पर्यटन र हस्पिटालिटी व्यवसायमार्फत नेपालको व्यवसाय र महिला उद्यमशीलता क्षेत्रमा पुर्याएको ४ दशकसम्मको अनवरत र विशेष योगदानको कदर गर्दै मल्ल होटेलकी अध्यक्ष महाराजकुमारी रमा राणा मल्ललाई ‘न्यूबिज लाइफटाइम एचिभमेन्ट अवार्ड २०२१’ बाट सम्मानित गरिएको छ ।
आर्थिक अभियान तथा न्यू बिजनेश एज मासिक पत्रिकाको प्रकाशक न्यू बिजनेश एज प्रालिले गत शुक्रवार काठमाडौंमा आयोजित ‘न्यूबिज वुमन समिट एण्ड अवार्डस’ कार्यक्रम गरेर मल्ललाई उक्त अवार्डबाट सम्मान गरेको हो ।
पूर्वप्रधानमन्त्री पद्म शमशेरकी छोरी तथा भीम शमशेरकी नातिनीका रूपमा सन् १९४६ मा काठमाडौंमा जन्मिएकी मल्ल पाँचतारे होेटलका साथै मल्ल ट्राभल एन्ड ट्रेक सर्भिस, मल्ल अल्पाइन रिसोर्टकी पनि अध्यक्ष हुन् ।
नेपालमा होटेल तथा पर्यटन व्यवसाय शुरू गरेर आफ्नो फरक पहिचान बनाउन सफल ७५ वर्षीया राणा व्यवसायमा अझै उत्तिकै सक्रिय छिन् ।
उनले देखाएको दृढ निश्चय र व्यवसायको प्रवर्द्धनले आफ्नै उद्योग व्यवसाय शुरू गर्ने आकांक्षा भएका युवाहरू र अझ विशेष गरेर महिलाहरूलाई सधैं प्रेरित गरिरहने अवार्डसको बोर्ड अफ जुरीकी चेयर बिन्दा हाडा भट्टराईले बताइन् । राजनीतिक अस्थिरताका बीच नेपाली उद्योगमा अझै पनि जोखिमको व्यवसाय मानिने पर्यटन त्यसमाथि पनि ठूला होटेल व्यवसायमा हात हालेर नेपालको पर्यटन क्षेत्रलाई अन्तरराष्ट्रिय बजारमा समेत प्रवर्द्धनका लागि उनको अमूल्य योगदान रहेको यस क्षेत्रका विज्ञहरू बताउँछन् । बेरोजगारीको उच्च मार खेपिरहेको नेपालमा थोरै भए पनि रोजगारी सृजना गर्ने र पर्यटन व्यवसाय माथि उठाउन उनले गरेका प्रयासको धेरैले प्रशंसा गर्छन् ।
आफ्नो जीवनमा देशको सेवा गर्ने, देशलाई अझ सुन्दर बनाउने, बालबालिका तथा युवाको शिक्षामा सहयोग गर्ने र थप रोजगारी सृजना गर्ने आफ्नो उद्देश्य रहेको मल्लले बताइन् ।
कलकत्ताको लोरेटो हाउस कलेजबाट मनोविज्ञान विषयमा ग्य्राजुएट हनर गरेकी मल्ल विभिन्न सामाजिक, शैक्षिक, व्यावसायिक संस्थामा संरक्षक र आजीवन सदस्यका रूपमा रहेकी छन् । राष्ट्रका लागि विशिष्ट योगदान गरेबापत उनी राजा वीरेन्द्रबाट प्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु पुरस्कारबाट सम्मानित पनि भएकी थिइन् ।
कार्यक्रमपछि आर्थिक अभियानलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अवार्ड प्राप्त गर्दा आफू हर्षित भएको बताइन् । ‘मैले जसरी एउटा सानो सेवा गरेर यो अवार्ड प्राप्त गरेको छु, मलाई गर्व महसूस भएको छ,’ उनले भनिन्, ‘जीवनमा आरोह अवरोह आइराख्छन् । तर म अविचलित रूपमा अघि बढ्नुपर्छ भन्ने सोच्छु । विगतलाई सम्झिराख्नुभन्दा वर्तमान र भविष्यमा बाँच्नुपर्छ । काम नै सबैभन्दा ठूलो हो र म निरन्तर यसमा लागि रहनेछु ।’
उनले अमेरिका, यूरोपलगायत एक दर्जनजति देशको भ्रमण गरेकी छन् । यस क्रममा अमेरिका सोसाइटी अफ ट्राभल एजेन्ट्स, प्यासिफिक एशिया ट्राभल एशोसिएशनलगायत आधा दर्जनभन्दा बढी फोरममा पनि भाग लिएकी छन् ।