कोभिडको कारण थला परेको अर्थबजार विस्तारै चलायमान हुँदै जाँदा निर्यातमा गतवर्षको तुलनामा केही सुधारको संकेत देखिएको छ । पाम आयलको निकासीमा प्रतिबन्ध र कोभिड महामारी नियन्त्रणका लागि गरिएको लामो समयको बन्दाबन्दीले व्यापारघाटा चुलिँदै गएकोमा पछिल्लो समय निर्यात व्यापार ७ दशमलव ८४ प्रतिशतले बढेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार गत आवको ८ महीनाको तुलनामा चालू आवको सोही अवधिमा निर्यात व्यापार करीब ८ प्रतिशतले सुधारिएको हो । चालू आवको पहिलो ८ महीनामा ८० अर्ब ७७ करोड रुपैयाँको निर्यात भएको छ । ऊनी, गलैंचा, कपडा, चिया लगायतको निर्यात पछिल्लो समय बढेको छ ।
गत आवको ८ महीनामा आयात व्यापार ९ खर्ब २४ अर्ब २४ करोड रुपैयाँ थियो भने चालू आवमा यो २ दशमलव १४ प्रतिशतले बढेर ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँ पुगेको विभागको तथ्यांक छ । बन्दाबन्दीको बेला मासिक ८० देखि ९० अर्बको आयात भए पनि फागुन महीनामा १ खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको आयात भएको देखिएको छ ।
भन्सार विभागका अनुसार ८ महीनामा व्यापार घाटा १ दशमलव ६३ प्रतिशतले बढेर ८ खर्ब ६३ अर्ब २० करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अधिमा व्यापार घाटा ८ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ थियो ।
आफ्नो उत्पादन न्यून रूपमा निकासी हुनु र उपभोग्य वस्तुमा समेत परनिर्भरताका कारण ठूलो व्यापार घाटा बेहोरिरहेको अर्थतन्त्रमा थोरै मात्रामा भए पनि सुधार हुनुलाई अर्थविद्हरूले ‘कालो बादलमा चाँदीको घेरा’को संज्ञा दिएका छन् ।
‘मेरो देश, मेरै उत्पादन’को मूल नारा अघि सार्दै उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले परनिर्भरता घटाउने एवं व्यापार घाटा कम गर्ने उद्देश्यले ल्याएको कार्यक्रमको शुभारम्भ गर्दै २ साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापार घाटा कम गराउन स्वदेशी उत्पादनको उपभोग गर्न सबैलाई आग्रह गर्नुभएको थिया । उहाँले ‘मेरो देश, मेरै उत्पादन’लाई सबैले आत्मसात् गरेर अघि बढ्नुपर्ने र आफूलाई खान पुग्नेगरी नेपालीले आफै उत्पादन गर्नुपर्नेमा जोड दिनुभएको थियो । पहिले आफूले खान पुग्नेगरी र त्यसपछि छिमेकीलाई पनि दिन पुग्नेगरी उत्पादन गर्न उहाँको आग्रह थियो । प्रधानमन्त्री ओलीले निर्यात ७ दशमलव ८४ प्रतिशतले बढ्नु सुखद भएको बताउनु भएको थियो ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल बन्दाबन्दीका बेला बोर्डर बन्द हुँदा पनि स्वदेशी उद्योगले उपभोक्तालाई सहज रूपमा आपूर्ति गर्न सकेकाले ‘मेरो देश, मेरै उत्पादन’को अवधारणाको विकास भएको बताउँछन् । ‘आफ्नै उत्पादनको खपत बढाउन र आयात निरुत्साहन गर्न सक्नुपर्ने अठोटका साथ यो अभियान शुरू गरिएको हो,’ उनले भने, ‘जसले मुलुकको अर्थतन्त्रलाई मजबूत बनाउँछ र व्यापार घाटा समेत कम हुन्छ ।’
कोरोनाको कारण थलिएको बजार पहिलेकै अवस्थामा आए पनि राज्यले पुनः अर्थतन्त्रलाई स्थायी रूपमै मजबूत बनाउन तयारी वस्तु र आयातित वस्तुबीच दुई तहको फरक भन्सार शुल्क तोकिनुपर्ने, नेपालमै पुग्नेगरी उत्पादन हुने वस्तु आयात भएमा त्यस्ता वस्तुलाई एन्टिडम्पिङ शुल्क लगाइनुपर्ने, खुला बोर्डर नियन्त्रण गरिनुपर्ने सरकारले आत्मनिर्भर भएका वस्तुको भारत निर्यात गर्दा पनि क्यास सब्सिडी दिनुपर्ने सुझाव अध्यक्ष प्याकुरेलको छ । ‘सरकारले विहार, उत्तरप्रदेश, बंगाल र आसामको ३० करोड उपभोक्ता लक्षित उदार खाले नीति ल्याएर यी क्षेत्रमा नेपालको उत्पादन पु¥याउने लक्ष्य राखे आत्मनिर्भर अर्थतन्त्रमा जान सकिन्छ,’ उनले भने ।
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडले कोरोनाको महामारीको बेलामा पनि निर्यातमा देखिएको वृद्धिले कालो बादलमा चाँदीको घेराको संकेत गरेको बताए । ‘कुनै पनि संकटको बेला केही सकारात्मकता पनि देखिने गर्छ,’ उनले भने, ‘जुन पछिल्लो समय निर्यातमा आएको सानो सुधार हो ।’
दुगडले मुलुकमा नभएका उद्योगहरू स्थापना गर्ने, विलासिताका वस्तुको आयातमा निरुत्साहन गर्दै जाने, कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुने र साना तथा घरेलु उद्योगलाई औद्योगिक ग्राममार्फत प्रोत्साहन गरी व्यापारघाटा कम गराउन सकिने बताए । उद्योगहरूलाई दिइँदै आएको सुविधामा थप गर्ने र औद्योगिक वातावरण राम्रो बनाएर निर्यातमूलक वस्तुको खोजी गरी त्यस्ता उद्योगलाई प्रोत्साहन गर्ने योजनामा सरकार रहेको बताए । कृषिप्रधान मुलुक भनिए पनि आत्मनिर्भरतर्फ नगएकाले सबै खाद्यवस्तु आयात गर्नु परिरहेको भन्दै उनले यस्तो अवस्था अन्त्य गर्न सरकार लागिपरेको उल्लेख गरे ।
चालू आवको ८ महीनामा सबैभन्दा बढी डिजेल आयात भएको छ । ४७ अर्ब ४९ करोड मूल्यको यो अवधिमा १० लाख १२ हजार ५७ किलोलिटर डिजेल आयात भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा भने ६७ अर्ब ३ करोड रुपैयाँको १० लाख २६ हजार ९५ किलोलिटर डिजेल आयात भएको थियो । डिजेलको आयात परिमाण घटेकाले रकम कम भएको हो ।
सबैभन्दा बढी आयात हुने वस्तुको दोस्रो स्थानमा एमएस बिलेट परेको छ । यसको आयात ४४ अर्ब ४५ करोड रुपैयाँको भएको छ । गतवर्षको ८ महीनामा ३२ अर्ब २४ करोड रुपैयाँको मात्रै आयात भएको थियो । ८ महीनामै २६ अर्ब ३० करोड रुपैयाँको मोबाइल सेट आयात भएको छ । गत आर्थिक वर्षको पहिलो ८ महीनामा १४ अर्ब ३७ करोड रुपैयाँको आयात भएको थियो ।
चौथो स्थानमा भने भटमास (कच्चा पदार्थको रूपमा)को आयात भएको छ । ८ महीनाको अवधिमा यो २५ अर्ब २ करोड रुपैयाँको आयात भएको छ । एलपी ग्यास आयातमा २१ अर्ब ५ करोड, तयारी कपडा आयातमा २० अर्ब ८ करोड र पेट्रोल खरीदमा १९ अर्ब २६ करोड रुपैयाँ विदेशिएको छ । ८ महीनाकै अवधिमा १९ अर्ब १७ करोडको चामल आएको छ ।
नेपालबाट निर्यात भएका वस्तुमध्ये सबैभन्दा अगाडि भटमास तेल छ । कच्चापदार्थ आयात गरेर प्रशोधन गरी तयारी तेलको निकासी हुने गरेको छ । भारतले पाम आयलको निकासीमा बन्देज लगाएपछि भटमासको तेलको निकासी बढेको हो ।
चालू आवको ८ महीनामा २३ अर्ब १२ करोड रुपैयाँको भटमास तेल निर्यात भएको विभागको तथ्यांक छ । गत आवको सोही अवधिमा भने ७ अर्ब ५२ करोड रुपैयाँको निर्यात भएको थियो । भटमास तेल उत्पादनका लागि व्यवसायीले ब्राजिल, अर्जेन्टिना, सिंगापुर र मलेशियाबाट यसको कच्चापदार्थ आयात गर्दै आएका छन् ।
निर्यातको दोस्रो स्थानमा रहेको सेन्थेटिक यार्न ५ अर्ब १ करोड रुपैयाँको निर्यात भएको छ । गत आवको सोही अवधिमा भने ५ अर्ब ९२ करोड रुपैयाँको निर्यात भएको विभागको तथ्यांक छ ।
अलैंचीको निर्यात पनि उल्लेख बढेको छ । गत आवको ८ महीनामा ३ अर्ब २२ करोड रुपैयाँको निर्यात भएको अलैंची चालू आवको सोही अवधिमा ४ अर्ब ९५ करोड रुपैयाँको निर्यात भएको छ । निर्यातको चौथो स्थानमा ऊनी गलैंचा÷कार्पेट रहेको छ । यस अवधिमा ४ अर्ब ७४ करोड रुपैयाँको ऊनी गलैंचा/कार्पेट निर्यात भएको छ । यस्तै ३ अर्ब ६१ करोडको तयारी कपडा, ३ अर्बको चिया र २ अर्ब ९१ करोड रुपैयाँको जुटका बुनिएका कपडा निर्यात भएको विभागको तथ्यांक छ ।