ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रेरणादायी सफल महिला उद्यमी

२०७७ फागुन, २४  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । महिलालाई पनि समान ज्याला र भोटको अधिकार हुनुपर्छ भन्दै अन्तर्राष्ट्रिय स्तरबाट सुरु भएको आन्दोलनले समान ज्याला र भोटको अधिकार मात्रै दिलाएन, अहिले आफ्नै व्यापार व्यवसाय सञ्चालन गर्न सक्नेसम्मको स्वतन्त्रता प्राप्ति भएको छ । नेपालमा उद्योग, व्यवसाय तथा व्यापारमा संघर्षरत सफल महिला उद्यमीहरूले व्यवसायीका छाता संगठनको नेतृत्व गरी इतिहाससमेत रचेका छन् । यसले गर्दा हाल उद्यम क्षेत्रमा क्रियाशील रहेका र उद्यम गर्न चाहने महिलाका लागि प्रेरणाका स्रोत बनेका छन् ।

पर्यटकीय स्तरका होटलदेखि ५ तारे डिलक्स होटेल तथा रिसोर्ट गरी ३ हजार ५ सयभन्दा बढि होटल सदस्य भएको होटेल एसोसिएसन नेपाल (हान) ले पहिलो पटक महिला अध्यक्षको रूपमा सिर्जना राणालाई पाएको छ । यसअघि उद्योग व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले पनि पहिलो पटक २०७४ मा भवानी राणालाई महिला अध्यक्षको रूपमा पाएको थियो ।

नेपालमा पछिल्ला दशकमा महिला उद्यमीको संख्यामा समेत वृद्धि देखिएको छ । पारिवारिक व्यवसाय सम्हाल्नेदेखि आफ्नै स–सानो लगानीमार्फत स्टार्टअप व्यवसाय सुरु गर्ने महिलाहरूको पनि संख्या बढ्दो क्रममा छ । यसको सफल उदाहरणका रूपमा खालीसिसीकी संस्थापक आयुषी केसीलाई लिन सकिन्छ । महिलाहरू घरको चुल्हो–चौका बाहिर निस्केर अहिले उद्योग, हस्पिटालिटी क्षेत्र, निर्माण र हाइड्रो, हस्तकला, सूचना प्रविधिलगायत क्षेत्रमा सफल र स्थापित छन् ।

१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सोमबार विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ । यही अवसरमा महिलाहरूले आफ्ना अनुभव, व्यवसायमा आउने उतारचढावको सामना र समाधान यसरी गर्नुपर्ने धारणा राख्छन् :

भवानी राणा
निवर्तमान अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

होटल, ट्राभल्स तथा कृषि व्यवसायमा सक्रिय राणा सकारात्मक सोच र बढी मिहिनेतले नै व्यवसाय क्षेत्रमा स्थापित हुन सघाउने सुनाउँछिन् । व्यापार, व्यवसायमा महिला सहभागिता बढे पनि गत वर्षदेखि जारी कोभिडका कारण यो क्षेत्रमा आउन चाहने र आएका नयाँ उद्यमीहरूलाई बढी प्रभाव परेको छ । नेपालजस्तो सानो अर्थतन्त्र भएको मुलुकमा स–सानो लगानीबाट अघि आएका महिलालाई अझ बढी चुनौती छ । अहिले समस्या छ भनेर मात्रै नहुने र यही बीचमा पनि अवसरमा अन्य आयाम खोज्नुपर्छ । नेपालमा पर्यटन क्षेत्र रिभाइव हुन केही समय लाग्ने भएकाले भ्यालु चेनमा रहेका कृषि उत्पादनमा महिला उद्यमीहरू लाग्नुपर्छ । यसका साथै आइटी पनि अवसरको क्षेत्र हो । महिलाहरू आर्थिक रूपमा सक्षम हुन जरुरी छ । यसका लागि आफूले गर्ने काम र क्षेत्रमा ध्यान दिनुपर्नेछ ।

शारदा रिजाल
अध्यक्ष, युनाइटेड नेपाल फेल्ट इन्डस्ट्रिज

लिमन नेपाल र युनाइटेड नेपाल फेल्ट इन्डस्ट्रिज कम्पनी स्थापना गरेर उद्योग सञ्चालन गर्दै आएकी रिजालले व्यवसायलाई निरन्तरता दिने कम मात्र हुने गरेको बताइन् । नाफाका लागि मात्रै काम गर्नेले कुनै पनि व्यवसायलाई निरन्तरता दिन नसक्ने हुँदा स्थापित हुन गाह्रो पर्छ । लगानीका लागि बजेट नहुँदा नाफा कमाउनुभन्दा इच्छाशक्ति लिएर अगाडि बढ्नुपर्छ । निर्यात व्यवसाय सजिलो छैन । यसमा धैर्य र लगनशील बढी हुनुपर्छ । तर, अहिले कोरोनाका कारण नयाँ आउनेलाई चुनौती छ । यो क्षेत्रमा आउँदा अवसर र जोखिम वहन गर्न सक्ने क्षमताको विकास हुन्छ । चुनौती व्यवस्थापन र धैर्य व्यवसायमा अपरिहार्य सर्त हो । अहिले महिलाहरूको संख्या बढ्दो क्रममा रहेकाले खुसी पनि लाग्छ । पहिलाको तुलनामा अहिले व्यवसाय गर्न सहज छ । नयाँ प्रविधिले व्यापारमा रहेका अवसर र क्षेत्रहरू सहज रूपमा खोज्न र मार्केटिङ गर्न सघाएको छ । अहिले आइटी क्षेत्र पनि लगानीका लागि राम्रो प्लाटफर्म हुन सक्छ । इच्छा राखे गर्न सकिने अवस्था छ भने अर्काेतर्फ तीव्र प्रतिस्पर्धाका कारण चुनौती भएकाले इनोभेटिभ तथा क्रियटिभ हुन भने जरुरी छ ।

सिर्जना राणा
कार्यकारी निर्देशक, होटल अन्नपूर्ण

महिलाहरूलाई धैर्य र सहनशीलताकै गुणले उद्यम, व्यवसायमा संघर्षरत रहन प्रेरित गर्छ । कोरोना भाइरस संक्रमणका बीच विगतमा भन्दा अहिलेको परिस्थितिमा महिलालाई काम गर्न अलिक अप्ठेरो भएको देखिन्छ, खासगरी पर्यटन क्षेत्रमा रहेका महिलाका लागि । तर, अवसर र वैकल्पिक उपाय खोज्ने महिलाका लागि भने खासै फरक परेन । कोभिडले धेरै कुरा सिकाएको छ भने घरबाटै काम गरेर पनि महिलाहरू उद्यमी बनेका छन् । घर–घरमा उद्यमशीलता विकास गरेको र सामाजिक सञ्जालबाट पनि महिलाहरूले खाना बनाउनेदेखि अचार तथा अन्य उत्पादनको मार्केटिङमा पनि आफैं अग्रसर हुन थालेका छन् । कोभिडले उद्यमी बन्न प्रेरित गरेको छ । यसले स्वदेशमै अवसरको खोजी गर्न प्रेरणा दिएको छ । व्यवसाय क्षेत्रमा चुनौती सबैलाई हुने भए पनि महिलालाई अझ बढी हुने गर्छ । यद्यपि लगनशील, हिम्मत भने राखिराख्नुपर्छ र यसबाटै सफल र स्थापित उद्यमी बन्न सकिन्छ । आन्तरिक पर्यटन, कृषि, आइटी महिला उद्यमीका लागि राम्रा क्षेत्र हुन सक्छन् ।

प्रमिला आचार्य रिजाल
अध्यक्ष, साउथ एसियन वुमन डेभलपमेन्ट फोरम

कोभिडको प्रभावले गर्दा सबैलाई चुनौती भए पनि महिलाहरूलाई बढी छ । स–सानो लगानीमा महिलाहरूले उद्योग, व्यवसाय सञ्चालन गर्दै आएका हुन्छन् । पुनः लगानी गर्न अलि समस्या हुने हुँदा केही गाह्रो पक्कै छ । त्यसका लागि नयाँ सोचसहित नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने चुनौती थपिएको छ । जस्तो, अनलाइन व्यवसाय निकै माथि उठेको छ । अनलाइनबाट अहिले व्यवसाय सुरु भएकाले महिलाहरू तयार थिएनन् । यसमा थप तालिम आवश्यक छ र महिलाहरू यसका लागि तयार हुनुपर्छ । महिलालाई अहिले प्रविधिको धेरै जानकारी नहुँदा व्यवसायलाई अघि बढाउन चुनौती देखियो । यसले गर्दा व्यवसाय क्षेत्रमा आउने उतारचढावलाई ध्यान दिएर लगानी र चुनौती वहन गर्न पछि हट्नुहुँदैन । अहिले धेरै महिला सेवा क्षेत्रमा लागेका छन् । पर्यटन, होमस्टे क्षेत्रमा लागेका महिलाहरू बढी प्रभावित छन् । निर्माण र हाइड्रो क्षेत्रमा भने कम महिला छन् । अहिले संस्थागत पहल गरेर नयाँ–नयाँ कार्यक्रम, तालिम तथा अवसर दिने तयारी गरिएको छ । देशमा रहेका कृषि, फलफूल क्षेत्रलाई व्यावसायिक रूपमा अघि बढाउन सकिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)