ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

व्यवसायलाई प्रविधिमैत्री बनाउँदै

२०७७ फागुन, ११  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपालमा बीमा सेवा प्रदान गर्ने उद्देश्यले सरकारको स्वामित्वमा २०२४ पुस १ गते राष्ट्रिय बीमा संस्थान प्रालिको स्थापना भएको थियो । रू. १ करोड अधिकृत पूँजीमा स्थापित कम्पनीले २०२४ फागुन ११ गतेखि व्यावसायिक कारोबार शुरू गर्‍यो । पछि २०२५ सालमा ‘राष्ट्रिय बीमा संस्थान ऐन २०२५’ आएपछि यो संस्थानमा परिवर्तन भयो ।

शुरूमा निर्जीवन बीमा मात्र गर्ने संस्थानले २०२९ देखि जीवन बीमा व्यवसायको पनि थालनी गर्‍यो । तर, २०७१ सालदेखि संस्थानले जीवन बीमाको व्यवसाय मात्र गर्दै आएको छ ।

संस्थान आउनुअघि नेपाल बैंकले नेपाल माल चलानी तथा बीमा कम्पनी स्थापना गरेर २००४ सालदेखि बीमा व्यवसाय शुरू गरेको थियो, जुन अहिले नेपाल इस्योरेन्सको रूपमा सञ्चालित छ । तर, सो कम्पनीले नेपाल बैंकसँग सम्बन्धित मात्र बीमा गर्ने गरेको थियो । त्यसैले, राष्ट्रिय बीमा संस्थानलाई नेपालको पहिलो ‘फुल फेज’को बीमा कम्पनीको रूपमा पनि लिइन्छ ।

राष्ट्रिय बीमा संस्थान आउनुअघि नेपालमा भारतीय बीमा कम्पनीले बीमा सेवा प्रदान गर्दै आएका थिए । संस्थान आएपछि भारतीय कम्पनी फर्किए । त्यसपछि संस्थानलाई नेपाली बीमा बजारमा एक्लै ‘राज’ गर्ने अवसर प्राप्त भयो । तर, संस्थानले त्यसअनुरूप आफ्नो व्यावसायिक गतिविधि अगाडि बढाउन सकेन ।

मुलुकको राजनीतिक अस्थिरता, दशवर्षे सशस्त्र द्वन्द्व, ट्रेड युनियनमा हुने राजनीति लगायतले पनि संस्थानलाई नकारात्मक असर पार्‍यो । साथै, पर्याप्त तथा दक्ष जनशक्ति नहुँदा पनि संस्थान आन्तरिक रूपमा कमजोर हुँदै गयो ।

लेखापरीक्षण, बीमांकीय मूल्यांकन तथा वार्षिक साधारणसभा जस्ता गतिविधिमा समेत संस्थान पछि पर्दै गयो । संस्थानले १०औं वर्षसम्म पनि लेखापरीक्षण र वार्षिक साधारणसभा गर्न सकेन । संस्थानले धेरै वर्षहरू ‘पेन्डिङ’मा रहेका काम गरेरै बितायो ।

अझै पनि संस्थानको आव २०६४/६५ देखिको साधारणसभा भएको छैन । यद्यपि, पछिल्लो समय संस्थानको अवस्था भने सुधारोन्मुख रहेको छ । बजारमा आफूभन्दा पछि आएका कम्पनीहरूले व्यावसायिक गतिविधि बढाएपछि संस्थान पनि आफूलाई बलियो प्रतिस्पर्धीको रूपमा अगाडि बढ्न लागिपरेको छ ।

संस्थानको पछिल्लो ५ आवको वित्तीय विवरणले अधिकांश सूचक राम्रो हुँदै गएको देखाउँछ । बीमाशुल्क संकलन, नाफा, जीवन बीमा कोष बढ्दो अवस्थामा छन् । बीमाशुल्क, बीमा कोषको आधारमा संस्थानले बीमा बजारको करीब ९ प्रतिशत हिस्सा ओगटेको छ ।

संस्थानले हालसम्म रू. ५२ अर्बभन्दा बढी कुल बीमाशुल्क संकलन गरेको छ । त्यसमा चालू आवको पहिलो ६ महीनाको मात्रै ५ अर्ब ६८ करोड रहेको छ । बीमाशुल्क संकलन गर्ने मामलामा १९ कम्पनीमध्ये संस्थान तेस्रो स्थानमा छ ।

यस्तै, लामो समयदेखि हुन नसकेको लेखापरीक्षण, बीमांकीय मूल्यांकन र साधारणसभा पनि छिट्टै गर्ने संस्थानको योजना छ । संस्थानको आव २०६४/६५ यताको लेखापरीक्षण, बीमांकीय मूल्यांकन र साधारणसभा हुन बाँकी छ ।

संस्थानको आव २०७०/७१ देखि २०७३/७४ सम्मको बीमांकीय मूल्यांकनको प्रारम्भिक प्रतिवेदन तयार भइसकेको छ । त्यसपछिका आवहरूको पनि बीमांकीय मूल्यांकन तथा लेखापरीक्षणको काम जारी रहेको संस्थानले बताएको छ ।

संस्थानले पछिल्लो समय पुराना समस्या समाधान गर्दै प्रविधिको विकासमा पनि उत्तिकै जोड दिइरहेको छ । समग्रमा संस्थान अहिले प्रविधिमैत्री व्यवसाय गर्नेगरी योजनाबद्ध रूपमा अगाडि बढेको प्रशासक कविप्रसाद पाठक बताउँछन् ।

पहिले संस्थानको प्रधान कार्यालयबाट मात्र बीमा पोलिसी जारी गर्न मिल्थ्यो । काठमाडौं बाहिरका बीमितलाई बीमालेख पाउनै ३ महीनासम्म लाग्ने गरेको थियो । तर, अहिले त्यस्तो अवस्था छैन । अहिले प्रत्येक शाखाबाटै बीमा पोलिसी जारी गर्न सकिन्छ । बीमा गरेको प्रमाण अर्थात् बीमा पोलिसी ग्राहकले आधा घण्टाभित्रै पाउन सक्छन् ।

यस्तै, संस्थानले ‘एसएमएस अलर्ट’ सेवा पनि सञ्चालन गरेको छ । पहिला ग्राहकले बीमा अभिकर्तामार्फत बीमाशुल्क बुझाए पनि त्यो रकम संस्थानमा पुग्यो/पुगेन थाहा पाउन सहज थिएन । तर, अहिले ग्राहकको पैसा भुक्तानी भएको जानकारी एसएसएस अलर्ट मार्फत हुने गर्छ । साथै, यसबाट बीमितले अन्य जानकारी पाउन सक्ने व्यवस्था गरिएको छ ।

संस्थानले आफ्नै मोबाइल एपको पनि शुरुआत गरिसकेको छ । त्यसमार्फत पनि ग्राहकले आफ्नो बीमा पोलिसी र संस्थानको सेवा सुविधाबारे थाहा पाउन सक्छन् ।

संस्थानले आफ्नो आन्तरिक सफ्टवेयर समेत विकसित गर्दै आएको छ । यसअघि लामो समयसम्म डेस्कबेस्डमै काम गरेको थियो । त्यसबेलाका तथ्यांक राख्ने पनि कुनै प्रविधि थिएन । संस्थानका सवै तथ्यांक कागजी रूपमा मात्र भण्डारण गरिएको थियो । तर, अहिले आन्तरिक प्रयोजनका लागि नयाँ सफ्टवेयर ल्याइसकेको छ । त्यसमा पुराना तथ्यांक समावेश गर्ने काम पनि भइरहेको छ ।

अब संस्थानलाई प्रविधियुक्त बनाउने गरी अगाडि बढेको प्रशासक पाठक बताउँछन् । ‘संस्थानले लामो समयसम्म डेस्कबेस्डमा काम गरेको थियो । अहिले त्यस तथ्यांकलाई नयाँ सफ्टवेयरमा सार्ने काम गरेका छौं,’ उनले भने ।

अब अनलाइन मार्फत नै बीमाशुल्क भुक्तानी गर्ने लगायत व्यवस्था गर्न पनि संस्थान लागिपरेको छ । बीमा पोलिसी खरीद गर्दा ग्राहक कार्यालय अथवा अभिकर्तासम्म धाउन परे पनि बीमाशुल्कको किस्ता बुझाउने लगायत काम भने अनलाइन मार्फत नै गर्न सक्ने व्यवस्था गर्न लागिएको पाठकले जानकारी दिए । समग्रमा संस्थानको व्यवसायलाई प्रविधिमैत्री बनाउने गरी अघि बढेको उनले बताए ।

व्यवसाय बढाउने मामलामा समेत संस्थानले जोड दिएको छ । त्यसका लागि शाखा सञ्जाल विस्तार गर्ने, अभिकर्ताको संख्या बढाउने, अभिकर्तालाई तालीम दिने लगायत योजना ल्याएको छ । १ वर्षअघि संस्थानका शाखा १४ ओटा थिए । अहिले २२ पुगेको छ । चालू आवभित्रै इलाम र बागलुङमा पनि शाखा स्थापना गर्ने योजनामा संस्थान छ ।

यसैगरी नयाँ प्रडक्ट ल्याउने विषयमा कम्पनीले जोड दिएको छ । संस्थानले यसै वार्षिकोत्सवको अवसरमा सामूहिक म्यादी बीमाको पोलिसी जारी गर्दै छ । व्यक्तिगततर्फका बीमा योजना पनि बीमांकीय विश्लेषणको चरणमा रहेको प्रशासक पाठकले बताए ।

५४औं वर्षमा प्रवेश गरिरहँदा संस्थानलाई चुनौती र अवसर पनि उत्तिकै छन् । कोरोनाले प्रभावित व्यावसायिक गतिविधि चलायमान बनाउनु, व्यावसायिक वृद्धिदर कायम गर्नु संस्थानका मुख्य चुनौती हुन् । साथै, अभिकर्ता र बीमितको संख्या बढाउन पनि चुनौतीपूर्ण देखिन्छ । निजी कम्पनीहरूले धेरै सेवा सुविधा दिएर अभिकर्ता र बीमितलाई आकर्षित गरिरहेका छन् । तर, संस्थानमा बीमित र अभिकर्ताका लागि यस्ता योजना छैनन् । अभिकर्ता र बीमित बीमा व्यवसायका लागि अभिन्न अंग हुन् । त्यसैले, संस्थान यस विषयमा गम्भीर भएर अगाडि बढ्नुपर्ने देखिन्छ ।

बीमा बजारमा संस्थानको उपस्थिति
नेपालमा सञ्चालित जीवन बीमा सेवा प्रदायकहरूको जीवन बीमा कोष २०७७ पुस मसान्तसम्ममा रू. ३ खर्ब २३ अर्ब १८ करोडको छ । उक्त अवधिमा राष्ट्रिय बीमा संस्थानले ३१ अर्ब ७२ करोडको जीवन बीमा कोष कायम गरेको छ, जुन कुल जीवन बीमा कोषको ९ दशमलव ८२ प्रतिशत हो ।

यस्तै चालू आवको साउनदेखि पुस मसान्तसम्ममा १९ ओटा जीवन बीमा प्रदायकको संकलित बीमाशुल्क ६६ अर्ब १६ करोड रहेकोमा संस्थानको ५ अर्ब ६८ करोड छ । बीमाशुल्क संकलनमा तेस्रो स्थानमा रहन सफल यस संस्थाको बजार हिस्सा ८ दशमलव ५९ प्रतिशत छ । सोही अवधिमा कम्पनीहरूको ९१ लाख ५१ हजार ६८७ ओटा बीमालेख संख्या जारी भएका छन्, जसध्ये ७ लाख ३५ हजार ८१९ सहित संस्थान पाँचौं स्थानमा रहन सफल भएको छ ।

बीमा संस्थानका बीमा योजनाहरू

  • सावधिक जीवन बीमा योजना र दोहोरो दुर्घटना
  • लाभसहितको सावधिक जीवन बीमा
  • बालबच्चाको शिक्षा र विवाह सावधिक जीवन बीमा
  • अग्रिम भुक्तानी जीवन बीमा
  • आजीवन जीवन बीमा
  • बालबच्चाको जीवन बीमा लेख ‘वात्सल्य’
  • पति–पत्नीको संयुक्त जीवन बीमा ‘जीवन साथी’
  • ‘जीवन सुरक्षा’ सावधिक जीवन बीमा
  • ‘बाल उमंग’ जीवनबीमा
  • ‘जीवनबन्धु’दोहारो लाभ जीवन बीमा
  • म्यादी जीवन बीमा
  • सामूहिक सावधिक जीवन बीमा
  • राष्ट्र सेवक सावधिक जीवन बीमा
  • लघु जीवन बीमा
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)