ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जरबेरा फूलमा लाग्ने रोगकिरा नियन्त्रणका उपाय

२०७८ असार, ११  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । जरबेरा फूलमा लाग्ने मुख्य किरा सेतो झिंगा, लाही, सुलसुले आदि हुन भने जरा कुहिने, गाँठ कुहिने र बोट्राइटिस जरबेरा खेतीमा लाग्ने मुख्य रोग हुन् । नेपाली बजारमा उपलब्ध विषादी र विज्ञहरूको सुझावका आधारमा जरबेरा फूलमा लाग्ने रोगकिरा नियन्त्रण गर्न सकिने यस क्षेत्रका विज्ञहरूको धारणा छ । जरबेरा फूल खेतीलाई जोगाउन समयमै ध्यान दिन सकिए यसमा लाग्ने विभिन्न रोगकिराको प्रकोप हटाउन सकिने वरिष्ठ बागवानी विकास अधिकृत अनिलकुमार आचार्य बताउँछन् ।

लाही
यसले विशेषगरी बिरुवाको कोपिला, नयाँ पालुवा र पातमा आक्रमण गर्दछ । ती स्थानमा यो किराले एक किसिमको चोप उत्पादन गर्दछ । यसले गर्दा ढुसीका जीवाणुको समेत प्रकोप बढ्न जान्छ । यसको व्यवस्थापन किटनाशक विषादीबाट सहजै गर्न सकिन्छ ।

सेतो झिंगा
प्रायजसो सुक्खा र तातो मौसममा यो किराले पातको रस चुसेर नोक्सान पुर्‍याउँछ । पातको पछाडिको भागमा बढी आक्रमण गर्ने यो किरालाई नियन्त्रण गर्न दैनिक किटनाशक विषादीजस्तै रोगर प्रतिलिटर २ एमएल अर्थात् प्राइड शून्य दशमलव ४ ग्राम प्रतिलिटरका दरले प्रयोग गर्न सकिन्छ ।

सुलसुले
सुलसुलेका कारण बिरुवाका पुराना वा बूढा पात घुम्रिने, नयाँ पातमा पुष्पदल झरेका जस्ता लक्षण देखिन्छन् । यसलाई व्यवस्थापन गर्न सल्फर वा गन्धक १ दशमलव ५ ग्राम प्रतिलिटर पानीमा वा आमाइट १ एमएल प्रतिलिटर पानीमा मिसाई प्रयोग गर्न सकिन्छ ।

थ्रिप्स
यो किराको समस्याले फूलका गुच्छामा सेतो दाग वा धर्सा पारिदिने, फूललाई सेतो बनाइदिने, पातमा खैरो थोप्ला पर्नेजस्ता लक्षण देखा पर्छन् । यसलाई नियन्त्रण गर्न प्राइड शून्य दशमलव ४ लिटर पानीमा वा रोगर २ एमएल प्रतिलिटरका दरले पानीमा मिसाई प्रयोग गर्न सकिन्छ ।

लिफ माइनर
यो किराको लार्भा माटोमा बसी पातमा सेता सुरुङ पारिदिन्छ, जसले गर्दा पातमा सेता दाग देखिन्छन । १ एमएल क्लोरोफाइरिस प्रतिलिटरका दरले पानीमा मिश्रण बनाएर माटोमा छर्ने र सम्पर्क किटनाशक विषादी बोटमा स्प्रे गर्दा यो समस्या व्यवस्थापन गर्न सकिन्छ ।

क्राउन रुट/गाँछ कुहिने
जरबेराको बिरुवामा अत्यधिक मात्रामा यो रोग देखा पर्दछ । जरबेराको गाँछ माटोको मुनिसम्म गाड्ने गर्नाले यस्तो समस्या देखिन जान्छ । त्यसैले बिरुवाको गाँछ माटोभन्दा माथि नै देखिने गरी रोप्नुपर्दछ र सिँचाइको समयमा पनि यस भागलाई सुक्खा नै राख्नुपर्दछ । यसलाई व्यवस्थापन गर्न ट्राइकोडमा ३ देखि ५ ग्राम प्रतिलिटर पानीमा मिसाएर प्रतिबोट ३० देखि ४० एमएल पर्ने गरी ड्रेन्चिङ गर्नुपर्दछ ।

फ्युजेरियम
जरबेराको पातको डाँठ काटेर हेर्दा भित्री भाग कालो देखियो भने यो रोग लागेको थाहा पाउनुपर्दछ । यो रोगलाई व्यवस्थापन गर्न ट्राइकोडमा ३ देखि ५ ग्राम प्रतिलिटर पानीमा मिसाई प्रतिबोट ३० देखि ४० एमएल पर्ने गरी ड्रेन्चिङ गर्नुपर्दछ ।

जरा कुहिने
यो रोग ढुसीजन्य जीवाणुबाट लाग्छ । रोग लागेको जरालाई हातले च्यापेर तान्दा सजिलै जराको बोक्रा निक्लिन्छ । यो रोगलाई व्यवस्थापन गर्न बेभिस्टिन प्रतिग्राम २ लिटर पानीमा मिसाई प्रतिबोट ३० देखि ४० एमएल पर्ने गरी ड्रेन्चिङ गर्नुपर्दछ ।

बोट्राइटिस
विशेषगरी बिहानको समय २ घन्टासम्मका लागि हावाको सापेक्षिक आद्रता ९२ प्रतिशतभन्दा बढी भए यो रोग लाग्ने गर्दछ । खैरा दाग फूलका पुष्पदलमा देखिन्छन् भने फूलको मध्य भाग कुहिएको हुन्छ । बिरुवा वरपर नियमित रूपमा सरसफाइ गर्ने र विभिन्न विषादी प्रयोगले यसको असर कम गर्न सकिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)