काठमाडौं । नयाँ प्रविधिको प्रयोगबाट सस्तो र आकर्षक घर बनाउन प्रि–फ्याबको प्रयोग गर्नु सबैभन्दा उत्तम र भरपर्दो मानिन्छ । विशेषगरी नेपालमा पछिल्लो समय २०७२ को भूकम्पपछि यस प्रविधिको प्रयोग गरी घर बनाउनेको संख्या बढ्दो क्रममा रहेको सरोकारवाला बताउँछन् ।
यस्तो घरमा पहिले नै बनेका रेडिमेड सामान प्रयोग हुने भएकाले यसलाई प्रि–फ्याबको घर भनिएको हो । आवास तथा कार्यालय प्रयोजनका लागि सबैभन्दा छिटो र सस्तो मूल्यमा यस्तो प्रविधिको घर बनाउन सकिने भएकाले हाल यस्ता प्रविधिका घरतर्फ सर्वसाधारणको चासो बढ्दै गएको देखिन्छ । चार कोठासम्मको घरका लागि १३ देखि १५ लाख रुपैयाँसम्म खर्च लाग्न सक्ने इन्जिनियर विकास महर्जन बताउँछन् । यस प्रविधिको घरको अवधि करिब ३० देखि ३५ वर्षजति हुने उनको भनाइ छ ।
महर्जनका अनुसार यो प्रविधिको घर नेपाल सरकारबाट समेत मान्यता प्राप्त भएकाले घर बनाउनुभन्दा पहिले आफू बस्ने स्थानीय निकायबाट यसको नक्सा पास गराउनुपर्दछ । नेपाल सरकारबाटै मान्यता प्राप्त घर भएकाले यस्तो घरलाई बैंकले ऋण दिने उनले बताए । सबैभन्दा पहिले स्थानीय निकायबाट नक्सापास गराएर आफूलाई घर बनाउन उपयुक्त हुने जग्गाको नापजाँच भएपछि जग्गामा भएको अग्लो–होचो स्थानलाई सम्याउने काम गर्नुपर्दछ ।
हात्तीपाइले राख्न सामान्यतया यसको गहिराइ ५ फिटजति हुनुपर्ने भए पनि घर बनाउने स्थानको माटोअनुसार बढाउन वा घटाउन पनि सकिन्छ । यस प्रकारको घरको ढलान वा जग पनि अन्य घरको ढलानजस्तै हुने गर्दछ । त्यसैले पिलर उठाउँदा बेसमा सिमेन्ट, छडलगायत आवश्यक सामग्री प्रयोगमा अन्य घरको जस्तै प्रक्रिया हुने गर्दछ । तर, पिलर भने प्रायः फलामकै हुने गर्दछ ।
पिलर राखिसकेपछि घर बनाइएको स्थानको माटो वा आफ्नो आवश्यकताअनुसार ४ इन्चदेखि ६ इन्चसम्मको फलोर ढलान गर्नुपर्दछ । यसमा लगभग अन्य घरको जस्तै प्रक्रिया हुने गर्दछ । फलोरमा ढलान गरिसकेपछि छाना छाउन जस्तापाताको प्रयोग गर्न सकिन्छ । तर, जस्तापाताभन्दा प्रि–फ्याबकै पाता राख्ने चलन बढी छ ।
घरको बेस तयार भइसकेछि वाल बनाउँदा इँटा, कंक्रिट प्यानल वा ब्लकको प्रयोग गर्न सकिन्छ । झ्याल तथा ढोकाका लागि कोठा वा वाल पार्टेसन गर्ने समयमै ठाउँ छाड्नुपर्दछ । यस्तो प्रकारका घरमा काठका ढोका वा झ्यालभन्दा पनि आल्मुनियमका झ्याल तथा ढोकाको प्रयोग गरिएको हुन्छ ।
घरमा पाइप, मार्बल फिटिङ तथा कलर लगाउने कामसमेत सँगसँगै गर्दै जानुपर्दछ । यसो गर्नाले समय तथा पैसाको बचत हुने गर्दछ । यसरी एउटा पूर्ण घर तयार हुने गर्दछ । वातावरणमैत्री हुने भएकाले यो घरमा बस्दा गर्मी महिनामा बढी गर्मी वा जाडोमा अत्यधिक जाडो हुँदैन ।