ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यसरी गर्नुस् गुलाब फूलको खेती

२०७८ बैशाख, ३१  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । फूलहरूको रानीको रूपमा चिनिने गुलाब विश्वमै सबैभन्दा बढी प्रचलित फूलमध्येमा पर्छ । १ सयभन्दा बढी जाति र १ हजारभन्दा बढी प्रजाति भएको यो फूलको खेती नेपालमा पनि व्यावसायिक र व्यक्तिगत दुवै तवरबाट हुँदै आएको छ । गुलाब फूलको खेती गर्ने केही तरिका यहाँ उल्लेख गरिएको छ ।

गुलाब फूलको खेती गर्न महत्वपूर्ण काम भनेको पहिलो चरणमा उत्पादन स्थलको छनोट गर्नु हो । यसका लागि मध्यम दोमट किसिमको माटो उपयुक्त हुन्छ । यसमा प्रांगारिक पदार्थको मात्रा प्रशस्त भएको एवं पानी नजम्ने किसिमको माटो भएको हुनुपर्दछ । यद्यपि माटोबाहेक रक उल वा कोकोपिटमा पनि गुलाबको खेती गर्न सकिन्छ । यो फूल प्रशस्त मात्रामा घाम र प्रकाश लाग्ने मध्यम तापक्रम भएको १५ देखि २७ डिग्री सेन्टिग्रेडमा बढ्न सक्छ ।

नेपालमा रातो, पहेंलो, गुलाबी र सेतो रंगका गुलाब फूल बढी प्रचलनमा रहेको पाइन्छ । उपयुक्त जग्गाको छनोट गरिसकेपछि आवश्यकताअनुसारको ग्रीनहाउस निर्माण जरुरी पर्छ । व्यावसायिक रूपमा गुलाब कटफ्लावर उत्पादन गर्न ग्रीनहाउस आवश्यक पर्ने पुष्प उत्पादक व्यवसायी बताउँछन् । फूलविज्ञ डा. उमेड पुनका अनुसार ग्रीनहाउसभित्र बादल लागेको दिनमा २० देखि २१ डिग्री सेल्सियस र घाम लागेका बेला २४ देखि २८ डिग्री सेल्सियस तापक्रम राख्न सके उत्पादन राम्रो हुने गर्दछ । ग्रीनहाउसमा थोपा सिँचाइ प्रणाली, चिसो पार्ने पंखा, तातो प्रवाह हुने पाइप लाइन जडान गर्न सके अझ उत्पादन राम्रो हुने डा. पुन बताउँछन् ।

ग्रीनहाउस तयार भइसकेपछि ग्रीनहाउसभित्रका झारपात हटाई माटो खनेर त्यसमा गाईभैंसीको मल मिसाएर तयार भएको माटो स्वस्थ र सुक्खा राख्नुपर्दछ । तयार भएको ब्याडलाई मल्चिङ प्लास्टिकले ढाक्नुपर्दछ ।  नर्सरीबाट रोप्न तयार भएका बिरुवा ल्याइसकेपछि त्यसलाई ढुसी नाशक र किटनाशक विषादीले स्प्रे गर्नुपर्दछ । यसो गर्नाले बिरुवालाई रोगकिरा लाग्नबाट बचाउन सकिन्छ ।

ग्रीनहाउसमा बिरुवालाई २ लाइनमा मिलाएर रोप्नुपर्दछ । एक बोटदेखि अर्को बोटबीचको दूरी ३० सेन्टिमिटर र दुई लाइनबीचको दूरी २० सेमिको राख्नुपर्ने हुन्छ । यसो गर्दा प्रतिवर्गमिटर ६ वटा बिरुवा समेट्न सकिन्छ । हरेक बोट गुलाब रोप्ने ठाउँका लागि मल्चिङ गरिने प्लास्टिकमा प्वाल बनाउनुपर्छ । हरेक प्वालमा बिरुवा रोप्ने र थोपा सिँचाइबाट पानीको सुविधा दिनुपर्दछ ।

नेपालमा ग्रीनहाउसमा गुलाब रोप्ने सबैभन्दा उपयुक्त महिना भदौदेखि असोजसम्मलाई मानिने गरेको छ ।

बिरुवा रोप्नेबित्तिकै थोपा सिँचाइ प्रणालीबाट पानी राख्नुपर्दछ भने पानीको पीएच मान र बिजुलीको तापमान समय–समय जाँच गर्नुपर्दछ । पानीको पीएच मान ७ र ‘इलेक्ट्रिकल कन्डक्टिभिटी’ शून्य दशमलब २ वा शून्य दशमलव ७ डेसीसिमेन्स प्रतिमिटर हुनुपर्दछ ।

राम्रो उत्पादन लिन गुलाब खेती काँटछाँट गर्नु अर्को महत्वपूर्ण काम हो । व्यावसायिक गुलाब खेतीमा वर्षैभर विभिन्न अन्तरालमा काँटछाँट गरिन्छ । पहिलो काँटछाँट बिरुवामा कोपिला लाग्न थालेपछि अथवा बिरुवा रोपेको करिब ३ सातामा गरिन्छ । बिरुवाको माथिल्लो मुख्य हाँगाको १० सेन्टिमिटर टुप्पो हटाइन्छ भने  त्यसैगरी अन्य हाँगाको पनि टुप्पो हटाउनुपर्दछ ।

हुर्किएको नयाँ बोटमा करिब ६ देखि ८ वटा डाँठ र हाँगा राखिन्छ भने बूढो बोटमा करिब २÷४ वटा डाँठ राखिन्छ । बिरुवा रोपेको तेस्रो सातादेखि ८ सातासम्म बिरुवाका हाँगामा आउने केराउ आकारका फूल फुल्ने कोपिला लाग्छन् । तिनलाई हटाउनुपर्दछ । त्यसपछि हाँगालाई ९० डिग्रीभन्दा बढी निहु¥याउनुपर्छ । करिब १४ सातापछि कट फ्लावरको पहिलो टिपाइ लिन सकिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)