रूपमा स्वीकार गर्दै आर्थिक र सामाजिक उत्थानशीलतालाई प्रवर्द्धन गर्छ तथा व्यवसाय र अन्तरराष्ट्रिय व्यापारमा समान अवसर तथा स्वच्छ प्रतिस्पर्धालाई पनि प्रवर्द्धन गर्छ । हामीले नेपालमा व्यापार व्यवसायको वातावरण सुधार गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग मिलेर ईयू–नेपाल व्यापार तथा लगानी कार्यक्रम (टीआईपी) कार्यान्वयन गरिरहेका छौं । यसअन्तर्गत व्यापार व्यवसायको वातावरण महिला उद्यमीहरूका लागि अझ बढी खुला तथा समान बनाउने कार्य पनि पर्छ । यस टीआईपी कार्यक्रमले व्यापार व्यवसायसम्बन्धी महिलाहरूको क्षमता अभिवृद्धि गर्ने तथा कफी र पश्मिनाको क्षेत्रमा मूल्य शृंखला (भ्यालू चेन) विकासमार्पmत महिलाको आर्थिक सशक्तीकरणलाई उच्च प्राथमिकतामा राखेको छ । कफी खेतीमा श्रम निकै बढी आवश्यक हुन्छ र यस काममा विशेषगरी ग्रामीण क्षेत्रका गरीब महिलाहरू संलग्न छन् । कफी उत्पादन बढेको खण्डमा नेपालको खास गरी ग्रामीण क्षेत्रमा, विशेष गरी महिला र युवाहरूका लागि नयाँ रोजगारी सृजना हुनेछ । यसो भएमा गरीबी र आप्रवासनको समस्या समाधान गर्न पनि सघाउ पुग्नेछ । विदेशमा पश्मिना निर्यात गर्न मूल्य शृंखला विकास गरेर समावेशी आर्थिक वृद्धि गर्ने महत्त्वपूर्ण अवसर पनि हामीसँग छ । यसले नेपालका दुर्गम क्षेत्रमा आर्थिक विकासका लागि योगदान पुर्याउन सक्छ र विशेष गरी महिलाहरूलाई मूल्य शृंखलामा महत्त्वपूर्ण रोजगारी सृजना पनि हुन सक्छ ।
विश्वभरि नै हामी २०२१ अनिश्चितता साथ शुरू गरिरहेका छौं । किनभने, कोभिड–१९ ले सृजना गरेको संकटबाट बाहिर आउने स्पष्ट मार्गचित्र हामी कसैसँग पनि छैन । महिलाहरूको स्वामित्व भएको व्यवसायमा यसले पारेको प्रभाव, महिलाले खेपिरहनु परेको भार, महŒवपूर्ण कामदारका रूपमा उनीहरूको भूमिका, बढेको घरायसी कामको बोझ र बढ्दो लैंगिक हिंसाको स्थिति हेर्ने हो भने कोभिड–१९ लैंगिक रूपमा पक्षपाती प्रमाणित भइसकेको छ ।
विभिन्न व्यवधानका कारण पुनर्लाभ बाटो कठिन छ, विशेष गरी महिलाका लागि । हामीले अझै राम्रो पुनर्निर्माणका लागि (बिल्डब्याक बेटर) यसलाई अवसरका रूपमा बदल्न जरुरी छ । यस संकटको सन्दर्भमा महिलालाई केन्द्रमा राखेर आगामी आर्थिक पुनरुत्थानको काम गर्न सबभन्दा बढी प्रासांगिक भएको छ । हामीले विगतभन्दा पनि अझ बढी निजीक्षेत्रलाई सँगै लैजान जरुरी छ । पुनर्लाभको कार्यमा निजीक्षेत्रको भूमिकाले न्यायपूर्ण समाजको निर्माणमा बाटा खोल्नुुपर्छ । हामीले विभेदविरुद्ध सकेसम्म लड्नु छ र महिलाहरूलाई सशक्त गर्नु छ ता कि उनीहरूले आआप्नो समुदाय र समाजका लागि अझ राम्रो निर्माण गर्न (बिल्डब्याक बेटर) सकून् र दिगो विकास र सुन्दर विश्व निर्माण गर्न सकून् ।
आगामी दिनमा पनि सक्रिय रूपमा व्यवसायमा लाग्नेछु
महाराज कुमारी रमा राणा मल्ल
लाइफटाइम अचिभमेन्ट अवार्ड २०२१ बाट सम्मानित
मैले होटेलसहित नेपालको व्यापार क्षेत्रमा बिगतमा जुनसेवा गरेँ, त्यसको अहिले मूल्यांकन भएको अनुभव भएको छ । यो अवार्ड पाउँदा म अत्यन्त हर्षित पनि छु । यसले मलाई आगामी दिनमा अझै उत्साहका साथ काम गर्न सहयोग गरेको छ । आगामी दिनमा पनि सक्रिय भएर आफ्नो व्यवसायमा लाग्नेछु ।
मिथिला आर्ट मात्र नभएर मिथिला संस्कृतिको पनि प्रवर्द्धन गर्न खोजेका छौं
तृष्णासिंह भण्डारी
इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दी इयर (प्रदेश २)
हामीले मिथिला आर्टलाई प्रदेश नं २ मा मात्र नभएर देशभर र विश्वमै फैलाउने प्रयास गरेका छौं । हामीले गरेको त्यो प्रयासमा यस अवार्डले थप हौसला मिलेको छ । अबका दिनमा थप उत्साहका साथ मिथिला आर्टलाई प्रवर्द्धन गर्न अगाडि बढ्नेछौं । लोप हुन लागिसकेको मिथिला आर्टलाई हामी महिलाले प्रवर्द्धन गर्ने प्रयास गरेका छौं । अब मिथिला आर्ट मात्र नभएर मिथिला संस्कृतिलाई नै प्रवर्द्धन गर्नेगरी काम गर्न खोजेका छौं ।
अवार्ड पाउँदा थप प्रोत्साहन मिलेको छ
चित्रकली बुढामगर
इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ
दी इयर (लुम्बिनी प्रदेश)
पहिला निकै मेहनत गरेर व्यवसाय गरेका थियौं । त्यसको उचित मूल्यांकन भयो जस्तो लागेको छ । साथै, हामीलाई व्यवसाय अगाडि बढाउन थप प्रोत्साहन पनि मिलेको छ । सरकारले महिला उद्यमशीलताका लागि भनेर सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याएको छ । तर, त्यो अझै सहज रूपमा पाउन सकेका छैनौं । यसमा सरकारले थप सहज नीति ल्याइदिए हामीलाई सहज हुने थियो ।
सुदूरपश्चिम प्रदेशलाई पनि सहभागी गराएकोमा खुशी छु
हीरा भण्डारी
इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ
दी इयर (सुदूरपश्चिम प्रदेश)
यो अवार्ड पाउँदा एकदमै खुशी लागेको छ । महिला उद्यमशीलता सम्बन्धी नेपालमा पहिलोपटक भएको कार्यक्रममा सुदूरपश्चिमका महिलालाई पनि सहभागी गराइएको छ । त्यसबाट म निकै प्रभावित भएको छु । केन्द्रीय स्तरमा हुुने यस्ता कार्यक्रममा सुदूरपश्चिमलाई त्यति समावेश गरेको पाइँदैन । यो कार्यक्रममा सुदूरपश्चिमको प्रतिनिधित्व भएको छ, जुन आफैमा ठूलो कुरा हो ।
कार्यक्रमले महिला उद्यमीलाई थप प्रोत्साहन गर्ने मेरो विश्वास छ । पहिला महिलाले बाध्यताले नै व्यवसाय गर्दथे । तर, अब योजना अनुसार नै महिलाले व्यवसाय गर्न यस कार्यक्रमले प्रोत्साहित गर्नेछ ।
अवार्डले ऊर्जा मिलेको छ
हिमाकुमारी उपाध्याय
इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ
दी इयर (कर्णाली प्रदेश)
यो अवार्ड पाउँदा व्यवसायको प्रवर्द्धन गर्न ऊर्जा मिलेको छ । अबका दिनमा नयाँ नयाँ प्रविधिको प्रयोग गरेर व्यवसायलाई थप प्रभावकारी रूपमा अगाडि बढाउनेछु । यस प्रकारका कार्यक्रम नेपालमा भइराख्नुपर्छ । यसले महिलालाई उद्यमशीलतामा आउन प्रेरित गर्छ ।
अगाडि बढ्न उत्साह
सृजना राणा
बिजनेश वुमन अफ दी इयर २०२१
यो अवार्ड पाउँदा म एकदम भावुक र हर्षित पनि छु । यसले मलाई आफ्नो व्यवसाय र महिला उद्यमशीलताको विकासमा अगाडि बढ्न थप उत्साह मिलेको छ । साथै, आगमी दिनमा महिला उद्यमशीलताको विकासका लागि आफू आबद्ध विभिन्न संस्थाबाट सरकारसँग नीतिगत व्यवस्था गर्न पहल गर्नेछु ।
आर्थिक रूपान्तरण र समृद्धिका लागि महिला सहभागिता अपरिहार्य
भवानी राणा
निबर्तमान अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
व्यापार, व्यवसायमा लागेका महिलाहरूलाई अवार्ड दिन न्यू बिजनेश एजले गरेको कार्यक्रमले उनीहरूलाई अघि बढ्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसले आफ्नो क्षेत्रमा कार्य गर्न महिलाहरूलाई अझ बढी उत्साह प्रदान गरेको छ । अरू महिलालाई पनि यस्ता किसिमका अवार्ड पाउन प्रेरणा मिल्ने मैले बुझेकी छु ।
यस्ता कार्यक्रम हरेक वर्ष हुने हो भने उद्योग वाणिज्य महासंघबाट अवश्य साथ मिल्नेछ । यो कार्यक्रम ऐतिहासिक हो । नेपाली दिदीबहिनीले चुल्हो, खेतमा कोदाली खन्नेदेखि सगरमाथाको शिखर पुग्ने र देशको राष्ट्रपतिसमेत बनेर हामी सबैलाई गौरवान्वित बनाउनुभएको छ । त्यस कारण नेपाली महिलाहरूले अब पछाडि पर्ने होइन, २१औं शताब्दीमा आफ्ना पाइला अझ अगाडि बढाउनुपर्ने महसूस गरेकी छु । दुई दशकदेखि नै यो क्षेत्रमा महिलामाथि हुने हिंसा, भेदभाव अन्त्य गर्नेदेखि महिला उद्यमशीलतामा अघि बढ्नुभएको छ, जुन सुखद हो ।
महिलाका अहिले पनि थ्रुपै चुनौती छन् । नेपाल पुरुषप्रधान पितृसत्तात्मक देश भएकाले अहिले पनि सोचमा परिवर्तन सुस्त ढंगले भइरहेको छ । यो एउटा चुनौती छ भने अर्को वित्तीय पहुँच, महिलालाई पर्याप्त अवसर नहुनु पनि चुनौती नै हो । अहिले हामीले महसुस गरिरहेका अप्ठेराहरू, चुनौतीलाई कसरी समाधान गर्न भन्नेबारे उद्योग वाणिज्य महासंघको महिला समिति क्रियाशील छ । नेपाल सरकारले पनि छ । समाधानका लागि अघि बढ्नुपर्छ ।
पहिला र अहिलेमा धेरै सुधार आए पनि सबै समस्या हल भएका छैनन् । आर्थिक रूपमा सक्षम भए मात्र देश शक्तिशाली हुन्छ । देशलाई शक्तिशाली बनाउन सबै आर्थिक रूपमा सक्षम हुनैपर्छ । आर्थिक रूपान्तरण, विकास, समृद्धिलाई तीव्रताका साथ अघि बढाउनुपर्छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय नारालाई सबै मिलेर साकार पार्नुपर्छ । त्यसका लागि आर्थिक विकास जरुरी छ । अर्थतन्त्रको अझ विकास हुनुपर्छ । अर्थतन्त्रको विकास गर्दा महिला र पुरुषबीचको अन्तरलाई हटाएर दुवैलाई समान हिसाबले अघि बढाउनुपर्छ ।
जहाँ आर्थिक रूपमा महिला सक्षम हुन्छन्, परिवार, समाज आफैं सक्षम हुन्छ । सरकारले लिएका महिलासँग सरोकार राख्ने नीतिलाई हामीले सुझाव दिँदै जाने हो । समस्या हल त सरकारले नै गर्ने हो । कोरोनाले असर गरेको अर्थतन्त्रलाई अघि बढाउन दृष्टिकोणका साथ अघि बढ्नुपर्छ । महिला भएका कारण थु्रपै चुनौती रहे पनि ठूल्ठूला अवसर पनि छन् । तिनलाई हामीले उपयोग गर्न सक्नुपर्छ ।
अवार्ड सबै महिला उद्यमीलाई समर्पण गर्न चाहन्छु
उर्मिला श्रेष्ठ
इन्फलुन्सल बिजनेश वुमन अफ
दी इयर २०२१
यो अवार्ड पाउँदा एकदमै गौरवान्वित महसूस भएको छ । यो अवार्ड म सम्पूर्ण महिला उद्यमीलाई समर्पण गर्न चाहन्छु । साथै, आगामी दिनमा महिला उद्यमशीलताको प्रवर्द्धनमा अगाडि बढ्न हौसला पनि मिलेको छ भने व्यवसायमा आफ्नो दायित्व पनि बढेको अनुभूति गरेको छु ।
सम्मानबाट महिला उद्यमशीलता बढाउन प्रेरणा
विदुषी राणा
निर्देशक, किरण सुज म्यानुफ्याक्चरर्स
‘क्यारिज्म्याटिक वुमन अफ द इयर २०२१’ अवार्डबाट न्यू बिजनेश एजले मलाई सम्मान गरेकोमा निकै खुशी छु । संस्थाले देशभर पुगेर महिला उद्यमीहरू छनोट गरी विभिन्न विधामा जसरी सम्मान गर्यो, यो अत्यन्तै सराहनीय छ । सबैलाई समेटिएको छ । यसले मुख्यगरी महिलालाई उद्यमशीलतामा अझ बढी प्रेरित गर्न यो कार्यक्रमले विशेष भूमिका निर्वाह गरेको छ । साथै, महिला र पुरुषबीचको स्तरलाई समान बनाउनसमेत यो कार्यक्रमको भूमिका राम्रो देखिएको छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुन जरुरी छ ।
उद्यम गर्न चाहने नयाँ अनुहारलाई प्रोत्साहन
केवल भण्डारी
सचिव, राष्ट्रिय योजना आयोग
न्यू बिजनेश एजले महिला उद्यमीलाई गरेको अवार्ड कार्यक्रम एकदमै राम्रो लाग्यो । जुरीले समेत एकदमै राम्रो गरेको छ । यो कार्यक्रमलाई उद्यम गर्न चाहने नयाँ अनुहारलाई समेत प्रोत्साहन गर्नेछ । अहिले उद्यम गरिरहेका महीलाहरुलाई पनि उत्साह अनि प्रेरणा दिएको महसूस मैले गरिरहेको छु । खासगरी छनोट प्रक्रिया पनि राम्रो लाग्यो । देशभर पुगेर नाम सुनेको, पत्रपत्रिकामा पढेको उद्यमीहरू नै सम्मानित हुनु भएको छ । यो अति नै राम्रो हो ।
अब ग्रामीण भेगका महिला उद्यमीलाई पनि समावेश गर्नुपर्छ
एसके तमोट
प्रमुख कार्यकारी अधिकृत,
जनरल इन्स्योरेन्स
महिला उद्यमशीलताको विषयमा न्यूबिजले गरेको यो कार्यक्रम प्रभावकारी लाग्यो । यो कार्यक्रम हरेक वर्ष गर्नुपर्छ । विशेषगरी अब ग्रामीण तथा दुर्गम क्षेत्रका महिलाको उद्यमलाई पनि यस कार्यक्रममा समावेश गर्ने प्रयास गर्नुपर्छ ।
प्रदेशगत रूपमा अवार्ड दिनु सम्मानजनक
कुमार खत्री
प्रमुख कार्यकारी अधिकृत,
अजोड इन्स्योरेन्स
कोरोना महामारीका बीच पनि जुन कार्यक्रम हुनु सुखद पक्ष हो । विभिन्न विद्यामा दिइएको पुरस्कार पनि योग्य व्यक्तिले नै पाएका छन् । यस मामलामा जुरी सदस्यहरूको निर्णय निष्पक्ष देखिएको छ । विशेषगरी प्रदेशगत रूपमै अवार्ड वितरण गरियो, त्यसबाट म एकदमै प्रभावित भएँ । यस कार्यक्रमले महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरेको छु ।
दूरदराजका महिला उद्यमीलाई राम्रो प्लेटफर्म
सतीश मोर
अध्यक्ष, नेपाल उद्योग परिसंघ
महिला उद्यमशीलताका लागि यो कार्यक्रम एकदमै सान्दर्भिक छ । विशेषगरी यसले दूरदराजमा रहेका महिला उद्यमीलाई चिनारी दिने विषयमा राम्रो योगदान दिने देखिन्छ । साथै, महिला उद्यमशीलताको विकासमा पनि ठूलो टेवा पुग्छ । त्यसैले, आगामी दिनमा यस कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।
महिला उद्यमशीलतामा ठूलो योगदान पुग्छ
सञ्जय राजभण्डारी
जीएम, डिसहोस
न्यू बिजनेश एजले गरेको यो कार्यक्रम समग्रमा राम्रो छ । यसले महिला उद्यमशीलतामा ठूलो योगदान पुग्ने मेरो अपेक्षा छ ।
महिला उद्यमीको संख्या बढाउन फलदायक कार्यक्रम
नारायणबाबु लोहनी
प्रमुख कार्यकारी अधिकृत, रिलायबल
नेपाल लाइफ इन्स्योरेन्स
यो कार्यक्रम महिला उद्यमशीलताको विकासका लागि अत्यन्त लाभदायक छ । अझै पनि व्यावसायिक क्षेत्रमा महिला उद्यमीको संख्या कम छ । अबका दिनमा महिला उद्यमीको संख्या बढाउन यस कार्यक्रमले सहयोग पुग्ने देखिन्छ ।
उद्यमशीलतामा आउने महिलाका लागि पनि कार्यक्रम प्रेरणादायी
जोत्स्ना श्रेष्ठ
म्यानेजिङ डाइरेक्टर, म्यारी गोल्ड
न्यू बिजनेश एजले यो एउटा राम्रो कार्यक्रमको शुरुआत गरेको छ । पक्कै पनि यसले महिला उद्यमीलाई हौसला दिएको छ । साथै, उद्यशीलतामा नभएका महिलालाई पनि यो कार्यक्रम देखेर उद्यमशीलतामा आउन प्रेरणा मिल्ने देखिन्छ । आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । अबका दिनमा ग्रामीण भेगका महिलालाई व्यवसाय गर्न आत्मविश्वास जगाउनेगरी कार्यक्रम अगाडि बढाउनुपर्छ ।
न्यू बिजनेश एजले एक नयाँ अभ्यास थालेको छ
शान्ता बास्कोटा कोइराला
प्रबन्ध निर्देशक,
कञ्चनजंघा टि इस्टेट
एण्ड रिसर्च सेन्टर प्रालि
(वुमन आन्ट्रपेनर अफ
दी इयर २०२१)
राज्यले यसअघि पनि उद्यम क्षेत्रमा लागेका महिलालाई प्रोत्साहनस्वरूप सम्मान गर्ने कार्य गर्दै आएको थियो । तर निजिक्षेत्रबाट सञ्चालित मिडियाले नै उद्यमशील महिलालाई यसरी सम्मानित गरेको यो नै पहिलो पटक होला । त्यसैले न्यू बिजनेश एजले नेपालको महिला उद्यम क्षेत्रलाई थप उचाइमा पुर्याउन एउटा नयाँ अभ्यास थालेको महसूस भएको छ ।
यस कार्यक्रमले सबै महिला दिदीबहिनीलाई उद्यमशीलतामा आउन थप हौसला प्रदान गर्नेछ । सबै विधा र क्षेत्रका महिलाहरुलाई समेटन सक्नु नै यस कार्यक्रमको सबैभन्दा राम्रो पक्ष हो ।
महिला उद्यमशीलतालाई प्रोत्साहनको जरुरी छ
चम्पा नेपाल
प्रोप्राइटर, चम्पा शू सेन्टर तथा प्रशिक्षण केन्द्र
प्रदेश १
नेपालमा महिलालाई उद्यमशीलाता अझ बढी विकास गर्न महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न जरुरी छ । जसरी न्यू बिजनेश एजले आज उद्यमशीलतामा लागेका महिलालाई प्रोत्साहन स्वरूप सम्मान गरेको छ । यो काम निकै प्रशंसनीय छ र आगामी दिनमा पनि यस्ता कार्यक्रम भइरहनु जरुरी पनि छ । यसले अन्य महिलालाई पनि उद्यम क्षेत्रमा आउन र आत्मनिर्भर हुन सहयोग गर्छ भन्ने मैले विश्वास लिएकी छु । सरकार र निजीक्षेत्र दुवैले महिलाको स्तर उकास्न र उद्यमशीलतामा लाग्न सबैभन्दा ठूलो कुरा नै कामको प्रोत्साहन र मूल्यांकन हो ।
अवार्ड पाएपछि थप हौसला मिलेको छ
चन्द्रकला बास्कोटा
रिजाल प्लाष्टिक उद्योग भक्तपुर
प्रदेश ३
सर्वप्रथम त अवार्ड पाएपछि मलाई काम गर्नमा अझ थप हौसला मिलेको महसूस भएको छ । हामी जस्ता महिलाको कामको मूल्यांकन गरेर गरिने यस्ता कार्यक्रमले अन्य महिला साथीहरूलाई पनि प्रेरित गर्छ । तर अर्को हिसाबले प्रमाणपत्र तथा अवार्ड पाउनु मात्र पनि ठूलो उपलब्धि होइन । पहिलो कुरा त आफ्नो मेहनत हो । मेहनत गरेपछि कुनै दिन अवश्य त्यसको मूल्यांकन हुन्छ । संघर्ष गरेर आफूलाई त्यो मूल्यांकनको स्थानसम्म ल्याउन सक्नु पर्दछ, जसका लागि राज्यबाट समेत हामी महिलालाई सहयोग हुनु जरुरी भन्ने मलाई लाग्छ ।
अहिले बैंकमा ऋण लिने प्रक्रिया झन्झटिलो भएकाले कतिपय उद्यम गर्न चाहेका महिलाले सजिलै ऋण पाउन सकिरहेका छैनन्, जसले गर्दा उनीहरूको उद्यमको विकासमा बाधा पुगिरहेको पाइन्छ । त्यसैले नीतिगत कुरामा पनि सुधार हुँदै गएमा महिलालाई उद्यमी बन्न तथा उद्यम क्षेत्रमा लाग्न थप उत्साह मिल्न सक्छ ।
कामको पनि मूल्यांकन भएकोमा हर्षित छु
रामकली खड्का
प्रबन्ध निर्देशक, वुमन स्किल्स डेभलपमेन्ट सेन्टर
गण्डकी प्रदेश
आज मेरो कामको पनि मूल्यांकन भएकोमा निकै हर्षित छु । मलाई यस अवार्डले थप हौसला प्रदान गरेको छ । यस्ता कार्यक्रम भोलिका दिनमा अन्य संघसंस्थाले पनि गर्दै जानेमा विश्वस्त छु, जसले हामी जस्तै अन्य महिलालाई पनि समाजमा चिनाउन मद्दत गरोस् भन्ने पनि चाहन्छु ।
एउटा कुरा के भन्न चाहन्छु भन्ने अशिक्षित महिलालाई उद्यम क्षेत्रमा लाग्न बैंकबाट ऋण लिने कार्य निकै झन्झटिलो भएकाले गाह्रो छ । त्यसमा पनि सरकारले ध्यान दिनुपर्ने देखिन्छ । उद्योगधन्दा चलाउनु देशको अर्थतन्त्रलाई चलायमान बनाउँदै अझ बलियो बनाउनु पनि हो । त्यसैले हामी सबैले यस क्षेत्रमा पाइला चाल्नुपर्ने देखिन्छ ।
महिलाको सम्मान नै ठूलो कुरा हो
सुमित केडिया
निर्देशक, सीताराम गोकुल मिल्क्स प्रालि काठमाडौं
मलाई त महिलाको सम्मान गर्नु नै ठूलो कुरा हो भन्ने लाग्छ । चाहे त्यो कुनै एउटा घरको कुरा होस् वा समग्र देशको कुरा होस्, महिलाको सम्मान हुन जरुरी छ ।
न्यू बिजनेश एजले उद्यमशीलतामा लागेका १२ जना महिलालाई सम्मान गरेको छ । भोलि यिनै महिलाबाट उत्प्रेरित भएर अझ बढी महिला उद्यम क्षेत्रमा लाग्न सक्छन् । त्यसैले हामी जस्ता निजी उद्योगले पनि यसरी समाजमा केही फरक काम गर्न सकेका महिला दिदीबहिनीहरूलाई सम्मान र प्रोत्साहन गर्नु जरुरी छ ।
मेरो बुझाइमा शायद नेपालको मिडिया क्षेत्रले उद्यम क्षेत्रमा लागेका महिलालाई विभिन्न विधा अन्तर्गत यसरी सम्मान गरेको यो नै पहिलो कार्यक्रम होला । त्यसैले यस कार्यक्रमले भोलिका दिनमा पनि निरन्तरता पाउनुपर्दछ भन्ने लाग्छ । त्यसमा हामी जस्ता पुरुष उद्यमीहरूको पनि साथ रहनेछ । सबैको साथ र सहयोगले नै महिला उद्यमीलाई थप हौसला प्रदान गर्न सकिन्छ, जसले नेपाली उद्योग तथा व्यवसायमा थप टेवा पुर्याउन सकिन्छ ।
महिलालाई उचित प्लेटफर्म दिनुपर्दछ
डा. दिनेश गौतम
प्रमुख कार्यकारी अधिकृत, निम्बस
नेपालमा उद्यम क्षेत्रमा लाग्ने महिलालाई उचित प्लेटफर्मको कमी छ । त्यसैले उनीहरूलाई उचित प्लेटफर्म दिनु पर्दछ । महिलालाई एउटा घरको कामभित्रबाट माथि उठेर व्यवसायमा लाग्न प्रेरित गर्न हामीले सहयोग गर्यौं भने अन्य वातावरण त आफै मिल्दै जान्छन् ।
अहिले त राज्यले पनि महिला उद्यमशीलताका क्षेत्रमा धेरै काम गरिरहेको छ । आत्मनिर्भर बन्न सहुलियत कर्जाका कार्यक्रम पनि सकारले ल्याएको छ । तर प्रोत्साहनको पाटोमा अलिकति कम काम भएको छ, जसले गर्दा महिला दिदीबहिनीहरुले सहजरुपमा काम गर्ननसकेको पनि देखिन्छ । त्यसैले सबैभन्दा पहिला उनीहरूलाई प्रोत्साहन गर्नु पदर्छ । महिला दिदीबहिनीलाई पनि उचित अवसर र उचित प्लेटफर्म दिएमा मूलधारको व्यवसायमा आउन सक्छन् र नेपालको उद्यम क्षेत्रमा एउटा नयाँ मोड दिन सक्छन् भन्नेमा म विश्वस्त छु ।
सबै खालका उद्यमीलाई गरेको सम्मानले प्रोत्साहन गरेको छ
भीष्मराज ढुंगाना
अध्यक्ष, नेपाल
धितोपत्र बोर्ड
न्यू बिजनेश एजले महिला उद्यमीको विकास र प्रोत्साहन दिने हिसाबले गरेको यो काम सराहनीय छ । यस्तो किसिमको कार्यक्रमले उद्योग व्यवसायमा भर्खरै प्रवेश गर्नुभएका, यस क्षेत्रमा स्थापित भइसक्नु भएका र स्थापित हुन मिहेनत गरिरहनु भएका सबैलाई प्रोत्साहन गर्नेछ । अहिले महिला उद्यमीहरू जसरी बढ्दै गएका छन्, पहिला यो अवस्था थिएन । अहिले महिला उद्यमीले पाउने कर्जा पनि ५ लाख रुपैयाँदेखि बढेर रू. १५ लाख पुगेको छ । विना धितो पाउने यो कर्जाले पनि महिला उद्यमीलाई व्यवसायमा सहजता भएको छ । विनाधितो कर्जा प्रवाहको राष्ट्र बैंकको नीति पनि सकारात्मक छ ।
महिला उद्यमीको व्यक्तित्वभन्दा काम हेरेर योग्यता मापन गरेका हौं
बिन्द्रा हाडा भट्टराई
सदस्य, लोक सेवा आयोग
निर्णायक समितिका अध्यक्ष
महिला उद्यमीको सम्मान कार्यक्रममा आफू पनि जुरी भएर काम गर्ने मौका पाउँदा खुशी लाग्यो । सम्मानित हुनुभएकाहरूले आफ्नो क्षेत्रमा अझ राम्रो गर्ने विश्वास लिएको छु । हामीले महिला उद्यमीहरूको काम हेरेर सम्मानका लागि योग्यता मापन गरेका हौं । व्यक्तिलाई त हामीले चिनेको थिएनौं कार्यक्रममै भेटेका हौं । यो सम्मान कार्यक्रमले उद्यमी अरू दिदी बहिनीहरूलाई पनि प्रोत्साहन गर्नेछ । साथै, सम्मानित भएकाहरूले थप मेहनतका साथ काम गरेर सफल हुनुहुनेछ भन्ने विश्वास लिएको छु । पछिल्लो समय महिला दिदीबहिनीहरू हरेक क्षेत्रमा आउन खोजेको देखिन्छ । आजभन्दा २० वर्षअघिको अवस्था र अहिलेको अवस्थामा धेरै परिवर्तन भइसकेको छ । आफ्नो शीप र क्षमता अनुसारको व्यवसाय छनोट गरेर सफल बन्न धेरै महिलाहरू सक्रिय रहेको देख्छु ।
साना–ठूला उद्योगीलाई एउटै ठाउँमा राखेर छनोट गर्न चुनौती देखियो
वर्षा श्रेष्ठ
बिजनेश हेड, इक्रा नेपाल लि.
निर्णायक समितिका सदस्य
यो सम्मान कार्यक्रमका लागि उत्कृष्ट उद्यमी छनोट गर्ने विषय आफैमा चुनौतीपूर्ण थियो । त्यसमा पनि ठूला तथा साना उद्योगीहरूलाई एकै ठाउँमा राखेर मूल्यांकन गर्न अप्ठ्यारो स्थिति थियो । ठूला उद्योगहरूको वित्तीय विवरण सहजै पाउन सकिन्थ्यो भने सानाको त्यो सम्भव भएन । हामीले साना उद्योगीहरूको काम हेरेर कति कामदार लगाउनु भएको छ र कति नाफा गरिरहनु भएको छ । यी सबै हेरेर कुन सही भन्नेतर्फ जोड दियौं । न्यू बिजनेश एजले गरेको अवार्ड कार्यक्रमले महिला उद्योगीलाई थप प्रोत्साहन मिलेको छ । यस्तो कार्यक्रमलाई निरन्तरता दिन सकियो भने मेहनत गरिरहेका हातहरूलाई थृप ऊर्जा मिल्ने थियो । यस वर्ष न्यून बिजनेश एज आफै नै सबै प्रदेशमा गएर महिला उद्योगीहरूलाई खोजी गरेको छ । तर आगामी दिनमा यस्ता कार्यक्रम हुने भएमा पाँच–सात महीनाअघि नै देशभर सूचना पुर्याउन सके ती महिला दिदीबहिनी आफै सहभागी हुन्थे कि भन्ने लाग्छ ।
कार्यक्रमलाई निरन्तरता दिदै अझै विधा थप्न जरुरी छ
किशोर कुमार महर्जन
अध्यक्ष, स्टार हस्पिटल
निर्णायक समितिका सदस्य
पुरस्कृतहरूलाई व्यावसायिक रूपमा जजमेन्ट गर्दा गाह्रो भएको थियो । शुरूमा चाहेजति सूचना नआएकाले थप सूचनाका लागि हामीले सूचित गर्यौं । यसका लागि महिलालाई धेरै घच्घच्याउनु पर्यो । महिला उद्यमीमा जोश जाँगर सबै छ । तर प्राविधिक रूपमा कागजातहरू राख्ने अभ्यास भने अलि कम देखियो । हामीले सातै प्रदेशमा गरेर २ हजारभन्दा बढी उद्यमी महिलालाई समेटेका थियौं । छनोट दुई प्रकारले गर्यौं । प्रादेशिक तह र राष्ट्रिय स्तरका महिला उद्यमीलाई लिएका थियौं । तर राष्ट्रिय स्तरका उद्यमीबाट पनि आवश्यक कागजात जुटाउन गाह्रो पर्यो । यद्यपि छनोटका लागि यसपटक अपनाएइको मापदण्डले आगामी दिनमा यस्तो अवार्डलाई निरन्तरता दिन सहज हुन्छ । पहिलोपटक नै राम्रो उचाइ लिएकाले यो कार्यक्रमलाई अझै माथि लैजानु पर्छ । आगामी वर्ष अहिलेको १२ शीर्षकमा एक–दुईओटा नयाँ विधा थप्ने प्रयास गर्नुपर्छ ।
अवार्ड धेरै औचित्यपूर्ण छ
प्राडा. सुनीति श्रेष्ठ
अध्यक्ष, त्रिवि अलुम्नाई एशोसिएशन नेपाल
निर्णायक समितिका सदस्य
पुरस्कृतलाई छनोट गर्ने क्रममा चरणबद्ध छलफल गर्यौं । यसमा धेरै महिलाले आवेदन दिनु भएको थियो । हामीले पनि मापदण्ड बनाएका थियौं । संस्थाको पृष्ठभूमि, हरेक वर्ष वित्तीय पर्फर्मेन्स, उनीहरूले गरेको संघर्ष सबै पक्ष हेरियो । मुख्य कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका र हरेक साल कर चुक्ता गरेकालाई प्राथमिकता दियौं । यसले देशको अर्थतन्त्रमा योगदान दिने भएकाले यसलाई जोड दिएका हौं । साथै संस्थामा महिलाको मात्रै भूमिका कत्तिको रहेछ भनेर हेरियो ।
यो अवार्ड धेरै औचित्यपूर्ण छ । महिला उद्यामीलाई यसरी प्रोत्साहन गरेर अवार्ड दिनुपर्छ । यसले राम्रो काम गर्नेलाई हौसला हुन्छ र अरूलाई पनि उत्प्रेरणा जगाउँछ । एउटै संस्थाले मात्र यस्तो कार्यक्रम सञ्चालन गर्न नसक्ने भएकाले उद्योग वाणिज्य महासंघ, निम्बसको व्यञ्जन, स्टार हस्पिटल लगायत संस्थाहरू आउनु राम्रो पक्ष हो । अवार्ड दिने कार्यक्रम काडमाडौं मात्रै केन्द्रित नभएर प्रदेशमा गर्दा पनि राम्रो होला ।
विनाधितोका कर्जा नउठ्दा बैंकमा कर्जाको जोखिम बढेको छ
भुवन कुमार दाहाल
अध्यक्ष,
नेपाल बैंकर्स संघ
न्यू बिजनेश एजले महिला सशक्तीकरणका लागि महिला उद्यमीलाई गरेको प्रोत्साहन सराहनीय छ । अहिले राज्यले पनि महिला उद्यमीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याएको छ । यसैबीच यो कार्यक्रमले महिलालाई उत्प्रेरणा दिने काम गरेको छ । महिला उद्यमका लागि विनाधितो अनुदान सहितको सहुलियतपूर्ण कर्जाको व्यवस्था छ । तर अहिले बैंंकहरूमा कर्जाको जोखिम छ । धितो नभएका कर्जाहरू उठेको छैन । नेपालीहरूको विनाधितो भए तिर्ने, नभए नतिर्ने प्रवृत्ति छ । यो मामलामा नेपालीहरू इमानदार छैनन् । त्यही भएर बैंकहरूको कर्जा जोखिमको मोडलमा धितोको पनि रेटिङको प्वाइन्ट निर्धारण हुन्छ । विनाधितो कर्जा खराब कर्जामा परिणत भएकाले पनि यसतर्फ बढी जोखिम देखेका छौं ।
व्यवसाय शुरुआतमा बैंकले पत्याएनन्, अहिले धेरैले पछ्याउँछन्
सीता आठपहिरिया कुलुङ
प्रोप्राइटर, लुमा घरेलु
अल्लो कपडा उद्योग
एण्ड ट्रेनिङ सेन्टर
न्यू बिजनेश एजले प्रोत्साहनको रूपमा गरेको सम्मान एकदम प्रशंसनीय छ । राम्रा उद्यमीलाई छानेर सम्मान गरिएको छ । कार्यक्रमको व्यवस्थापन पक्ष पनि राम्रो लाग्यो । आगामी वर्ष पनि अझै राम्रो गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं ।
मैले व्यवसाय थालेको ६ वर्ष भयो । शून्यबाट व्यवसाय शुरुआत गर्दा बैंकहरूले पनि नपत्याउँदा धेरै गाह्रो भएको थियो । तर यसबीच मैले व्यवसाय गरेर अघि बढेपछि अहिले बैंकहरू कर्जा लिइदिन आग्रह गर्छन् । मलाई २०–२१ ओटा बैंक तथा वित्तीय संस्थाहरूले कारोबारका लागि पछ्याएका छन् । यसले खुशी लाग्छ । कार्यक्रममा जाँदा पनि धेरै महिलाले बैंकले कर्जा दिएन भन्ने गुनासो सुन्छु । उद्यम गर्न चाहने महिलालाई सरकारले सहजीकरण गरिदिनु पर्यो । घरेलु उद्यमहरूलाई भन्सारमा पनि छूट भनिन्छ, तर दिइँदैन । अर्को जिल्ला जाँदा पनि हामीलाई बाटो पास चाहिन्छ । घरेलु उद्यमीलाई यस्तो नहुनु पर्ने हो ।