ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नियो–क्लासिकल घर निर्माणको योजना बनाउँदै हुनुहुन्छ ?

यस्ता हुन सक्छन् उपाय

२०७८ असार, ४  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । कुनै समय काठका घरबाट पत्थरका घर र पत्थरका घरबाट आधुनिक पक्की घर बनाउने होडबाजी नै चलेको थियो । त्यही होडबाजीअनुरूप पुराना डिजाइन क्रमशः नासिँदै गए र नयाँ डिजाइनका घरले अधिपत्य जनाए ।

तर, पछिल्लो समय भने घर निर्माण गर्दा नयाँ प्रयोगका रूपमा पुरानो डिजाइनलाई त्यत्तिकै महत्व दिइएको पाइन्छ । यसरी गरिने पुरानो डिजाइनलाई नियोक्लासिकल डिजाइन भनिन्छ । विशेषगरी राणा र शाहकालीन दरबार यस डिजाइनअन्तर्गत पर्छन् । १८ औं र १९ औं शताब्दीमा युरोपमा यस्तो डिजाइनका केही दरबार बनेकामा चाँडै यसले विश्वभर आफ्नो प्रभुत्व जमाएको थियो ।

राणा र शाहकालमा बनेका दरबार यही डिजाइन पछ्याएर बनाइएको हो । अहिलेको सिंहदरबार, नारायणहिटी संग्रहालयलगायत दरबार र अन्नपूर्ण, याक एन्ड यती, सोल्टीलगायतका होटलको डिजाइन पनि यसैअन्तर्गत निर्माण गरिएको छ । यद्यपि, निजी आवासका लागि यस्तो डिजाइनको प्रयोग हुन थालेको भने खासै लामो समय भएको छैन ।

तपाईं पनि यस्ता डिजाइनको घर निर्माण गर्दै हुनुहुन्छ भने केही विषयमा जानकार हुनैपर्छ । सर्वप्रथम त सामान्य डिजाइनभन्दा यसको डिजाइन महँगो पर्छ । यसैगरी यस्तो घर सानो जग्गामा बनाएर हुँदैन । घर बनाउन कम्तीमा १० आना जमिन आवश्यक पर्दछ । घर बनाइसकेपछि अगाडि बगैंचा बनाउन पनि त्यत्तिकै आवश्यक हुन्छ । बगैंचाले घरको सौन्दर्य थप्छ । त्यस कारण यस्ता संरचनाका लागि फराकिलो ठाउँ अनिवार्य हुन्छ ।

अर्को ध्यान दिनुपर्ने काठमाडौंलगायतका सहरमा यस्तो घर बनाउन मुस्किल हुन्छ । घर बनिसकेपछि पनि धुलो, धुवाँ र वरिपरिको वातावरणले त्यसलाई प्रभाव पार्छ ।  त्यसैले यस्ता सहरमा घर बनाउँदा फराकिलो स्थानको छनोट गर्न आवश्यक छ ।

नियो–क्लासिकल डिजाइन अलिकति भिन्न हुन्छ र यो सदाबहार पनि हो । यो हेर्दा आकर्षक देखिन्छ भने विलासिताको अनुभूति दिन्छ । यस्तो घर निर्माण गर्दा जग्गाको छनोटपछि सबैभन्दा बढी ध्यान दिनुपर्ने डिजाइनमै हो । त्यस कारण तपाईंले निर्माण गर्न चाहेअनुसार डिजाइन इन्जिनियरलाई बताउनुहोस् । डिजाइनको काम सकिएपछि ठेकेदार छनोटमा पनि उत्तिकै ध्यान दिनु आवश्यक छ । भिन्टेज डिजाइनको राम्रो ज्ञान भएको व्यक्तिलाई ठेकेदारका रूपमा छनोट गर्न आवश्यक हुन्छ ।

डिजाइनको काम सकिएपछि तपाईंले निर्माणका क्रममा खासै बढी समय दिनुपर्दैन । तर, डिजाइनकर्तासँग छलफल गरेर तिनको सुझावअनुसार घरलाई आवश्यक सामग्री जुटाउने काम गर्नुहोस् । भर्‍याङ, फ्रेमवर्क, आर्किटेक्चर र स्ट्रक्चर डिजाइन, पाइप फिटिङ गर्दा आधुनिक सामानलाई पुरानो डिजाइनअनुरूप बुट्टा भर्न लगाउनुहोस् । यसैगरी बत्ती, कार्पेट, फर्निचर, पर्दा, टेबल, कुर्सी, दराज, पर्दा, ऐनालगायत सामग्री छान्दा पुराना दिन सम्झाउने गरी छनोट गरेर तिनलाई व्यवस्थापन गर्दा कहाँ राख्दा बढी आकर्षक देखिन्छ भन्ने बुझाइ फराकिलो हुन सक्छ । यस्ता सामग्री सकभर अधिकांश काठका छनोट गर्नुहोस् र तिनमा बुट्टा, डिजाइन पनि त्यसैअनुरूप गर्नुहोस् ।

यसपछि तपाईंको घर तयार हुन्छ । घरमा रंग लगाउँदा सकभर सेतो नै छनोट गर्दा उत्तम हुन्छ । ध्यान दिनुहोस्, घरको सजावट गर्दा अनावश्यक र नयाँ आधुनिक देखिने सामग्री भने नथुपार्नुहोस् ।

निर्माण भइसकेपछि अत्यावश्यक कुरा भनेको बेलाबेला गर्नुपर्ने मर्मतसम्भार नै हो । मर्मतसम्भार गरिएन भने घरको डिजाइन बिग्रिएर नियो–क्लासिकल सौन्दर्य दिन छाड्छ र पूरा लगानी जोखिममा पर्न सक्छ ।

(इन्जिनियर निर्पेश तन्डुकारसँगको कुराकानीमा आधारित)

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)