ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुन्दर घर जोडेपछिको सवारी खरीद

पर्याप्त पुँजी नभए पनि निरन्तर आम्दानीको स्रोत भए सवारी साधन कर्जा लिन सहज

२०७७ फागुन, २१  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । सवारी साधन बाध्यता र रहर दुवै अवस्थामा खरिद गरिने चलन छ । यद्यपि आधारभूत आवश्यकता पूरा भएसँगै अर्थात् एउटा सुन्दर घर बनाएपछि अधिकांशको सपना सवारी साधन जोड्नेमै हुन्छ । यस्तो साधन खरिद गर्न पर्याप्त पुँजी नभए पनि निरन्तर आम्दानीको स्रोत भएका व्यक्तिहरूले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सक्छन् ।

सामान्यतया पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट सवारी साधनजस्ता अनुत्पादक क्षेत्रमा कर्जा बढी गयो भनेर नियामक निकाय नेपाल राष्ट्र बैंकले निजी प्रयोजनका सवारी साधन कर्जासम्बन्धी सीमा तोेकेको छ । यस कारण बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा सो सवारी साधनको मूल्यको अधिकतम ५० प्रतिशत र व्यक्तिगत विद्युतीय सवारी साधनको हकमा ८० प्रतिशतसम्म मात्र कर्जा दिन केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

यसअघि भने यस्तो कर्जा सवारी साधनको मूल्यको अधिकतम ८० प्रतिशतसम्म पनि पाउने व्यवस्था थियो । तर, यो सीमालाई क्रमशः घटाउँदै लगेर आधामा सीमित पारिएको छ । यस व्यवस्थाअनुसार केन्द्रीय बैंकले तोकेको सीमाको आधारमा रहेर संस्थाहरूले कर्जा दिने भएकाले सवारी साधनको मूल्यको आधा ग्राहकले अग्रिम भुक्तानी गर्नैपर्छ ।  

केन्द्रीय बैंकले घटाएको सीमाले यस्तो शीर्षकको कर्जा प्रवाहमा कमी आएको पनि राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट चालू आवको माघसम्म मात्रै १ खर्ब ६३ अर्ब ८६ करोड १० लाख रुपैयाँ बराबरको सवारी तथा अटो (हायरपर्चेज) शीर्षकमा कर्जा प्रवाह भएको छ । गत वर्षको तुलनामा यस्तो कर्जा वृद्धि १० दशमलव ३७ प्रतिशतले संकुचन भएको छ ।

गत वर्षको तुलनामा चालू आवमा १८ अर्ब ९७ करोड ८० लाख रुपैयाँले यस्तो कर्जामा संकुचन आएको हो । गत आवको माघसम्म यस्तो कर्जा १ खर्ब ८२ अर्ब ८३ करोड ९० लाख रुपैयाँ प्रवाह भएको  राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।  

एकातिर सवारी साधन खरिद नेपालमा अन्य मुलुकको तुलनामा महँगो पर्न जान्छ  किनभने सवारी साधन आयातमा सरकारलाई बढी तिर्नुपर्ने भएकाले पनि यस्ता साधनको मूल्य तुलनात्मक रूपमा महँगो पर्न गएको हो । महँगोको बीचमा पनि बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकलाई खरिदमा सहज होस् भनेर किस्ताबन्दी रूपमा कर्जा उपलब्ध गराउँदै आएका छन् । बैंकहरूले यस्तो कर्जामा सामान्यतया धितो लिँदैनन् । तर, बैंकलाई ब्याज र किस्ता तिर्न सक्ने नियमित आम्दानीको स्रोत हेर्ने गर्छन् ।

बैंकले दुई पांग्रे वा चार पांग्रे व्यक्तिगत प्रयोजनका लागि लिने सवारी साधनलाई कर्जा प्रवाह गर्दै आएका छन् । केही बैंकले चार पांग्रे सवारीलाई मात्र कर्जा उपलब्ध गराएका छन् भने केहीले यी दुवै प्रकृतिका सवारीका लागि कर्जा दिएका छन् ।

हाल करिब साढे ७ प्रतिशतमा ४ पांग्रे व्यक्तिगत प्रयोजनका लागि कर्जा प्रवाह गर्दै आएको एनएमबी बैंकले यस्तो कर्जा दिनुअघि नियमित आम्दानी  पुष्टि हुने कागजात लिने गरेको छ । एनएमबी बैंक कर्जा विभागका अनुसार सामान्यतया यस्तो प्रकृतिको कर्जा ५ वर्षसम्म हुने र सोहीअनुसार ईएमआई (मासिक किस्ता) तिर्नुपर्छ । ‘बैंकहरूले व्यक्तिगत सवारी कर्जा का लागि सेवाग्राहीले आम्दानी पुष्टि गर्न आफ्नो तलबको आम्दानी, रोयल्टी आम्दानी वा घरभाडाजस्ता नियमित आम्दानीको स्रोत हेर्ने गर्छन् । सबै प्रक्रिया पुगेपछि आम्दानीअनुसार सवारीको मूल्यलाई आधार मानेर ५ वर्ष अवधिमा तिर्न सक्ने गरी मासिक किस्ताको गणना गरिन्छ,’ एनएमबी बैंक कर्जा विभागको भनाइ छ ।  

सवारी कर्जा लिनुअघि ध्यान दिनुपर्ने पक्ष
बैंकहरूले दिने कर्जामध्ये सबैभन्दा कम झन्झट हुने सवारी कर्जा हो । विशेषगरी यस्तो कर्जा लिनुअघि व्यक्तिले बैंकले कति ब्याजदरमा, कति अवधिसम्म, कति ईएमआई र डाउन पेमेन्टमा कर्जा प्रवाह गर्छन्, यसबारे पूर्वजानकारी राख्दा राम्रो हुन्छ ।

बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत सवारी साधन कर्जा विभिन्न चाडपर्वलाई लक्षित गरी स्किमसहित कम ब्याजदरमा पनि प्रवाह गर्ने गर्छन् । तर, सधैं चाडपर्व र स्किम हुँदैन । यसो नभए पनि प्रतिस्पर्धी बजारमा ब्याजदर घटीबढी हुन सक्छ । कर्जाका ब्याजदर निक्षेपको ब्याजदरमा भर पर्ने भएकाले यसको ब्याजदरबारे चासो राख्न जरुरी छ । अहिले बजारमा मुद्दती निक्षेपको ब्याजदर वाणिज्य बैंकहरूमा बैंकअनुसार न्यूनतम ६ प्रतिशतदेखि साढे ८ प्रतिशतसम्म रहेको छ । सामान्यतया जति थोरै निक्षेपको ब्याज त्यति कम कर्जाको ब्याजदर हुन्छ । अहिले यस्तो खाले कर्जा बैंकहरूले न्यूनतम साढे ७ प्रतिशतदेखि साढे ९ प्रतिशत हाराहारीमा दिएका छन् ।

ग्राहकले कर्जा लिँदा बैंकको सबै सम्झौता बुँदाहरू ध्यान दिएरै पढ्नुपर्छ किनभने बैंकहरूमा बेलाबेला लगानीयोग्य पुँजी कम र बढी हुने भएकाले ब्याज पनि तलमाथि हुन सक्ने हुँदा सोहीअनुसार सम्झौता गरेका हुन्छन् । यसर्थ, कर्जा सम्झौताका बुँदा राम्ररी पढेर हस्ताक्षर गर्नुपर्छ । यद्यपि नेपालमा ओभरड्राफ्टजस्ता व्यक्तिगत कर्जामा स्थिर ब्याजदरको प्रचलन आइसकेकाले बैंकहरूले यो सुविधा दिए यसअनुसार पनि लिन सकिन्छ ।

पछिल्लो समय सवारी तथा अटो कर्जाको समयावधि न्यूनतम ५ वर्षदेखि ७ वर्षसम्म तोकिएको छ । तर, सेवाग्राहीले आफूलाई उचित लाग्ने कम समयका लागि कर्जा माग पनि गर्न सक्छन् । यो अवधिभन्दा बढी भने बैंकहरूले बढाउन मान्दैनन् । जति कम अवधि, त्यति नै बढी किस्ता पर्छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह गर्दा ईएमआई स्किममा दिन्छन् ।  त्यसरी कर्जा प्रवाह गर्दा टर्म रिक्स कम हुन्छ । तलबी स्रोत हुनेलाई पनि महिना महिनामा थोरै–थोरै किस्ता तिर्दा सजिलो पर्छ । कर्जा लिनेले आफ्नो सजिलोका लागि मासिक किस्तामा तिर्ने गरेका छन् ।

बैंकअनुसार सवारी साधन किन्दा अनिर्वाय ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्छ । यसअघि यस्तो पेमेन्ट २० देखि ३५ प्रतिशत गर्नुपर्ने सुविधा थियो । तर, राष्ट्र बैंकले त्यसमा परिर्वतन गर्दै ५० प्रतिशत अनिवार्य गर्नुपर्ने प्रावधान ल्याएको हो ।

सवारी कर्जा लिने प्रक्रिया
सवारी तथा अटो कर्जा लिन चाहने व्यक्ति सुरुमा आफूले खरिद गर्न चाहेको सवारी साधनको मोडल र मूल्यबारे जानकार भएर बैंकमा जाँदा उचित हुन्छ । ऋणीले आफूले किन्न चाहेको गाडीको कोटेसन बैंकमा पठाउनुपर्छ । कोटेसन लिएर गएसँगै जमानी बस्ने व्यक्ति पनि लैजानुपर्ने बैंकर बताउँछन् । यसपछि  बैंकले कर्जा दिने प्रक्रिया अगाडि बढाउँछ ।  साथै, ऋणीले सवारी कम्पनी अर्थात् विक्रेताकहाँ गएर अनिवार्य डाउनपेमेन्ट तिर्नुपर्छ । यसरी रकम बुझाएपछि मात्रै अन्य बाँकी रकमका लागि अटोलोनबाट गाडी खरिद गर्न सकिन्छ ।

ऋण लिन चाहने व्यक्तिले अनिवार्य रकम तिरेपछि  बिक्रेता कम्पनीले कोटेसनसहित बैंकको कर्जा माग फाराम भर्नुपर्छ । ऋणी र जमानी बस्नेको नागरिकता आवश्यक पर्छ । साथै, ऋणीले फाराम भर्ने बेला नागरिकताको फोटोकपीसँगै २ प्रति फोटो र आम्दानीको स्रोत खुल्ने कागजात अनिवार्य रूपमा बुझाउनुपर्छ । सबै प्रक्रिया पूरा गरेपछि यातायातमा गएर पास गर्ने, नामसारी गरेपछि  गाडी बैंकको नाममा हुन्छ र बल्ल ऋणीलाई कर्जा दिन बाटो खुल्छ ।

बैंकले सबै कागजात सही भएको पुष्टि भएपछि ऋणीलाई कर्जा लिन बोलाउँछ । ऋण लिनुअघि अनिवार्य रूपमा बचत खाता खोल्नुपर्छ । यसपछि बैंकले ऋणीसँग ऋणको तमसुक गराउँछ । यस क्रममा बैंकले अटो कम्पनीलाई डेलिभरी अर्डरको पत्र पठाउँछ । बिक्रेता कम्पनीले डेलिभरी अर्डरको पत्र हात परेलगत्तै गाडी ऋणीलाई हस्तान्तरण गर्छ ।

यस्तो सबै कागजात जुटे र प्रक्रिया पूरा गरे करिब १ सातादेखि १० दिनसम्म कर्जा हात पार्न सकिने एनएमबी बैंक कर्जा विभागले बताएको छ ।  

बैंकबाट सवारी कर्जामार्फत लिएको सवारीको बिलबुक भने बैंकले आफ्नै नाममा राख्छ । ऋणीले तोकेको अवधिमा  बैंकलाई मासिक साँवा र ब्याज गरी सबै बक्यौता पेस गरेपछि अन्ततः बैंकले ऋणीको नाममा सवारी प्रदान गर्छ ।

बैंकबाहेक हायर पर्चेज कर्जा प्रवाह गर्ने सात वटा कम्पनीबाट पनि लिन सकिन्छ ।

पछिल्लो समय राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाअनुसार निजी प्रयोजनका लागिसमेत आयस्रोत हुनेले हायर पर्चेज कर्जा लिन पाउनेछन् । यसअघि कृषि, औद्योगिक र व्यावसायिक प्रयोजनका लागि मात्र कम्पनी वा संस्थाले सवारी साधन, मेसिनरी औजार, उपकरण खरिदमा यस्तो कर्जा उपयोग गर्न पाउने व्यवस्था थियो ।

किस्ता बुझाउन सक्षम र आयस्रोत भएका जुनसुकै व्यवसायमा आबद्ध सर्वसाधारणले हायर पर्चेज कर्जा लिन पाउँछन् । राष्ट्र बैंकमा दर्ता भएका हायर पर्चेज कर्जा प्रवाह गर्ने सात वटा कम्पनीमार्फत यो सुविधा लिन सकिन्छ । यस्तो कर्जा दिनुअघि संस्थाले ऋणीको व्यवसाय तथा आम्दानीको अवस्था, भविष्यमा गर्ने व्यवसायको थप जानकारी दिँदै जानुपर्ने, आवश्यक कागजात पेस गर्नुपर्र्नेलगायत सर्त पूरा गरेपछि संस्थालाई उपयुक्त लागे कर्जा प्रवाह गर्ने प्रावधान छ ।

यस्ता संस्थाले बैंकबाट कर्जा लिएर पुनर्कर्जा प्रवाह गर्छन् । उनीहरूले कर्जा सुविधामार्फत मेसिनरी उपकरण, सवारी साधनलगायत आफ्ना उत्पादन तथा विभिन्न ब्रान्डका उत्पादन डिलरको रूपमा रहेर ऋणीलाई बिक्री गर्छन् । बैंक र यस्तो संस्थाबीच कर्जा लेनदेनको करार हुन्छ । बैंकबाट ल्याएको कर्जाको ब्याजदरमा यस्तो संस्थाले अब ३ प्रतिशत मात्र ब्याजदर अन्तर (स्प्रेडदर) राखेर कर्जा प्रवाह गर्नुपर्नेछ । यसअघि यस्ता संस्थाले ३ दशमलव ५ प्रतिशत ब्याजदर अन्तर राखी कर्जा प्रवाह गर्दै आएका थिए । राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७० मा दोस्रो संशोधन गर्दै यस्तो ब्याजदर शून्य दशमलव ५ प्रतिशत घटाएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)