ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुँजी बजारका लगानीकर्तामध्ये ४१ प्रतिशत महिला

साउनयता ६ लाखभन्दा बढीको सहभागिता

२०७७ फागुन, २४  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । नेपालको शेयर बजारका कुल लगानीकर्तामध्ये ४१ प्रतिशत हिस्सा महिलाले ओगटेका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार फागुन २३ गतेसम्म खुलेको हितग्राही खातामध्ये ४१ प्रतिशत महिलाको नाममा रहेको छ ।

यो दिनसम्म ३१ लाख २८ हजार ३२५ वटा हितग्राही खाता खोलिएकामा १२ लाख ८४ हजार ५५१ हितग्राही खाता महिलाको नामका रहेका छन् ।

हितग्राही खाता शेयर कारोबारकै लागि खोलिने गरिन्छ । चालू आर्थिक वर्षको सुरुदेखि हालसम्म १३ लाख ७४ हजार २८८ हितग्राही खाता थपिएका छन् । गत असार मसान्तसम्म हितग्राही खाताको संख्या १७ लाख ५४ हजार ३७ मात्र रहेको थियो ।

साउन लागेयता शेयर कारोबारका लागि खोलिएका हितग्राही खातामध्ये ६ लाख ८ हजार ५८४ महिलाको नामका रहेका छन् । नेपालको शेयर बजारमा पनि महिला सहभागिता बढ्दै गएको देखिन्छ । आधारभूत र प्राविधिक विश्लेषणसहित लगानी गर्नुपर्ने यो क्षेत्रमा लगानी गरी धेरै महिला आत्मनिर्भर पनि हुँदै गएका छन् ।

प्राथमिक बजारमा खरिद गरेका आईपीओ बिक्री गर्नेदेखि दोस्रो बजारमा शेयर खरिद गर्न महिलाहरू सक्रिय रूपमा सहभागी  भएको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली बताउँछन् । प्राथमिक बजारको तुलनामा दोस्रो बजारमा महिलाको सहभागिता केही कम देखिए पनि सक्रियता भने पुरुष समान रहेको मैनालीको भनाइ छ ।

पहिला ब्रोकर कार्यालयमा फ्लोरसिट ओपन हुँदा महिलाहरू स्वयं उपस्थित भएर कारोबारमा सहभागी भएको अवस्था थियो । अहिले अनलाइनमार्फत पनि धेरै महिलाहरू सहभागी भई कारोबार गरिरहेको उनले जानकारी दिए । यही क्षेत्रमा लागेर आत्मनिर्भर भएका धेरै महिलाहरू अझै पनि बजारमै सक्रिय रहेको उनी बताउँछन् ।

अर्थतन्त्रका अन्य क्षेत्रमा जस्तै यो क्षेत्रमा पनि जोखिमको सामना गर्दै आफूलाई स्थापित गर्न सफल धेरै महिलामध्ये केही महिलाको अनुभव प्रस्तुत गरेका छौं :

दुर्गा तिवारी
सचिव, नेपाल इन्भेस्टर्स फोरम

म शेयर बजार प्रवेश गरेको १४ वर्ष भयो । यस अवधिमा बजारमा धेरै उताचढाव आए पनि हरेक मोडसँग जुध्दै अघि बढें । जुनसुकै क्षेत्रमा पनि जोखिम उत्तिकै हो । जोखिम मोलेर अघि बढ्न सके जस्तोसुकै परिस्थितिमा एक न एक दिन अवश्य सफल भइन्छ । एक दशक लामो अनुभवमा यो क्षेत्रमा गुमाएको भन्दा पनि बढी कमाएकी छु । हरेक महिला आर्थिक रूपमा आत्मनिर्भर हुनु भनेको देशकै लागि ठूलो कुरा हो । विश्वको पुँजी बजारलाई हेर्दा महिला सहभागिता पुरुषको तुलनामा अत्यन्तै न्यून छ । आर्थिक रूपमा जबसम्म महिला आत्मनिर्भर हुन सक्दैनन्, तबसम्म समाजमा महिलाको स्तरमा तात्विक भिन्नता आउन सक्दैन ।

राधा पोखरेल
अध्यक्ष, नेपाल पुँजी बजार लगानीकर्ता संघ

१६ वर्षको उमेरदेखि नै आईपीओ भर्न सुरु गरेकी हुँ । युवाहरूका लागि शेयर बजारलाई लगानीको उत्तम क्षेत्रको रूपमा पाएँ । विशेषगरी महिलाका लागि यो क्षेत्र अझ प्रभावकारी हुने रहेछ । हामी महिलालाई आफ्नो व्यावसायिकसँगै पारिवारिक जिम्मेवारी अझ बढी हुने हुँदा यो क्षेत्र समय व्यवस्थापनका लागि सहज छ । थोरै लगानीबाट पनि यो क्षेत्रमा धेरै कमाउने सम्भावना भएकाले पनि म निरन्तर यही क्षेत्रमै छु ।

संरक्षणा चौधरी
अध्यक्ष, नेपाल पुँजी बजार संघ

करिब ७ वर्षदेखि म यो क्षेत्रमा छु । जुन बेला यो क्षेत्रमा प्रवेश गरें, त्यसबेला बजारबारे सामान्य ज्ञान पनि थिएन । रातो र हरियोबाट सुरु भएको ज्ञान अहिले आएर कम्पनीको प्रोफाइलदेखि दीर्घकालीन एवं अल्पकालिन लगानीसमेत छुट्याउने सकिने खुबी प्राप्त भएको छ ।

यो क्षेत्रमा आफूलाई लगानीकर्ताको रूपमा स्थापित गर्न सक्नु नै सबैभन्दा ठूलो उपलब्धि हो जस्तो लाग्छ । आधा दशकको अनुभवमा लगानीकर्ताको हकहितका लागि पहल गर्दै आफूलाई पनि यही क्षेत्रमा स्थापित गर्न सफल भएकी छु ।
 
सिर्जना सुवेदी
सदस्य ,नेपाल इन्भेस्टर्स फोरम

मेलै यो क्षेत्रमा १२ वर्षदेखि लगानी गरिरहेकी छु । सुरुका दिनमा बजारबारे  बुझ्न आईपीओमा लगानी गरेकी हुँ । कागजी युगको शेयर कारोबारदेखि अहिलेको प्रविधिसम्मको अनुभवले यो क्षेत्रमा लगानी गर्न अन्य क्षेत्रमा जस्तै चुनौती छ । तर, चुनौतीले नै मानिसलाई सफल बनाउने रहेछ । यही क्षेत्रमा लागेर राम्रो आम्दानी गरिरहेकाले आफूलाई सफल लगानीकर्ता ठान्छु ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)