राष्ट्रिय बीमा संस्थानले महत्त्वाकांक्षी लक्ष्य लिएको छ । भविष्यमा जीवन बीमाको पुनर्बीमा कम्पनीमा समेत स्थापित हुने योजना रहेको संस्थानका नायब महाप्रबन्धक (डीजीएम) महेश रिमाल बताउँछन् । प्रस्तुत छ, संस्थानका गतिविधि, योजना लगायत विषयमा आर्थिक अभियानका ममता थापाले उनीसँग गरेको कुराकानीको सार :
संस्थानको ५४औं वर्षको यात्रालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
राष्ट्रिय बीमा संस्थान जीवन बीमा गर्ने अग्रणी संस्था हो । २०२५ सालमा स्थापना भई यहाँसम्म आइपुग्दा ५४ वर्ष पार गरेको छ । शुरूमा निर्जीवन तथा जीवन दुवैखाले व्यवसाय गर्दथ्यो । बीमा ऐन २०४९ ले एउटै संस्थाले जीवन र निर्जीवन व्यवसाय गर्न नपाउने भनेपछि २०७१ सालदेखि संस्थानबाट निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनी छुट्टै खडा गरियो । यसयता मूलतः जीवन बीमाको मात्रै काम गर्छौं । यसबीच संस्थाका आन्तरिक विषयमा केही समस्या बेहोर्दै आएको थियो । हामीलाई जनशक्तिको अभाव भयो । १६५ को दरबन्दीमा यो भन्दा न्यून संख्यामा मात्रै भएका कर्मचारीबाट काम चलाउँदै आउनुपरेको थियो । अहिले १२० जना कर्मचारी छौं । समयसापेक्ष सफ्टवेयर जस्ता प्रविधिमा पछि परेका छौं । यस्तै लेखा परीक्षणमा ढिलाइ भएका छन् । यो अवधिसम्म आइपुग्दा हामी जीवन बीमा कम्पनीहरूमध्ये बीमा शुल्क संकलनमा तेस्रो स्थानमा पुगेका छौं ।
गत पुस दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार ५ अर्ब ६८ करोड रुपैयाँको प्रिमियम जम्मा गरेर बजार हिस्सामा ८ दशमलव ५९ प्रतिशतमा छौं । साथै यस अवधिमा हामीसँग थुप्रै चुनौती छन् । मुख्य चुनौती नै लेखापरीक्षण र साधारणसभाको हो । आम जनमानसको विश्वासमा आँच आउने हो कि भन्ने छ । यसैले हामी बीमा समितिले तय गरेका नियम पालना गर्दै कार्ययोजना नै बनाएर अघि बढिरहेका छौं । यो आवको बाँकी ४ महीनालाई अन्तिम बिन्दु मानेर लेखापरीक्षणलाई नियमित गर्नेगरी काम गरिरहेका छौं ।
निजीक्षेत्रका कम्पनीले जसरी आक्रामक रूपमा व्यवसाय विस्तार गर्न संस्थानले किन सकिरहेको छैन ?
हामीले नयाँ प्रविधि भित्र्याउन नसक्दा ‘वे फरवार्ड’ हुन सकेका थिएनौं । तथापि अहिले हामीसँग १३ ओटा योजना छन् । २–३ ओटा प्रडक्ट पाइपलाइनमा छन् । बीमाको पहुँच बढाउन बजार सुहाउँदो प्रडक्ट ल्याउँदै छौं । यसका लागि उमेर समूह, सेवा समूहहरूलाई लक्षित गरेर कस्तो खाले प्रडक्ट ल्याउँदा व्यवसाय बढाउन सकिन्छ भनेर अध्ययन–अनुसन्धान र कन्सल्ट्यान्ट एक्चुअरीसँग छलफल गरेका छौं । यसै क्रममा बालबच्चाको ‘इन्डोमेन्ट’ बीमा योजना ल्याउँदै छौं ।
संस्थानको लामो समयदेखिको साधारणसभा गर्न बाँकी छ । यसको तयारी के कस्तो छ ?
आव २०६५/६६ को साधारणसभा भइसकेको छ । आव २०६६/६७, २०६७/६८, २०६८/६९ को प्रतिवेदन लेखापरीक्षकबाट अन्तिम प्रतिवेदन प्राप्त गरेर स्वीकृतिका लागि बीमा समितिमा पठाएका छौं । यसपछिको २०७१/७२ सम्मको लेखापरीक्षण गराएर लेखा परीक्षकबाट प्रारम्भिक प्रतिवेदन प्राप्त गरिसकेका छौं । २०७२/७३ र २०७३/७४ को लेखापरीक्षकले अडिटको काम गराएर हामीलाई प्रारम्भिक प्रतिवेदनको ‘अब्जर्भेशन’ दिइसकेका छन् ।
यस क्रममा जीवन बीमा व्यवसाय गर्ने कम्पनीले आफ्नो सम्पत्ति तथा दायित्वको लेखाजोखा गर्न बीमांकीय मूल्यांकन (एक्चुअरी भ्यालुएशन) गर्नुपर्छ । त्यो पनि हाम्रो पेन्डिङमा थियो । समितिले एक्चुअरी भ्यालुएशन छिटो गरेर पठाउन भनेपछि २०६३/६४, २०६६/६७ र २०६९ सम्मको सम्पन्न गरी स्वीकृतिका लागि पेश गरेका थियौं । उक्त एक्चुअरीको डेढ महीनाअघि स्वीकृति पनि आएको छ । हामी जसरी एक्चुअरीलाई सकाउँदै र स्वीकृत भएका साधारणसभा गर्दै आउँछौं, सोही अनुसार लेखापरीक्षण भएर वित्तीय विवरणको अन्तिम मौज्दात र शुरूको मौज्दात यकिन हुन्छ । अहिले एक्चुअरी वार्षिक रूपमा गर्ने प्रचलन छ । तर तत्कालीन समयमा भने ३ वर्षमा एकपटक गरिन्थ्यो । हामी पनि आव २०७४/७५ देखिको बीमांकीय मूल्यांकन वार्षिक गर्नेछौं । अहिले व्यवसाय र दायित्व दुवै बढ्यो । प्रिमियमको आकार बढेकोले पनि वार्षिक मूल्यांकन गर्न जररी देखिएको छ ।
पछिल्लो समय संस्थानले के कस्तो गतिविधि गर्दै आएको छ ?
अब हामी ललितपुरको सञ्चय कोष भवनमा शाखा खोल्दै छौं । यससँगै शाखा संख्या २२ पुग्छ । अभिकर्ताको संख्या र तालीम पनि बढाउँदै छौं । हाम्रा करीब साढे ६ हजार अभिकर्तामध्ये करीब हजार जना सक्रिय होलान् । त्यसैले सक्रिय अभिकर्ता बढाउनेछौं । यसलाई वार्षिक योजनामा राख्छौं ।
पछिल्लो समय संस्थानप्रति आम मानिसको आकर्षण कस्तो छ ?
बीमा क्षेत्रको विश्वासिलो नाम राष्ट्रिय बीमा संस्थान भन्ने हाम्रो ‘स्लोगन’ नै छ । जनताले विश्वास गरेकै छन् । कमीकमजोरी हामीमै रह्यो । समयमा लेखापरीक्षण तथा साधारणसभा गर्न नसक्नु हाम्रो कमजोरी हो । तर यसलाई योजना बनाएरै सकभर असार मसान्तसम्ममा २ ओटासम्म साधारणसभा गरौं भनेर योजना बनाएका छौं । ग्राहकलाई आकर्षित गर्न सेवामुखी बनेका छौं । हामीकहाँ दाबीका लागि कोही बीमित आएमा कागजात बुझाएर प्रक्रिया थालेको आधा घण्टादेखि ४५ मिनेटभित्रै भुक्तानी पाउँछन् । बीमा योजनाबारे जानकारी दिने लगायतमा कर्मचारीलाई ग्राहकमैत्री हुन भनिरहेका छौं ।
अझै आकर्षण बढाउन बीमालेख योजना नै ल्याउनुपर्छ । त्यसका लागि बजारमा सुहाउँदो टर्म लाइफ, लघु बीमाको पोलिसी जारी गरिसकेका छौं । अब ल्याउने तयारीमा रहेका पोलिसीले संस्थानप्रति ग्राहकको विश्वास बढ्नेछ ।
संस्थानले ल्याएका अहिलेसम्मका बीमा योजना कत्तिको प्रभावकारी बनेका छन् ?
कुल व्यवसायको ९९ प्रतिशत सावधिक बीमा रहेको छ । सावधिकमा पनि व्यक्तिगत र सामूहिक बीमा छन् । सामूहिक बीमामा धेरै सार्वजनिक संस्थान छन्, जसमा डीडीसी, विद्युत् प्राधिकरण, दूरसञ्चार आदि छन् । यसै क्रममा काठमाडौं महानगरपालिकासँग पनि यसै वर्ष सम्झौता गर्दै छौं । २ वर्षयता राष्ट्र सेवक कर्मचारीको बीमा हामीले गर्दै आएका छौं । यसमा करीब ३ लाख २५ हजारको हाराहारीमा नेपाली, सेना, सशस्त्र प्रहरी लगायत छन् । यो हाम्रा लागि कोसेढुंगा सावित भएको छ । टर्म लाइफ बीमा शुरू गरेको करीब १ वर्ष भयो । तीन–चारओटा संस्थाहरूसँथ कुरा भइरहेको छ ।
संस्थानका अबका लक्ष्य के के हुन् ?
अहिले हाम्रो टिम राम्रो छ । अब बजारमा प्रतिस्पर्धी हुनैपर्छ । हामीले ५–१० वर्षको व्यावसायिक योजना बनाएर अघि बढ्नुपर्नेछ । पहिलो लक्ष्य जतिसक्दो छिटो लेखापरीक्षण सम्पन्न गरेर आम जनमानसको विश्वास जित्नु नै हो । यसबाहेक हरेक वर्ष शाखा विस्तार गर्दै जान्छौं । दूरदराजसम्म बीमा पहुँच पुर्याउन शाखा बढाउँदै जान्छौं । बीमालेख योजनाहरू पनि बजार सुहाउँदो ल्याउँछौं । प्रत्येक वर्ष दुईओटासम्म नयाँ बीमालेख योजना ल्याउनेछौं । अहिले चलिरहेका योजनालाई पनि संशोधन गर्नुपर्ने छ । केही बन्द गर्नु छ भने केहीमा विशेषता थप्नु छ ।
यसअघि संस्थानले पुनर्बीमा संस्था समेत खोल्ने लक्ष्य लिएको थियो । यो लक्ष्य हासिल गर्न वित्तीय संस्थानको वित्तीय क्षमताले धान्ला ?
बीमा संस्थान भनेको सरकारको संस्था हो । यसको वित्तीय क्षमता राम्रो छ । यसका विभिन्न ठाउँमा राम्रो लगानी गरेको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनामा ऋण र शेयर लगानी गरेका छौं । यसबाहेक विभिन्न बैंकमा शेयर लगानी गरेका छौं । नागरिक लगानी कोषमा मात्रै ३१ दशमलव ५ प्रतिशत संस्थागत शेयर छ । यस्ता लगानीले गर्दा शुरूमा संस्था ९३ लाख रुपैयाँ चुक्तापूँजीबाट खोलेको हो । अहिले २०६६ सम्म आइपुग्दा १८ करोड १० लाख रुपैयाँ पुगेको छ । साधारणसभा हुँदै गएपछि २०७५ सम्म २ अर्ब पूरा भनेको थियो । हामीले यति त पुर्याउँछौं र अबको ४–५ वर्षमा २ अर्बभन्दा माथि पुर्याउँछौं । भोलिका दिनमा सकियो भने जीवन बीमाको पुनर्बीमा गर्ने खाले संस्थाको रूपमा खडा गर्न चाहन्छौं । पुनर्बीमामा हामी कसरी जान सक्छौं भनेर योजना समेत तर्जुमा गरेर जानेछौं ।