काठमाडौं । घरमा आरामदायी बसाइ तथा कोठा सजाउने विषयमा सोफाले निकै सहयोग गर्दछ । आफ्नो रोजाइअनुसार बजारमा विभिन्न डिजाइन तथा मूल्यका सोफा खरिद गर्न सकिन्छ । सोफा किन्नुपूर्व यसको डिजाइन तथा मूल्यसम्बन्धी सामान्य जानकारी राख्नु आवश्यक हुन्छ ।
आफूलाई कस्तो सोफा आवश्यक छ र कति रकम खर्चिने भन्ने कुराको जानकारी लिनैपर्ने हुन्छ । सामान्यतया सोफामा प्रयोग भएको काठ, लुगा, रंग र र्यागजिनजस्ता सामानको आधारमा यसको मूल्य निर्धारण हुने गर्छ । बेडमा प्रायजसो सिसौका काठ प्रयोग भएको हुन्छ ।
सोफामा उत्तिसको काठको प्रयोग हुने गर्दछ । नेपालमा सोफाको साइज, डिजाइन र त्यसमा प्रयोग भएको सामानको आधारमा १० हजारदेखि १ लाख २५ हजार रुपैयाँसम्मका सोफा बजारमा उपलब्ध छन् । सामान्यतया सिंगल सिटदेखि ७/८ वटा सिट भएका सोफा पनि बजारमा उपलब्ध छन् ।
महर्जन फर्निचर सेन्टर कीर्तिपुरका राजु महर्जनका अनुसार घरमा प्रयोग हुने सोफा किन्दा प्रायः ४ वटासम्म सिट भएका सोफा किन्नु उपयुक्त हुन्छ भने कार्यालय प्रयोजनका लागि ४ वटाभन्दा बढी सिट भएका सोफा किन्नुपर्छ ।
यद्यपि आफ्नो घर, कोठा तथा कार्यालयमा ठाउँको उपलब्धताअनुसार सानो वा ठूलो साइजका सोफा खरिद गर्न सकिन्छ ।
महर्जनका अनुसार धुन सजिलो हुने भएकाले घरमा प्रयोग हुने सोफामा प्रायः कपडाको प्रयोग भएको हुन्छ भने अफिस तथा कार्यालयमा प्रयोग हुने सोफामा ¥यागजिन र लेदर प्रयोग गरिएको हुन्छ । सोफा किन्दा कतिपय व्यापारीले त्यससँगै कुसन तथा टुल पनि दिने गर्छन् ।
कर्नर सोफा :
दायाँतर्फ ३ र बायाँतर्फ २ सिट गरी यसमा जम्मा ५ वटा सिट हुन्छन् र बीचको कुनामा चिया तथा कफी राख्न ३० इन्चको सिसा राखिएकाले टेबलको कामसमेत गर्दछ । त्यसकारण यसलाई कर्नर सोफा भनिएको हो ।यसमा प्रयोग गरिएका फोम, सिसा र कपडाको गुणस्तरका आधारमा यसको मूल्य ३२ हजारदेखि ७५ हजार रुपैयाँसम्म रहेको छ । २ सिटको कुल लम्बाइ साढे ६ फिट र ३ सिटतर्फको लम्बाइ साढे ८ फिटसम्मको लम्बाइ भएको कर्नर सोफाको मूल्य ३२ हजार रुपैयाँ पर्दछ भने ६ इन्चको फोमको प्रयोग गरिएको हुन्छ ।
यस सोफामा ५ देखि ७ वर्षसम्मको वारेन्टी दिइने गरिन्छ । यसमा प्रयोग भएको उत्तिसको काठ २० वर्षसम्म टिकाउ हुने गर्दछ । १६/१६ साइजको कुसन र ४ वटा मुढा सँगै आउने गर्दछ । घरमा धेरै जना पाहुना आउँदा ती मुढाहरू प्रयोगमा ल्याउन सकिन्छ ।
माछा ह्यान्डल सोफ :
दायाँ र बायाँतिरको साइज माछा आकारको हुने भएकाले यसलाई माछा ह्यान्डल सोफा भनिएको हो । यसको मूल्य ५० हजार रुपैयाँसम्म पर्ने गर्दछ । यसमा पनि दायाँतर्फ ३ र बायाँतर्फ २ सिट गरी जम्मा ५ वटा सिट हुने गर्दछ ।
देवान सोफा :
एउटा मात्रै सिट हुने यस सोफाको मूल्य १० हजार रुपैयाँसम्म पर्ने गर्दछ । यस्तो सोफाको प्रयोग प्रायजसो घरमा हुने गर्दछ । यसमा ९ इन्चसम्मको फोमको प्रयोग भएको हुन्छ भने ग्राहकको चाहनाअनुसारका रंगको कपडा प्रयोग गर्न सकिन्छ ।
डायमन्ड हाता सोफा :
यस सोफामा र्यागजिन र कपडाको प्रयोग गरिएको हुन्छ । यसको लम्बाइ र चौडाइ साढे ७/साढे ९ फिटको हुन्छ । यसमा पनि दुवैतर्फ गरी ५ वटा सिट रहेको हुन्छ । यसको मूल्य सामान्यतया ५० हजार देखि ५५ हजार रुपैयाँसम्म पर्ने गर्दछ ।
चाबीहाता सोफा :
चाबीहाता सोफामा सामान्यतया दायाँतर्फ २ र बायाँतर्फ ३ सिट गरी कुल ५ सिट हुने गर्दछ । २ सिटतर्फ साढे ६ र ३ सिटतर्फ साढे ८ फिट लम्बाइ हुन्छ भने ५ इन्चको फोम प्रयोग गरिएको हुन्छ । यस्तो खाले सोफा खरिद गर्दा टी टेबल पनि सँगै आउँछ भने यसको मूल्य ३५ हजार रुपैयाँसम्म पर्ने गर्दछ ।