काठमाडौं । घरमा रङ लगाउँदा एसियन पेन्टस्, पशुपति पेन्टस्, बर्जर पेन्टस्लगायत विभिन्न रङको प्रयोग हुने गरेको छ । यी सबै रङको आफ्नै किसिमका फाइदा छन् । हालको बजार मूल्यअनुसार यी तीनै प्रकारका रङको प्रयोग गरी ४ आनामा बनेको साढे २ तलासम्मको घर रंग्याउँदा करिब साढे ४ लाखसम्म लागत लाग्ने बताइन्छ ।
वर्षौंदेखिको मिहिनेत र परिश्रम खर्चिएर बनाइएको घर रंग्याउँदा जथाभावी वा हतारमा निर्णय गरेर सस्तो र गुणस्तरहीन रङको प्रयोग नगर्न सरोकारवालाहरू सुझाउँछन् । विशेषगरी सस्तो मूल्यको रङ प्रयोगले घरमा बस्ने मानिसको स्वास्थ्यमा समेत असर पार्ने र चाँडै नै घरका बाहिरी भित्ताबाट पानीले रङ पखालिएर जाने हुँदा घरको सुन्दरतासमेत नासिन सक्छ ।
बाहिरी र भित्री भित्तामा लगाइने रङको गुणस्तर र मूल्य पनि फरक–फरक हुने गर्दछ । बाहिरी भित्ताहरू रंग्याउँदा विशेषगरी एपेक्स अल्टिमाको प्रयोग गरिन्छ । यो वाटर प्रुफ हुने भएकाले एक पटक लगाएपछि १० वर्षसम्म चल्ने व्यवसायीहरू बताउँछन् । एपेक्स अल्टिमाअन्तर्गत पनि अरू थुप्रै रङ हुन्छन् । यिनीहरूको गुणस्तरअनुसार फरक–फरक मूल्य हुने गर्दछ । आफ्नो रोजाइ, आवश्यकता र बजेटअनुसार उपभोक्ताले रङको छनोट गर्न सक्छन् ।
त्यसैगरी भित्रि भित्ताहरू रंग्याउन भने ट्रेक्टर इमुल्सन पेन्ट, इमुल्सन साइनी, डिस्टेम्परलगायत रङ लगाइन्छ । यी रङ बाहिरी भित्तामा लगाइनेभन्दा सस्तो हुने महर्जन पेन्टस् कीर्तिपुरका सञ्चालक कृष्ण महर्जन बताउँछन् । उनका अनुसार भित्री भित्तामा बाहिरको जस्तो पानीले असर नगर्ने भएकाले मानिसले सस्तो रङ नै लगाउने गर्छन् ।
घरको साइज, डिजाइन र कति आनामा घर बनेको छ, त्यसअनुसारले लाग्ने खर्च फरक हुन सक्छ । तर, साढे तीनदेखि चार आनासम्ममा बनेको साढे २ तलासम्मको घरमा करिब साढे ४ लाखसम्म खर्च लाग्न सक्छ । नेपालमा एसियन पेन्टस्, पशुपति पेन्टस्, बर्जर पेन्टस्लगायत धेरै किसिमका रङ पाइने हुँदा उपभोक्ताले छानीछानी प्रयोग गर्न सक्ने अवस्था रहेको उनले बताए ।
घरमा रङ लगाउनुभन्दा पहिले व्यावसायिक रूपमा घर पेन्ट गरिरहेका व्यक्तिहरूसँग सल्लाह–सुझाव लिने गरे रङको छनोट गर्न र कति मात्रामा रङ आवश्यक पर्ने हो भन्नेबारे जानकारी लिन सकिन्छ । मेसिनको प्रयोगबाट अनेकौं रङ बनाउन सकिने भएकाले आफ्नो इच्छाअनुसारको रङ छान्न सकिन्छ ।