ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महिला उद्यमशीलताको प्रवर्द्धन : ‘नीतिगत व्यवस्था भयो, कार्यान्वयन फितलो’

२०७७ माघ, २२  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । महिला उद्यामी तथा सरोकारवालाले महिलाको उद्यमशीलता प्रवर्द्धन गर्न सरकारबाट नीतिगत व्यवस्था भए पनि त्यसको कार्यान्वयन फितलो भएको बताएका छन् । न्यू बिजनेश एजले गत शुक्रवार काठमाडौंमा आयोजना गरेको ‘न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्ड्स २०२१’ मा ‘प्रमोटिङ वुमन अन्ट्रपेनरशिप : पोलिसी एन्ड प्राटिक्सेस’ विषयक छलफलमा उनीहरूले यस्तो बताएका हुन् ।

विशेषगरी महिला उद्यमशीलतालाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले ल्याएको सहुलियतपूर्ण कर्जाको कार्यान्वयन फितलो भएको सरोकारवालाको भनाइ छ । सरकारले महिलालाई विनाधितो कर्जा दिने नीति ल्याए पनि त्यो पाउन गाह्रो भएको उनीहरूले बताए ।

छलफलमा नेप्लिज योङ आन्ट्रपेनर्स फोरमकी उपाध्यक्ष निभिता प्रधानले महिलाहरू सहुलियतपूर्ण कर्जा लिन जाँदा बैंकहरूले अनेक बहाना गरेर स्वीकृत गर्न ढिलाइ गर्ने गरेको बताइन् । सोही कामका लागि पटक पटक बैंकमा जाँदा पनि कागज नपुगेको भन्दै फर्काउने गरेकोे उनको भनाइ छ । साथै, सरकारले महिला उद्यमशीलताका लागि गरेको नीतिगत व्यवस्था सम्बन्धी जानकारी ग्रामीण भेगमा अझै पुग्न नसकेको उनले औंल्याइन् ।

महिला उद्यमी संघ नेपालकी तृतीय उपाध्यक्ष दर्शना श्रेष्ठले महिला उद्यमी अझै पनि वित्तीय पहुँचमा नभएको बताइन् । ‘सरकारले महिला उद्यमीलाई वित्तीय पहुँचमा ल्याउनेगरी सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याएको छ । तर, ग्रामीण भेगका महिला अझै त्यसको पहुँचमा आएका छैनन्,’ उनले भनिन्, ‘ब्याज अनुदानमा पाइने सहुलियतपूर्ण कर्जाको विषयमा पनि ग्रामीण भेगका महिला त्यति जानकार छैन । यस्ता विषयमा सरकारले थप नीति ल्याउन आवश्यक छ ।’

यस्तै, कोरोना कहरका कारण अधिकांश महिला उद्यमी उद्योग बन्द गर्नुपर्ने अवस्था पुगेको पनि उनले बताइन् । ‘कोरोना रोकथाम गर्न लगाइएको लामो लकडाउन र पटक पटकको निषेधाज्ञाले महिलाको उद्यम पनि प्रभावित भएको छ । कतिपय महिला उद्यमी साथीहरू उद्योग नै बन्द गर्ने अवस्थामा पुगेका छन्,’ उनले भनिन्, ‘यो अवस्थामा सरकारले कोरोनाबाट प्रभावित महिला उद्यमशीलता पुनरुत्थान गर्न निजीक्षेत्रसँग मिलेर आवश्यक नीति ल्याउन आवश्यक छ ।’

यस्तै, मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकालले उत्पादन र उत्पादित वस्तुको बजार ग्यारेन्टी भए बैंकहरूलाई कर्जा प्रवाह गर्न समस्या नहुने बताए । अहिले यस्तै विषयको ग्यारेन्टी नहुँदा कर्जा प्रवाहमा चुनौती देखिएको उनको भनाइ छ ।

यद्यपि, बैंक तथा वित्तीय संस्था र सहकारीहरूले महिला उद्यमीहरूलाई प्राथमिकतामै राखेको उनले बताए । ‘तर, बैंक तथा वित्तीय संस्थाहरू धेरै हुँदा प्रतिस्पर्धा पनि बढेको छ । त्यसको असरले पनि साना तथा महिला उद्यमीमा सहज रूपमा कर्जा प्रवाह हुन सकेको छैन जस्तो लाग्छ,’ उनले भने ।

यस्तै, पूर्व उद्योग सचिव चन्द्र कुमार घिमिरेले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न सरकारले नीतिगत रूपमा व्यवस्था गर्दै आएको बताए । साथै, सरकारले आर्थिक ऐन, मौद्रिक नीति, बजेट लगायत माध्यमबाट महिला उद्यमशीलताको विषयमा विशेष व्यवस्था गर्दै आएको उनको भनाइ छ । यद्यपि, त्यसको कार्यान्वयनको पक्ष भने छलफलको विषय रहेको उनले बताए ।

उक्त छलफललाई स्ट्यान्डर्ड चार्टर्ड बैंककी कर्पाेरेट अफेयर्स, ब्रान्ड एन्ड मार्केटिङ प्रमुख प्रनु सिंहले सहजीकरण गरेकी थिइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)