कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिन मंगलबारको तुलनामा ४२ रुपैयाँले बढेको छ भने शेयर मूल्य प्रतिकित्ता रु. १ हजार ७४३ कायम भएको छ । कम्पनीको नाफा गत आवको तुलनामा चालू आवमा ९६ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले गत आवको तेस्रो त्रैमासमा रु. २६ करोड ४२ लाख ४१ हजार नाफा कमाएकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. ५१ करोड ८१ लाख ५५ हजार पुगेको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफामा वृद्धि भएकाले र कम्पनीले रु. ३३ करोड ७८ लाख १६ हजार खराब कर्जा संकलन गर्न कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्ने टेवा पुगेको हो ।
चालू आवको तेस्रो त्रैमासमा खराब कर्जा संकलनमा वृद्धि भएसँगै कम्पनीको निष्क्रिय कर्जा घटेको छ । निष्क्रिय कर्जा गत आवको तेस्रो त्रैमासमा २ दशमलव ५८ प्रतिशत रहेकामा चालू आवको सोही अवधिमा घटेर शून्य दशमलव ५३ मा झरेको हो ।
चुक्ता पुँजी रु. १ अर्ब १५ करोड ६२ लाख रहेको कम्पनीले रु. १ अर्ब १३ करोड ५५ लाख जगेडामा सञ्चित गरेको हो । प्रतिशेयर आम्दानी रु. ५९ दशमलव ९५, मूल्य आम्दानी अनुपात ३० दशमलव ८९ गुणा, तरलता अनुपात ६ दशमलव १७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रु. १९८ दशमलव २१ रहेको छ ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी र पुच्छर भएको सेतो शरीरको मैनबत्ती बनेको छ । हेर्दा इन्भर्टेड ह्याम्मरजस्तो देखिने यो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बढेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४७ दशमलव ३७ बिन्दुमा छ ।
यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १३ दशमलव ९९ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाको बीचमा छ ।
बुधवारको शेयर मूल्य रु. १ हजार ७४३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार ६८३ मा टेवा पाउने र महँगिए रु. १ हजार ८०४ मा प्रतिरोध पाउने देखिन्छ ।