काठमाडौं । घर, अफिस र होटल तथा रेस्टुराँहरूका लागि आवश्यक पर्ने टेबल खरिद गर्दा मूल्यदेखि लिएर बलियो काठको छनोट गर्नु उपयुक्त हुन्छ । टेबल किन्दा केही महत्वपूर्ण विषयमा जानकारी राख्नु बुद्धिमानी मानिन्छ । त्यसैले टेबल खरिद गर्दा अपनाउनुपर्ने विषयलाई उल्लेख गरिएको छ ।
घर, अफिस, होटल र रेस्टुराँलगायत स्थानमा टेबल नभई नहुने अत्यावश्यक सामग्री हो । यी सबै स्थानमा आवश्यक पर्ने टेबलको डिजाइन, तिनमा प्रयोग गरिने सामग्री र मूल्य केही फरक हुन्छ । टेबलमा प्रायः सिसौको काठ, ग्रेनाइट र सिसा पनि प्रयोग गरिएको हुन्छ ।
डाइनिङ टेबल
घरको डाइनिङ हलमा खाना खान प्रयोग हुने भएकाले यो टेबललाई डाइनिङ टेबलको नामले चिनिन्छ । विशेषगरी यसमा सिसौको काठ प्रयोग भएको हुन्छ । सामान्यतया यसको ३ फिट गुणा ६ फिट र ४ फिट गुणा ८ फिटसम्मको हुने गर्छ भने गोलकार वा अण्डाकार आकारको हुन्छ । कसै– कसैले आयातकारमा पनि खोज्ने गरेको बालकुमारी काष्ठ उद्योग कीर्तिपुरका प्रोप्राइटर सन्तोष बस्नेत बताउँछन् । ग्राहकले यस्तो सामान किन्दा प्रायशः सेट नै खरिद गर्ने भएकाले ३ फिट गुणा ६ फिटमा ४ वटा कुर्सी र ४ फिट गुणा ८ फिटको टेबलमा ६ वटासम्म कुर्सी प्रयोग गर्न सकिन्छ । कुर्सीसहित पूरै सेट खरिद गर्दा यस्तो टेबलको मूल्य अहिले ४० हजारदेखि ६० हजार रुपैयाँ हाराहारी पर्न आउने उनले बताए । यस्ता टेबलमा ५ वर्षसम्म वारेन्टीसहित काठमाडौं उपत्यकाभित्र निःशुल्क डेलिभरीसमेत हुने गरेको उनको भनाइ छ ।
ग्रेनाइट डाइनिङ टेबल
यो टेबल विशेषगरी होटल तथा रेस्टुरेन्टका गार्डेन वा कौसीमा बसेर खानपिन गर्न प्रयोग हुने गर्दछ । यसको निर्माण गर्दा माथिल्लो भागमा काठको ठाउँमा ग्रेनाइट प्रयोग भएको हुन्छ भने यसको खुट्टा भने स्टिल वा फलामले बनेको हुन्छ । सामान्यतया यो टेबल २ फिट गुणा ४ फिट र ३ फिट गुणा ६ फिटको साइजमा हुन्छ ।
यद्यपि ग्राहकले आफ्नो आवश्यकताअनुसारको साइजमा अर्डर गर्न सक्छन् । २ फिट गुणा ४ फिटको सेटमा ४ वटा कुर्सीसहित २० हजार रुपैयाँ र ३ फिट गुणा ६ फिटको सेटमा ६ वटा कुर्सीसहित ३५ हजार रुपैयाँसम्म मूल्य पर्दछ । यसमा प्रयोग गरिने सामान, साइज र कुर्सीको डिजाइनका आधारमा पनि यसको मूल्य फरक पर्न सक्ने बस्नेत सुनाउँछन् ।
स्टडी टेबल
प्रायजसो विद्यार्थीहरूका लागि पढ्न यो टेबल प्रयोग गरिन्छ । यसको साइज प्रायः २ फिट गुणा ४ फिटको हुने गर्दछ भने १५ सयदेखि २५ सय रुपैयाँमा यो टेबल खरिद गर्न सकिन्छ ।
टी टेबल
यी टेबलहरू अण्डाकार तथा आयातकार दुवै साइजमा बजारबाट खरिद गर्न सकिन्छ । पूर्ण रूपमा काठबाट बनेको टेबललाई २५ सयदेखि ३ हजार रुपैयाँसम्म पर्दछ भने सिसाको प्रयोग भएको टेबललाई ५ हजार रुपैयाँसम्म पर्दछ ।
अफिस टेबल
विभिन्न सरकारी, निजी कार्यालयमा प्रयोग हुने यस्ता टेबलको साइज सामान्यतया २÷४ को हुने गर्दछ । यसमा घर्रा र लकिङ सिस्टम पनि राखिएको हुन्छ । यसको हालको बजार मूल्य ११ हजारदेखि १५ हजार रुपैयाँसम्म पर्दछ ।